साढे ३ करोड बढीको लगानीमा गोरखा जिल्ला प्रशासन कार्यालयको भवन निर्माण


भूकम्पले जीर्ण भवन भत्केपछि बहाल तिरेर निजी घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय दुई वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

तीन करोड ६० लाख ९८ हजार रुपैयाँको लगानीमा थानी निर्माण सेवाले सुविधा सम्पन्न तीनतले भवन निर्माण गरेपछि प्रशासन आफ्नै भवनमा सरेको हो ।

आजदेखि पूर्णरुपमा नयाँ भवनबाट सेवाग्राहीका कामकाज गरिने सहायक प्रमुख जिल्ला अधिकारी, केशवराज शर्माले जानकारी दिए । छ महिना नाकाबन्दीका कारणले निर्माण सामग्रीको अभाव झेल्नुपर्दा भवन निर्माणमा केही ढिलाइ भएको निर्माण व्यवसायी भोला मरहट्टाले बताए।

भूकम्पपछि कारागार छेउमा रहेको निजी घरमा प्रशासन कार्यालय सञ्चालन गर्नुपरेको थियो, जसले गर्दा बैठक कक्षलगायत नहुँदा सेवाग्राहीले समस्या झेलेका थिए । नयाँ भवनमा ठूला बैठक कक्षसहितका सुविधासम्पन्न कोठाहरु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रशासन कार्यालय भवन नै अपांगमैत्री नभएको भन्दै विरोध पनि भएको छ । साथै राष्ट्रिय अनुसन्धान जिल्लास्थित कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कृषि विकास कार्यालय, घरेलु विकास समितिको कार्यालय, प्रजिअ आवास कक्षलगायत भवन पनि निर्माणको तयारीमा छन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.