विगत १० वर्षदेखि खोरमा बस्न बाध्य छन् १८ वर्षीय रुद्र


हेर्दा कलिलो देखिने पशु झैं अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् ।

धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापात धाउने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउँछन् ।

जन्मजात अपाङ्गता भएका रुद्र नत बोल्न सक्छन्, नत हिँड्न नै सक्छन्, उनी बाँसको चौघेरामा जीवन बिताउन बाध्य छन् । आमा गंगामाया र बाबु मानबहादुर राईका दुई मध्येका कान्छा सन्तान रुद्र चार पाउले बामे सर्न भने सक्छन् । दिनभर दिसापिसाब ओछ्यानमा नै गर्ने रुद्र अपाङ्गतासँगै सुस्तसमेत रहेको आमा गंगामाया बताउँछिन् ।

आर्थिक स्थिति अति कमजोर रहेको राई परिवारमा जेठी सन्तान २४ वर्षीया रामदेवी राई वैदेशिक रोजगारीमा गएर आमाबाबु र भाइको मुहार फेर्न भन्दै साहुसँग ऋण खोजेर एक महिनाअगाडि काठमाडौँतिर गएकी बाबु मानबहादुरले बताए। सम्पत्तिका नाममा रहेको एक घरसमेत भूकम्पले क्षति गरेको र तीन रोपनी पाखो बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि छोरा रुद्रलाई खोरमा थुनेर अर्काको घरदैलोमा काम खोज्न बिहान सबेरै घरबाट बाहिरिन बाध्यता रहेको आमा गंगामाया बताउँछिन्।

सरकारले छोरा रुद्रबहादुरको अपाङ्गता भत्ताबापत दिने मासिक दुई हजारले नूनतेल जुटाउने गरेका मानबहादुर छाकटार्न छोरालाई खोरमा थुनेर सधैं दुबैजना बनिबुतोमा लाग्नु बाध्यता रहेको बताउँछन् । ‘भगवान्ले सन्तानमार्फत ठगेपछि गरिबसमेत बन्नु परेको छ,’ आमा गंगामायाले दुखेसो पोखिन् । घरधन्दा र किसानी मेलापातबाहेक कुनै सीप नभएका दम्पती दैनिक काम पाउन नसके भोकभोकै बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।

घरमा हेरचाह गर्ने मानिसको अभावमा खोरमा थुनिएका रुद्रबहादुर हाउभाउ र इसारा मात्र गर्ने गरेपनि केही वर्षअघि घरमा पालिएको सुँगुरले दायाँ कान खाइदिएपछि सुस्त भएका बाबु मानबहादुरले बताए।

आफ्नो सन्तान दिनभर भोकैतिर्खै छोडेर काम गर्नुपर्दा दुःख लाग्ने र भत्ताले पनि केही मिठो खानेकुरासमेत दिन नसकेको गुनासो मानबहादुरले गरे। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.