म्यादीबाट कमाएको पैसा दान दिएर भारत पढ्न उडे पुजन

पूर्व आइजिपी खड्गजीत बरालका नाति पुजन बराल (बायाँबाट तेस्रो) ड्युटीका क्रम। तस्बिर स्रोत: पुजन


पुजन बराल सोमबार हतारमा थिए। अर्कोदिन बिहानै नयाँदिल्ली उड्न लागेका उनलाई घरमा सामान प्याकअप गर्नु थियो। नोटरीमा गएर केही कागजात प्रमाणित गर्नु थियो।

यीबाहेक महत्वपूर्ण काम पनि थियो, प्रहरी प्रधान कार्यालय पुग्नुपर्ने। त्यो काम उनले नगरे पनि केही फरक पर्दैनथ्यो, तर मनमा सन्तुष्टि हुन्थेन रे।

त्यही मनको सन्तुष्टिका लागि उनी सोमबार बिहानै प्रहरी प्रधान कार्यालय नक्साल पुगे। र, आफूले कमाएको ५० हजार रुपैयाँ प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गरे। उनले धेरै पैसा कमाएर गुठीलाई सहयोग गरेका होइनन्, बरु दुई महिना म्यादी प्रहरी बनेर पाएको जीवनको पहिलो कमाइ प्रहरीभित्रकै संस्थालाई सहयोग गरेका हुन्।

‘मैले दिएको पैसा थोरै हो तर मेरोे पहिलो कमाइ भएकाले यसको ठूलो अर्थ छ,’ पुजनले सोमबार दिउँसो सेतोपाटीसँग भने।

पुजनका हजुरबुवा खड्गजीत बराल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन्। उनका बुवाआमा दुवै डाक्टर छन्।

काठमाडौंका बासिन्दा पुजनलाई नपुग्दो केही थिएन। तर, २००७ सालमा राणा शासनविरुद्ध लड्न मुक्ति सेनामा भर्ति भएका र पछि नेपाल प्रहरी हाँकेका हजुरबुवाको मनमा एउटा इच्छा थियो– नातिले नेपाल चिनोस्, चेन अफ कमान्ड बुझोस्, फौजी जीवनको अनुशासन सिकोस् अनि स्वावलम्बी बनोस्।

तस्बिर: अनिश रेग्मी/सेतोपाटी

सेन्ट जेभियर्स कलेजबाट प्लस टु सकेर बसेका पुजनलाई गएको चैतमा हजुरबुवाले आफ्नो इच्छा पनि मिसाएर सल्लाह दिए, ‘म्यादी प्रहरी खुलेको छ, तँ पनि भर्ना हुन जा।’

सरकारले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरीको विज्ञापन गरेको थियो। पुजनलाई हजुरबुवाको सल्लाह ठीकै लाग्यो।

चैत ११ गते उनी म्यादीको फाराम भर्न हिँडे। ‘महानगरीय प्रहरी परिसर भनेको थियो, बिहान १० नबज्दै म हनुमान ढोका पुगेँ,’ पुजनले भने, ‘तर अफिस त सरेर टेकु पुगेको रहेछ।’

टेकु पुगेरै उनले फारम भरे।

उनको घरनजिकै महाराजगन्जस्थित दुई नम्बर गणमा छनौटको लागि शारीरिक परीक्षण, दौड लगायत परीक्षा भयो। पुजन त्यसमा पास भए। म्यादीको लिखितमा पनि उनको नाम निस्कियो।

त्यसपछि सुरु भयो, तालिम। बाँसबारी प्रहरी वृत्त पछाडिको चउरमा तालिम गर्दा पुजनले पहिलोपटक थाहा पाए, तालिम दिने प्रहरीका मान्छेलाई गुरुबा भन्नुपर्दो रैछ। ‘कहिले घरबाट हिँडेर जान्थेँ, कहिले बसमा जान्थेँ,’ पुजनले भने, ‘सुरुसुरुमा पिटी–सिटी खेलाएकाले खासै गाह्रो भएन पछिपछि केही दिन गाह्रो लाग्यो। चिठी सलाम कसरी गर्नेदेखि भीडमा लाठीचार्ज कसरी गर्ने भन्नेसम्म सिकाउनुभयो।’

तालिमको अन्तिम दिन उनका गुरुबा खेम बिकले भनेछन्– ‘बराल उठ्।’

पुजन उठे। आफ्नो परिचय दिएर रोकिए। अनि बिकले अरुलाई भनेछन्, ‘ऊ भूपुआइजीसाबको नाति हो। तैपनि यहाँ आएको छ। तिमीहरूले पनि ऊबाट सिक्नुपर्छ। काम भन्ने सानो ठूलो हुन्न।’

त्यसपछि मात्र पुजनका साथीहरुले उनको असली परिचय थाहा पाए। ‘मनमनै त के सोचे मलाई थाहा भएन, तर हजुरबुवाको बारे थाहा पाए पनि साथीहरूले मलाई फरक व्यवहार गरेनन्,’ पुजनले भने, ‘मेरो मनमा पनि त्यस्तो केही थिएन, म अरूजस्तै भएर काम गर्न चाहन्थेँ।’

तालिम सकिएपछि सुरु भयो ड्युटी। एक जना प्रहरीको कमान्डमा लठ्ठी बोकेर म्यादीको टोली कहिले पैदल गस्तीमा हिँड्थ्यो, कहिले गाडीमा सिआरभी गस्ती गर्न निस्कन्थ्यो। कहिलेकाहीँ राति सवारी साधनको चेकअप गर्नुपर्थ्यो।

‘दिउँसोभन्दा राति धेरै घटना हुने रैछन्, वाकीटकीमा रिर्पोट आउँथ्यो, झगडा भयो, चोरी भयो भन्ने,’ पुजनले भने, ‘मापसे चेकिङ गर्दा कति मान्छे त प्रहरी देख्दा गाडी मोडेर फर्किने पनि रैछन्। कोही तीन जना बसेर मोटरसाइकल चलाउने तर हेल्मेट नलगाउने पनि हुने रैछन्।’

यसरी कहिले बिहानको सिफ्टमा कहिले रातको सिफ्टमा ड्युटी गर्दागर्दै दिनहरू बिते। भर्ना भएको महिना दिन पुग्यो। अनि भत्ता र रासनसहित उनको तलब आयो, २७ हजार ८ सय ४५ रुपैयाँ। उनले त्यो पैसा ल्याएर थपक्क हजुरबुवालाई दिँदै भनेछन्, ‘मैले परिश्रम भन्ने के हो भन्ने थाहा पाएँ हजुरबा।’

फौजी स्वभावका हजुरबाले पैसा समातेर टाउको हल्लाए तर केही बोलेनन्।

चुनाव लागि केहीदिन अगाडि नै म्यादीहरूलाई बुथमा पठाइयो। पुजनको टोली पञ्चकन्या स्कुल, चुनदेवी बुथमा खट्नुपर्ने भयो। झोलामा आफूलाई चाहिने सामान र म्याट्रेस बोकेर उनीहरू स्कुलमा पुगे।

‘राति म्याट्रेस ओछ्याएर भुइँमा सुत्नुप¥यो, लामखुट्टे पनि कानैमा आएर कराउँथ्यो,’ पुजनले भने, ‘पहिलो रात त साह्रै गाह्रो लाग्यो, अर्को रातदेखि फौजी जीवनमा यस्तो दुःख सामान्य हो भन्ने सोचेँ। त्यतिबेला मलाई दुःखभन्दा आफ्नो जिम्मेवारी बढी बोध हुन्थ्यो।’

उनीहरूको टोलीले स्कुलमा मतदाता लाइन लाग्ने ठाउँ बनायो। भित्र बुथ बनायो। त्यसमाथि पाल टाँग्यो। ‘चुनावको दिन पहिला म बाहिर निस्कने ठाउँमा थिएँ, पछि सिफ्ट चेन्ज भएर इन्ट्री हुने ठाउँमा परेँ,’ पुजनले भने, ‘मतदान सकिएपछि मतपेटिका बसमा राखेर अबेर राति मात्र घर फर्कें।’

घर फर्केपछि हजुरबाले सोधे, ‘कस्तो भयो त चुनाव?’

आफूले पाएको जिम्मेवारी निर्वाह गरेको ठानेका पुजनले जवाफ फर्काए, ‘सबै राम्रो भयो।’

त्यसपछि उनी बुढानिलकण्ठ नगरपालिकाको मतगणना स्थलमा खटिए। केही दिन त्यहाँ ड्युटी गरेपछि फेरि पहिलाकै काम सुरु भयो, पैदल र सिआरभी गस्ती जाने। म्यादीको ड्रेस टोपी, सिठी पनि भएको ज्याकेट, बेल्ट, पाइन्ट र जुत्ता लगाएर हिँड्दा उनलाई लाग्थ्यो– हामीले बाहिरबाट सोच्नेजति सजिलो रहेनछ, प्रहरी हुन।

निर्वाचन दोस्रो चरणमा हुने भएपछि सुरुमा ५५ दिनका लागि भर्ना गरिएका म्यादीको समय पनि थपियो। यता पुजनले भने म्यादी हुनुअघि नै हरियाणामा पढ्न भारतीय दूतावासको छात्रवृत्ति पाइसकेका थिए। फारिदाबादको एक कलेजमा अर्थशास्त्रमा स्नातक गर्न उनी छानिएका थिए। त्यसको केही प्रक्रिया बाँकी नै थियो। म्यादीको ड्युटी पनि गरेर उनी यताको काम गर्न सक्दैनथे।

जेठ मसान्तमा उनले म्यादीबाट राजीनामा दिए। आफूले पाएको रकम फेरि ल्याएर हजुरबुवाको हातमा थमाइदिए।

‘भर्ना हुनुअघि नै कमाएको पैसा सामाजिक सेवामा खर्च गर्छु भन्ने विचार थियो,’ पुजनले भने, ‘यताको सबै काम सकिएपछि हजुरबुवालाई प्रहरी स्मारक गुठीलाई सहयोग गर्छु भनेँ। उहाँले पनि हुन्छ भन्नुभयो।’

आफूलाई प्रहरीले देश सेवा गर्ने अवसर दिएको र त्यसैका माध्यमबाट धेरै कुरा सिक्ने अवसर पाएको उनको भनाइ छ। त्यही भएर प्रहरीलाई नै रकम फिर्ता गर्नु राम्रो हुने सोचेर स्मारक गुठीलाई पैसा दिएको उनले बताए। प्रहरी स्मारक गुठीले माओवादी द्वन्द्व बेला र पछि पनि मारिएका प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने लगायतका काम गर्छ।

‘अहिले त सर्वसाधारणका छोराछोरीलाई पनि दिन थालेको छ,’ पुजनले भने, ‘म्यादी नै भए पनि आफूले काम गरे्को संस्थामा थोरै सहयोग होस् भनेर पैसा दिएको हुँ।’

म्यादी प्रहरी भएर पुजनले हजुरबुवाले इच्छा गरेका केही कुरा सिकेका छन्, जुन जीवनका अरू मोडमा पनि काम लागिरहने उनी बताउँछन्।

‘फौजीको अनुशासन कस्तो हुँदो रैछ थाहा भयो। दुःख गरेर कमाउन कत्तिको गाह्रो हुन्छ भन्ने अनुभव भयो। प्रहरीले कसरी काम गर्दा रैछन् बुझियो। अनि हजुरबुवाले भनेजस्तै नेपाल कस्तो रैछ भन्ने पनि अलिअलि थाहा भयो,’ पुजनले भने, ‘यी कुरा मेरो जीवनमा अन्त पनि काम लाग्छन्।’

म्यादी भएर उनले बुझेको अर्को कुरा हो– प्रहरीको काम सजिलो होइन रैछ। ‘कतै सवारी भयो भने त खानै नखाइकन खट्नुपर्छ, रातदिन भन्न पनि नपाइने,’ पुजनले भने, ‘त्यसरी दुःख गर्ने प्रहरीलाई हामीले सम्मान ग¥यौं भने उनीहरूमा झन् काम गर्ने जाँगर आउँछ।’

त्यसो भए उनी पनि अब प्रहरीमै आफ्नो भविष्य खोज्लान् त?

‘हजुरबुवा मास्टर्स सकेर इन्स्पेक्टरमा भर्ना हुनुभएको थियो रे। म भर्खर ब्याचलर्स पढ्दै छु,’ पुजनले भने, ‘अहिले नै प्लान बनाइसकेको छैन। हेरौं के हुन्छ।’

दुई महिना म्यादी प्रहरी बनेर काम गर्दा उनलाई सबैभन्दा याद आइरहने एउटा क्षण छ– गुरुबा खेम बिकले तालिम दिँदा चिच्याएर भन्ने गरेको लाठी चा……र्ज। ‘उहाँले भनेको त्यो शैली मलाई खुब याद आइरहन्छ,’ पुजनले भने।

तिनै गुरुबासँग पुजनको सोमबार प्रहरी प्रधान कार्यालयमा भेट भयो। कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरू पनि उपस्थित थिए। पुजनले आफू तीन वर्षका लागि मंगलबार नै नयाँदिल्ली जान लागेको आफ्ना गुरुबालाई सुनाए।

खेमले बधाई दिँदै भने, ‘अझै राम्रो गर्नू। बेस्ट अफ लक पुजन!’

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित वरिष्ठ अधिकारीहरुसँग पुजन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.