समयमै पुल नबन्दा जोखिम बढ्यो

पानीमुनिको पु्लका कारण त्रासैत्रासमा यात्रा गर्न बाध्य


जब गुडिरहेको बसलाई खोलाले बगाउन थाल्यो, सुन्तली रसाइलीलाई बाँच्ने दिन सकिएछ जस्तो लाग्न थाल्यो। उनी भगवानलाई पुकार्न थालिन्। अन्य यात्रु रुवाबासी गर्न थाले। केहीबेर बगेको बस घोप्टियो र बग्न छाड्यो। रसाइलीसहितका यात्रुले झ्यालबाट बाहिर हेरे, ग्वारखोला उर्लिरहेकै थियो।

दाङको घोराही–तुलसीपुर सडकखण्डमा पर्ने ग्वारखोलमा गत आइतबार घटेको यो घटनाले रसाईलीलाई अहिले पनि झस्काइरहन्छ। बाढीका कारण सवारी रोकेर खोलाका दुवैतर्फको किनारामा उभिएका स्थानीयले उद्धार गरेकाले बाँचेकी उनी अब यो वर्षाभर सो सडकखण्डमा यात्रा नगर्ने बताउँछिन्। भन्छिन्, “यो वर्षामा मलाई कसैले एकलाख रुँपैया दिन्छु, भनेपनि म घोराही जानेवाला छैन ।”

दाङका दुई उपमहानगरपालिका हुँदै लमही नगरसम्मको यात्रा गर्दा यात्रुहरुले दैनिक त्रास बेहोर्नुपर्छ। त्यसकारण उनीहरु पानी पर्ने नपर्ने विचार गरेरमात्रै यात्रा गर्न बाध्य छन्। कारण, यहाँ तुलसीपुरदेखि लमहीका बीचमा यस्ता नौंवटा खहरे खोलाहरुमा पानी मुनी पुल निर्माण गरिएको छ। र यी खोलामा पानी परेपछि जुनसुकै जतिबेला पनि ठूलो बाढी आउन सक्छ। त्यसैले हरेक वर्षामा यहाँको यात्रुले त्रासमा यात्रा गर्ने गरेका छन्।

पानी पर्ने आशंका भएका बेला घोराही र लमहीबीचमा दैनिक आवतजावत गर्ने कर्मचारी काममा जाँदैनन्। तुलसीपुरवाट सधैँ घोराही आवतजावत गर्ने बैंककी कर्मचारी संगीता बस्नेतले खोलामा आउने बाढी कै कारणले आफू नौं दिन अफिस जान नसकेको बताइन ।
तुलसीपुरवाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा छोरालाई उपचार गर्न जादैँ गर्दा गुर्जेखोलाको बाढीका कारण तीन घण्टा सडकमै बस्नु परेको पीडा छ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की सृजना केसीसँग। “एकातिर बिरामी छोराको छटपटी छ, अर्काेतर्फ खोलामा बाढी उर्लेको छ”, उनले भने, “एम्बुलेन्स त्यो तरेर जान सक्ने अवस्थै थिएन, छोराको छटपटी हेर्दै तीन घण्टा रोएरै बस्नु पर्‍यो।’

निर्माण व्यवसायीको लापरबाहीले पुल निर्माणमा ढिलाई

तुलसीपुर–घोराही–लमही सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन छन्। जसमध्ये तुलसीपुर–घोराही खण्डमा तीनवटा र घोराही–लमही खण्डमा दुईवटा पर्छन्। तर, पुल निर्माणमा भएको ढिलाईका कारणले यात्रा निकै जोखिमपूर्ण बन्न पुगेको छ।

‘पानी मुनिका पुल’  विस्थापित गर्नका लागि तुलसीपुर र घोराहीका बीचमा क्रमशः सक्राम खोला, पत्रे खोला र गुर्जे खोलामा पुल निर्माण भइरहेको छ। त्यस्तै घोराही र लमहीका बीचमा कटुवा खोला र बबईमा पनि पुल निर्माण कार्य जारी छ। सम्झौता अनुसार पत्रे र कटुवा खोलाको पुल २०७२ साल भित्रै निर्माण पुरा हुनुपर्ने थियो ।

यी दुईवटा पुल निर्माणको जिम्मा लिएको शंकर माली निर्माण सेवाले भूकम्प र नाकाबन्दीलाई कारण देखाउँदै एक वर्ष समय थप गर्न माग गरेको थियो। माग बमोजिम सडक विभागले उक्त म्याद थपिदिएको थियो। तर पनि शंकर माली निर्माण सेवाले पत्रे र कटुवा खोलाको पुल निर्माणको काम आधा पनि पुरा गरेको छैन।

पक्की पुल निर्माणकै लागि भनेर यसअघि निर्मित पक्की कचवे भत्ताभुङ्ग बनाइएको छ। तर, उपयुक्त वैकल्पिक मार्ग नहुँदा वर्षातको समयमा यहाँ दिनहुँजसो सवारी साधन बाढीले बगाउने गरेको छ।

जिल्लामा क्रियाशील राजनीतिक दल, सञ्चारकर्मी, अधिकारकर्मीहरुले पटक÷पटक सडक विभाग र स्थानीय प्रशासनलाई समयमै पुल निर्माण गरिसक्न ध्यानाकर्षण गराउँदै आएका छन्। निर्माण व्यवसायीहरुलाई पटकपटक आग्रह गर्दै आएका छन्। तर, स्थानीयको आग्रहलाई खासै वास्ता गरिएको छैन।

एक डेढ वर्ष पहिले नै सकिनु पर्ने सडक विस्तारको काम हालसम्म उस्तै छ। अञ्चल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा पछिल्लो समय जनसख्या बृद्धिसँगै सवारी चाप पनि बढ्दै जान थालेको छ। यसलाई मध्यनजर गर्दै सडक सञ्जालको स्तरोन्नोति गरी चार लेनको बनाउने उद्देश्यले तीन वर्षअघि निर्माण सुरु गरिएको थियो। तर, सडक विस्तार भने अलपत्र अवस्थामा छ।

११ करोड ६४ लाख १३ हजार लागतमा कान्छाराम शंकर माली जेभी निर्माण कम्पनीले २०७१ साल भदौ ११ गते निर्माण सुरु गरेको घोराहीको कटुवा खोलादेखी तुलसीपुर चोकसम्मको १४ सय मिटर चार लेन सडक पछिल्लो समय पूर्णरुपमा रोकिएको छ।

त्यस्तै, तुलसीपुरमा निर्माणाधिन चार लेन सडकको अवस्था र बजारको समस्या पनि उस्तै छ। पाँच करोड ४७ हजार लागतको तुलसीपुरको वीरेन्द्र चोकदेखि हात्तीखौवासम्मको सडक अझै अलपत्र छ। गौरी निर्माण सेवाले करिब आठ सय मिटरको चार लेन सडक निर्माण पूरा नगरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.