बाढीले कटान सुरु गरेपछि मिक्लाजुङवासी त्रसित


नुनसरी बक्राहा खोलामा वर्षासँगै आएको बाढीले मानव बस्तीसँगै खेतीयोग्य जमिन कटान गर्न थालेपछि मोरङको मिक्लाजुङवासी त्रसित बनेका छन्।

गत वर्षको असारमा बस्तीतिर पसेको बक्राहाको बाढी रोक्न तटबन्ध निर्माण हुन सकेको छैन। बाँध फुटाएर बस्तीमा पस्दा बक्राहाको बाढीले सो गाउँपालिकाको साविक मधुमल्ला गाविसका ५०० परिवार विस्थापित भएका थिए।

केही दिनयता वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीयवासी झनै त्रसित बनेका छन्। गत वर्ष बाढीले मिक्लाजुङ–६ को बेतेनी र धप्पर टोल गरेर दुई स्थानमा बाँध फुटाएको थियो।

धप्पर टोलमा करिब ७०० मिटर फुटाएको बाँध निर्माण भएता पनि सोही वडाको बेतेनीमा फुटाएको करिब ८०० मिटर बाँध मर्मत हुन नसक्दा खोला बस्तीमा पसेको हो।

सो बस्तीका करिब २५ परिवार नजिकैको मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्। बाँकी परिवार मधुमल्ला र उर्लाबारी बजारमा कोठा भाडा लिएर तथा आफन्तकामा आश्रय लिएर बसेका छन्।

गत वर्ष बक्राहाको बाढीले १३० बिगाहभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको थियो ।

वर्षा सुरु भएसँगै खोला गाउँमा पसेर त्रसित बनेका स्थानीयवासीले मिक्लाजुङ गाउँपालिका कार्यालयमा तारजाली र तटबन्धको व्यवस्था गरिदिन माग गर्दै निवेदनसमेत दिएका छन्।

वर्षाको समय सुरु भएसँगै रातभर जाग्राम बस्नुपर्ने अवस्था छ, स्थानीय पूर्णकुमार बस्नेतले भने, ‘हामी कहिलेदेखि ढुक्कले सुत्न पाउँछौँ’ अहिले खोलाले गतवर्ष बगेको ठाउँभन्दा केही पश्चिम खेतीयोग्य जमिन र मानव बस्तीतर्फ कटान सुरु गरेपछि गाउँपालिकामा तारजालीको माग गरिएको स्थानीय मोहन गौतमले बताए।

खोलाले मानव बस्तीतर्फ कटान सुरु गरेपछि सोमबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, वडा नम्बर ६ का अध्यक्ष बृद्धिलाल निरौला र वडा नम्बर ९ का अध्यक्ष सोमनाथ अधिकारीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ।

स्थलगत अवलोकनपछि गाउँपालिकाका अध्यक्ष आचार्यले धार परिवर्तन गर्न चाँडै काम सुरु गर्ने र जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा लैजाने बताएका छन्।

थप बस्ती र खेतीयोग्य जमिन कटानको समस्यालाई रोक्न पहल गरिनेसमेत अध्यक्ष आचार्यले जानकारी दिए।

बक्राह खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ। चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुङ्गा, गिट्टीका कारण खोलाको भाग अग्लो बनेको बक्राहा खोला नियन्त्रण दबाब समूहका संयोजक मानबहादुर श्रेष्ठले बताए। उनका अनुसार खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.