रानीबारी काण्डको त्रासदीलाई पछि छोडेर अघि बढेकी आज्ञाश्री

फाइल स्टोरीः


उनले स्कुलको ड्रेससमेत फेरेकी थिइनन्। घरमै भएको मामाको अफिसको ढोकाबाट छिरिन्- आज्ञाश्री।

मैले उनको अनुहारमा दाग खोजेँ। रानीबारीमा आमाबाबुमाथि धारिलो हतियारले निर्मम प्रहार गर्नेहरूले उनलाई पनि घाइते बनाएका थिए। तर झट्ट हेर्दा दाग नदेखिँदो रहेछ।

उनका दुई मामा १२ वर्षअघिको रानीबारी हत्याकाण्डबारे हामीलाई सुनाउँदै थिए, उनी टुसुक्क एउटा कुर्सीमा बसिन्।

त्यो विभत्स घटनापछिको घट्नास्थल आफूले भर्खरै देखेर आएजसरी उनको सानो मामाले सुनाइरहेका छन्। तर घटनाको बेलिविस्तार सुनिरहँदा पनि उनको अनुहारमा कुनै प्रतिक्रिया छैन।

आफ्ना आमाबाबुलाई लैजाने त्यो अँध्यारो बिहान उनलाई कहिल्यै बिर्सिन मन लाग्दैन। बिर्सिन पनि सक्दिनन्। तर, ‘लाइफमा मुभअन’ गर्नुपर्छ।

* * *

बैठक कोठामा उनका पापा र मामूको फोटो छ। फोटोमा बाहिरबाट फूलको माला चढाइएको छ।

त्यो घटनाको केही समयपछि बाबुको मुख हेर्ने दिन थियो। उनले आफ्नो पापालाई ‘विस’ गर्दै आफ्नै हातले कार्ड बनाएकी थिइन्! त्यो कार्ड पनि फोटोमा टाँसेर राखेका छन्, उनीहरूले।

तर, अहँ उनले भने त्यो कार्डबारे केही भनिनन्। बरु मामूलाई सम्झिइन्-

आज्ञाश्री आफ्नी मामूसँगै हुन्थिन्। स्कुल पुर्‍याउने र लिन जाने पनि मामू नै हुन्थिन्।

आज्ञा बदमासी गरिरहने चकचके थिइन्। मामू गाली गरिरहन्थिन्।  आमाको त गाली र कुटाइ पनि प्यारै हुन्छ। उनले भनिन्, ‘गाली गर्नुहुन्थ्यो नि कहिलेकाहीँ त कुटाइ पनि खानुपर्थ्यो!’

उनी खिसिक्क हाँसिन्।

* * *

मामु र उनी घरमा थिए। कोही आएर ढोका ढक्ढकायो। ढोकाबाटै उसले मामूसँग केही कुरा गर्‍यो, गीता आन्टीको सायद।

‘उसले के कुरा गरेको थियो मैले बिर्सेँ, गीता आन्टीलाई सोधेको भने याद छ। दुईजना आएका थिए एक जनाले निलो र अर्कोले रातो कपडा लगाएका थिए,’ घटना हुनु केहीदिनको कुरा उनको दिमागमा ताजै छ।

त्यो दिन बिहानै, उनी झुलभित्र थिइन्। उठ्दा उनको पापालाई कसैले हानिरहेको थियो। झुल पन्छाउँदै आज्ञाबाहिर निस्किइन।

पापालाई हानिरहेका मान्छे तिनै रातो र निलो लुगा लगाएका मान्छेहरू थिए। ‘पहिले मामूसँग कुरा गरेका मान्छे भएर मैले चिनिहालेँ। म डराएर भाग्दै थिएँ, उनीहरूले मामूलाई टाउकोमा समातेका थिए,’ घटनाको विवरण कैयौँपटक कैँयौ मान्छेलाई सुनाउँदासुनाउँदै उनको बाल्यकाल बित्यो।

पछिल्लोपटक हामीसँग सुनाउँदैथिइन्, ‘म दौडिदै थिएँ, एकजनाले मलाई हान्यो। ट्वाइलेटतिर भागिरहेकी थिएँ, बाहिरबाट उनीहरूले नै चुक्कुल लगाइदिए।’

घाउ दुखिरहेको थियो, तर निद्रा पनि लागिरहेकै थियो। उनले कमोडमै टाउको अड्याइन्। फेरि ब्युँझिँदा माथिल्लो तलाबाट गीता आन्टीले ‘बहिनी’ भन्दै चिच्याएकी थिइन्। उनलाई फेरि निद्रा लाग्यो।

उनी फेरि ब्युँझिँदा अस्पतालमा थिइन्। उनलाई प्रहरीले अस्पताल लगेको थियो। ठूलो मामा उनलाई खोज्दै कान्ति अस्पताल पुगे।

‘मेरो मामुपापा त मरिसक्यो नि,’ मामालाई देखेपछि उनको पहिलो बोली यही थियो। मामाको घाँटीमा सास अड्किएझैँ भयो। उनले केही सोध्ने सकेनन्।

तर, त्यसपछि पनि आज्ञालाई त्यो घटना सम्झने  र सुनाउने आँट आउँछ। निको भएपछि कान्ति अस्पतालबाट आफ्नो घर होइन, मामाघर आइन्।

मामाघरमै पुलिसहरू आएर उनलाई सबै कुरा सोध्न थाले। बच्चामा उनलाई बोलिरहनुपर्थ्यो। त्यसैले पुलिसले सोध्दा झर्को लाग्दैनथ्यो।

तर, उनले कथा बनाउन थालिन्। ‘म पुलिसहरू आएर सोधेपिच्छे नयाँ कथा बनाउन थालेँ,’ उनले भनिन्।

कहिले भागेर आफैँ ट्वाइलेटमा लुकेको भनिदिन्थिन्। कहिले मरेको नक्कल गरेर कार्पेटमा सुतेँ अनि उनीहरू भागे भन्दिन्थिन्।

‘मलाई एकदम हिरो बन्नुपर्थ्यो पुलिसको अगाडि। अहिले सम्झेर पछुतो हुन्छ,मैले त्यसो भन्नुहुँदैनथ्यो,’ उनी चुकचुकाइन्।

उनको स्कुलमा पनि सबै साथीलाई थाहा थियो, उनको बारेमा। आफ्नो कथा उनी सबैलाई सुनाउँथिन्। पत्रिकामा पनि रानीबारी हत्याकाण्डबारे आइरहन्थ्यो। उनी अभ्यस्त भइन्।

उनी भन्छिन्- मलाई देखिरहेको जानिरहेको सबै कुरा सत्य हो भन्ने लाग्दैनथ्यो।

कलिलो मनले आफ्ना बाबुआमासँग एकदिन छुटिनुपर्छ भन्ने कसरी सोच्च सक्थ्यो र? सिनेमामा समेत बच्चालाई देखाउन नहुने दृश्य उनले साक्षात देखेकी थिइन्।

‘तर, मलाई यो सबै कुरा सपना हो भन्नेचाहिँ लाग्थ्यो। कुनैबेला ब्युँझिन्छुजस्तो लाग्थ्यो।’ यस्तो उनलाई धेरै समयसम्म भएछ।

उनी रुन्नथिन रे। रुन मन लाग्दैनथ्यो तर उनलाई कुनैदिन आफू खाटमा बिउँझिन्छु जस्तो लाग्थ्यो। अपत्यारिलो सत्य बाँचिरहेकी थिइन् उनी।

मामू नभएपछि माँले उनको कपाल कोर्ने र लुगा लगाइदिएर स्कुल पठाउन थालिन्। मामाघरमा बहिनीहरू थिए, उनलाई यहाँ रमाइलो लाग्थ्यो। खेल्न र भुल्न पाउँथिन्।

समय बितेर गएपनि त्यो घटना बिर्सिसक्नु थिएन। घरमा सबैलाई सबै कुरा याद थियो। कुरा पनि भइरहन्थ्यो।

बिस्तारै पत्रपत्रिकामा त्यो घटनाको समाचार आउन छोड्यो। घरमा बच्चाहरूसँग बसेर कुरा पनि हुँदैनथ्यो। उनी सात कक्षामा पढ्दा एउटा पत्रिकाले उनको फोटो र फिचर छाप्यो। उनले ठूली भएपछि घटना फेरि सम्झिइन्।

फेरि सबै चुपचाप लागे। प्रहरीहरू पनि घरमा आउन छोडे। सात कक्षादेखि अहिलेसम्म उनलाई लागिरहेको थियो सबैले बिर्सिए त्यो घटना।

तर उनले त कसरी बिर्सिन्छिन् र?

मनमनै योजना बनाएकी थिइन्- एकदिन म आफैँ यो कुरा उठाउने छु।

आफ्नो योजनामा उनी ढुक्क थिइन्। ‘मेरा मामूपापालाई मार्नेहरूले त सजाय पाउनैपर्छ, म जस्टिसको लागि लड्ने तयारी गरिरहेकी थिएँ,’ उनले भनिन्।

केही हप्ताअघि फेरि पुलिस उनको घरमा आयो। ‘ओहो! बिर्सेका रहेनछन्,’ उनलाई लाग्यो, ‘मामाहरूले त झन् कति काम गरिरहनुभएको रहेछ उनीहरूलाई खोज्न। उहाँहरूले पनि बिर्सिनुभएको रहेनछ।’

सानैमा पनि प्रहरी आउँथे, अनेक प्रश्न गर्थे। प्रहरीहरूले उनीबाट अपराधीको अनुहार खोज्थे तर उनी भन्न सक्दिनथिन्। अहिले पनि त्यस्तै भयो, यही हो भनेर किटान नै गर्न सक्दिनन्। भन्छिन्, ‘अहिले त उनीहरू कति ठूलो भइसकेको रैछ, कपाल पालेको।’

आजसम्म पुलिसले गीता खड्कालाई शंका गरिरहेको थियो। उनले पनि गरिन्। त्यसैले गीता आन्टी उनलाई कहिलै मन परेन।

आज्ञाश्री ट्वइलेटमा बेहोसीबाट थोरै ब्युँझिएकी थिइन्। गीता ‘बहिनी’ भनेर चिच्याउँदै थिइन्।

गीताको आवाज सुनेको अन्तिमपटक त्यही थियो। तर, यति वर्षसम्म आज्ञाको मनले सधैँ गीतालाई भेट्न चाहन्थ्यो। गीता आन्टीबाट उनलाई उत्तर चाहिएको थियो- आफ्ना बाबुआमा किन मारिए?

‘उहाँ मलाई मन पर्दैन। तर, म उहाँलाई भेटेर सबैकुरा सोध्न चाहन्छु, उहाँलाई त थाहा छ होला,’ आज्ञाको इच्छा अझै मरेको छैन।

* * *

‘ग्रीन बेल्ट!’ उनले करातेको खेलको आफ्नो स्टेज बताइन्।

उनलाई कराते सिक्न मन थियो। उनी मनको कुरा कसैलाई भनिहाल्दिनन्।

एकदिन मामाले सबै केटाकेटीलाई तयार हुन भने। कराते सिकाउने मान्छे घर आउँदै रहेछन्। त्यसपछि उनीहरू दिनदिनै कराते सिक्छन्। उनी सबैभन्दा अगाडि छन्।

‘सेल्फ डिफेन्सका’लागि भनेर मामाले कराते सिकाउन लगाउनु भएको हो। मलाई त पहिलै मन थियो,’ उनले भनिन्।

माँ (हजुरआमा) सधैँ भन्थिन्- तँलाई तेरो पापाले कम्युटर इन्जिनियर बनाउन चाहनुहुन्थ्यो। तैले कम्युटर साइन्स पढ्नुपर्छ।

तर उनलाई भने पढ्न असाध्यै अल्छी लाग्थ्यो। शिक्षकहरू पनि वास्ता गर्दैनथे। बरु राम्रो नपढेको भनेर कुट्थे। स्कुले दिन सम्झँदै उनी भन्छिन्- म राम्रो विद्यार्थी थिइनँ। त्यसैले पनिस (सजाय)गर्थे। तर, मलाई रुन मन पर्दैनथ्यो।

उनकै भनाइ पत्याउने हो भने उनी यतिसम्म बद्‌मास थिइन् कि उनलाई सजाय दिएकोसमेत रमाइलो लाग्थ्यो।

तीन कक्षा पुगेपछि भने उनी सेन्ट मेरिज भर्ना भइन्। त्यसपछि ‘बद्‌मास’ आज्ञा नबोल्ने भइन्। स्कुलमा यो बढी बोल्छे भन्ने कम्प्लेन आउन थालेपछि उनलाई बोल्न मन लाग्न छोड्यो। उनलाई डर पनि लाग्थ्यो।

‘म बोल्दा गल्ती हुन्छ कि भन्ने डर लाग्थ्यो। पछि त झन् बोल्न मन लाग्नै छोड्यो,’ उनी गम्भीर भइन्।

ठूली हुँदै गएपछि उनलाई कम्युटर इन्जिनियर बन्न मन लागेन। हजुरआमाले भन्ने गरेको बाबुको इच्छाले अब उनलाई काम गर्ने छैन।

‘पहिले मलाई पापाले चाहेको बन्नुपर्छजस्तो लाग्थ्यो, माँले भन्ने गरेर होला। अब त म आफैँ सोच्ने भइसकेँ,’ उनको आवाजमा आत्मविश्वास थियो।

ए लेभलमा उनी सोसल साइन्स पढ्छिन्। उनलाई मनपर्ने विषय भने साइकोलोजी रहेछ। उनलाई अब काउन्सिलर बन्ने मन छ।

‘मान्छेलाई हेल्प गर्न पाइन्छ नि,’ उनले आफ्ना लागि अर्को पनि सपना देखेकी छन्, ‘म फिल्म बनाउँछु। मेसेज दिने खालका फिल्महरू मन पर्छ।’

* * *

सानोमा आज्ञाश्री सधैँ मामूकै वरिपरि हुन्थिन्। मामू विदेशीलाई नेपाली पढाउन जाँदा पनि उनीसँगै जान्थिन्। चकचके र बद्‌मास आज्ञालाई मामूले गाली गरिरहन पर्थ्यो।

तर, जब उनी नाच्न थाल्थिन् मामु मुस्कुराउँथिन् र नाचिरहन भन्थिन्।

‘जति नै रिसाए पनि मामू मलाई नाच्न गाउन इन्करेज गर्नुहुन्थ्यो,’ त्यही हौसला उनले जिन्दगीभरलाई पुर्‍याउनेछिन्।

आफ्ना आमाबाबुलाई लैजाने त्यो अँध्यारो बिहान उनलाई कहिलै बिर्सिन मन लाग्दैन। भन्छिन्, ‘बिर्सिन मन लाग्दैन, बिर्सिन पनि सक्दिनँ। तर, लाइफमा मुभ अन गर्नुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.