के भीष्मको अवचेतनमा सत्यवती थिइन्?

के भीष्मको अवचेतनमा सत्यवती थिइन्?

महाभारतका अमर पात्र

कलाः भरत राई


भीष्म महाभारतमा आदिदेखि अन्तसम्म उपस्थित छन्। व्यासले बडो मनोयोगले उनको व्यक्तित्व निर्माणको थालनी गरेका छन्। सामान्यतः उपन्यास—पुराणमा वयोवृद्ध पात्रहरू उपस्थित रहँदैनन्। भीष्म एक अपवाद छन्। लाग्छ, व्यास भीष्मको व्यक्तित्व निर्माण गरेर कुनै महान सत्य उद्घाटन गर्न खोज्दैछन्।

कुरुवंशमा भीष्मका पूर्वज महाराज ययाति प्रतापि सम्राट थिए। आफ्नी महारानी देवयानीलाई छलेर एक सुन्दरी सेविकालाई भित्रिनी बनाएका थिए। ती सेविका साधारण थिइनन्। राजाकी छोरी थिइन्। अवैध सम्बन्धको पोल खुल्यो। प्रतापि ससुरा शुक्राचार्य रिसाए। तन्त्रमन्त्र वा जडिबुटी केले हो कुन्नि, देवयानीका पिता शुक्राचार्यले ययातिलाई असमय वृद्ध बनाए। ययातिको भोगलिप्सा तृप्त भएको थिएन। फलस्वरुप ससुरा शुक्राचार्यलाई पुनः रिझाएर उनकै प्रसादले तन्नेरी छोरासँग यौवन पइँचो लिए। तर, हजारौं वर्ष कामोपभोग गर्दा पनि उनलाई तृप्ति भएन। उल्टो आगोमा घिऊ हालेजस्तै वासना भड्किरह्यो। पछि चेत खुल्यो। उनले भने– ‘न जातु कामः कामाना…।’

विषय उपभोगले विषय मथ्थर हुँदैन। तर, यिनै ययातिका उत्तराधिकारी नाना किसिमका विषय भोगमा लिप्त भएर महाभारत–युद्धका सुत्रधार भए।

राजा शान्तनु ययातिका वंशज थिए। वृद्धावस्थामा राजा शान्तनु सत्यवती नामकी युवतीप्रति आसक्त भए। कामार्त पिता शान्तनुको कामासक्ति परिपूर्तिको आयोजनामा छोरा देवव्रतले व्रह्मचर्यको प्रतिज्ञा गर्नुप¥यो। उनी विश्वमा भीष्म कहलाए। महाराज शान्तनुको आफ्नै कथा थियो। उनी पूर्वजन्ममा महाभिष भन्ने नामका राजा थिए। कुनै सभामा उनले गंगालाई देखे। गंगा चिरयोवना थिइन्। महाराज महाभिषले उनको पछ्यौरा उड्दाको दृश्य देखे। अनावृत्त पयोधरा तरुणी गंगाबाट उनको नजर हटेन। महाराजको आकर्षण गंगाबाट छिपेन। उनी पनि मस्किइन्। सभाका वृद्धजनलाई यो पचेन। बूढाहरूलाई तन्नेरको यस्तो व्यवहार कहिल्यै उपयुक्त लाग्दैन। महाभिष र गंगाले सराप पाए– ‘तिमीहरू मनुष्य भएर पृथ्वीमा जाओ। दुःख पाओ।’ महाभिष कालान्तरमा महाराज शान्तनु भएर जन्मे। र, गंगालाई भेटे।

शान्तनु र गंगाका पुत्र थिए, भीष्म। उनको खास नाम देवव्रत थियो। पूर्वजन्ममा उनी देवपरिवारका सदस्य थिए। उनी अष्ठबसुमध्ये कान्छा थिए। उनलाई प्रभाष पनि भनिएको छ। त्यस जन्ममा उनी आफ्ना पत्नीप्रति अतिशय अनुरक्त थिए। पत्नीलाई खुसी बनाउन उनले मुनी वशिष्ठको गाई चोरेका थिए। गाई त्यस समयको मुख्य सम्पत्ति थियो। गाई–चोरी ठूलो अपराध थियो। त्यस प्रसंगमा प्रभाषले अन्य वसुहरूका साथ पृथ्वीमा जन्म लिनुपरेको थियो। अरू सहयोगी त मत्र्यलोकको बन्धनबाट गंगाका कृपाले जन्मनासाथ मुक्त भए। प्रभाषको भाग्य यस्तो भएन। भीष्मका रूपमा उनले पृथ्वीमा लामो जीवन बिताउनुपर्यो।

पुराणमा मानव जीवनलाई सामान्यतः दुःखका रूपमा पेस गरिएको छ। पौराणिक मनुष्य मत्र्यलोकको ‘आवागमन’ बाट छुट्कारा चाहन्छ। स्वर्गमा दण्डनीय क्रियाकलाप गरेका व्यक्ति पृथ्वीतिर घोक्राइन्छन्। पृथ्वीमा दुःख छ। स्वर्गमा सुख नै सुख छ भन्ने मान्यता छ। तर, सुख र दुःःखका बीचमा विभाजन रेखा खिच्न सजिलो छ र?

सिंगो महाभारतमा भीष्म सर्वाधिक आदरणीय छन्। केही अपवाद छाडेर उनका विरुद्ध कोही केही बोल्दैन। उनको शौर्य र शील विवादातित् छ। उनी भक्त छन्। त्यति हुँदाहुँदै उनको जीवन जन्मदेखि मरणसम्म असफलता र विषादको अभिलेख छ। उनको जीवन विडम्बनाको अद्भूत उदाहरण छ। उनको लामो वार्धक्य अवज्ञा र अपमानको शृंखला छ। आफूले छोडेको तर आफैंद्वारा रक्षित यो राज्य हेर्दाहेर्दै उदण्ड नाति दुर्योधनको हातमा जान्छ। भीष्म दुर्योधनको अपकृति र अत्याचारका मूकदर्शक हुन पुग्छन्। आपूmले हुर्काएका नाति–पनातिप्रति ममा समभाव छ भनेर उनी बारम्बार भाषण गर्छन्। कदाचित् समभाव मात्र थिएन, मोह थियो। नाति–पनातिहरूमध्ये युधिष्ठिरलाई उनले भावी महाराजका रूपमा योग्य ठानेका थिए। उनी दुर्योधनलाई पनि छाड्न सक्दैनन्।

वयोवृद्ध भीष्मको चित्रण गरेर व्यासले परिवार–प्रणालीमा सामान्यतः देखिने बूढाहरूको नियतिको चित्रण गरेका छन्। कुरुक्षेत्र थालिँदाताका भीष्म उहिल्यै वानप्रस्थ वा सन्यासमा गइसक्नुपर्ने हो। महाभारतकालीन आदर्श त्यस्तै थियो। तर, भीष्मले राज्य र परिवारको मोह छाड्न सकेका थिएनन्। गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला वा मुलायमसिंह यादवले राजनीति छाड्न नसकेजस्तै।

पाञ्चाल राज्यका सम्राट द्रुपद हस्तिनापुरका परम्परागत शत्रु थिए। प्रतिस्पर्धा र महत्वाकांक्षाको वैर थियो। दु्रपदका छोरा शिखण्डीको अस्तित्वको उद्देश्य नै भीष्मको हत्या थियो। अर्का छोरा धृष्टद्युम्न द्रोणचार्यको हत्याका निमित्त जन्मिएका थिए। पाण्डवले पाञ्चाल र मत्स्यसँग मोर्चा बनाएपछि भीष्म राजनीतिक दृष्टिले छट्पटिएका थिए होलान्। उनको व्यक्तिगत जीवनका विकल्प साँघुरिएका थिए। उनी युधिष्ठिरलाई रुचाउँथे। युधिष्ठिर उनलाई आदर गर्थे। तर, उनी दुर्योधन र त्योभन्दा बढ्ता हस्तिनापुरको तथाकथित ‘राष्ट्रिय–स्वार्थ’ लाई छाड्न सक्दैनथे। निकट अतितमा नेपाली कांग्रेसको इतिहासमा कृष्णप्रसाद भट्टराई यस्तै एउटा पात्रका रूपमा देखा पर्नुभएको थियो। नेपाली कांग्रेसको अग्रता, निरन्तरता र प्रतिष्ठाका निमित्त उहाँमा ठूलो मोह थियो। त्यसका लागि उहाँले धेरै किसिमका अपमान र आघात खेप्नुपर्यो। अन्ततः नेपाली कांग्रेसको मोह छाडेपछि मात्र उहाँले शान्ति पाउनुभयो कि? भीष्म त्यस्तै प्राणी थिए।

भीष्मको तुलना वास्तविक मनुष्यसँग यथावत् गर्न सजिलो भने छैन। उनी एक पौराणिक पात्र हुन्। युरोपमा पुराणलाई ‘मीथ’ भन्ने चलन छ। मनोवेत्ता सिजे जुङको उदयपछि पश्चिममा मीथको अध्ययनले विशेष प्रतिष्ठा प्राप्त गरेको छ। ग्रीक मेथोलोजीमा हाम्रा पुराणका जस्तै समृद्ध पात्रहरू छन्। पुराण र ग्रीककथामा वर्णन गरिएका पात्रहरू एकातिर काल्पनिक देखिन्छन्। अर्कातिर उनीहरूका कतिपय विशेषता आधुनिक मनुष्यमा काटीकुटी भेटिन्छ। त्यसलाई ध्यानमा राखेर मात्र भीष्म र किसुनजीको तुलना गरिएको हो।

किसुनजीको सम्झना एउटा झल्को मात्र हो। भीष्ममा मनुष्यका सामान्य गुणहरू बहुत थोरै छन्। मनुष्य योनीमा जन्मेर पनि उनी सधैं देवता बन्ने कोशिसमा थिए जस्तो बहुधा प्रतित हुन्छ। मानिसले मानिस नरहेर देवता बन्न खोज्दा के हुन्छ भन्ने कुराको दुखान्तिका भीष्मको जीवनमा अभिव्यक्त भएको छ। यस जन्ममा उनले एकातिर राज्य त्याग गरे, अर्कातिर व्रह्मचर्यको व्रत लिए। महाभारतमा स्त्रीको सौन्दर्य र आकर्षणका अनेकन स्तुति छन्। सुन्दरी स्त्रीलाई देख्नासाथ पुरुष मात्रको होश हराएका थुप्रै उदाहरण छन्। तर, देवव्रत भीष्ममा कतै त्यस्तो आकर्षण देखिँदैन। उल्टो स्त्री जातिका प्रति उनमा एउटा अस्वस्थ विकर्षण छ।

रामायण–महाभारतमा पितृभक्तिका अनेक उदाहरण छन्। वृद्ध माता–पितालाई तीर्थ गराउने क्रममा श्रवणकुमार मारिएका थिए। पिताको आज्ञा मानेर रामचन्द्र वनवास गएका थिए। ययातिका छोरा पुरुले पितालाई आफ्नो यौवन दान दिएका थिए। भीष्म यस्ता सारा कथाबाट वाकिफ थिए। भीष्मको व्यक्तित्वमा पितृभक्तिको यस्तै उदाहरण देखिन्छ। तर, त्यति मात्र होइन कि भन्ने शंका गर्ने ठाउँ पनि प्रशस्त छन्।

भीष्म र सत्यवती समवयस्क छन्। सत्यवतीको विवाह नै हुने हो भने भीष्म उनका निमित्त उपयुक्त पात्र थिए। भीष्म गंगा किनारमा भ्रमण गर्न गइरहन्थे। सत्यवतीलाई बाबु शान्तनुले भन्दा पहिले छोरा देवव्रतले देखेका भए कथाले अर्को मोड लिन सक्थ्यो। भीष्म र सत्यवतीमा भेट भएको पनि हुन सक्छ। तर, शान्तनुसत्यवतीलाई देख्नासाथ मोहित भए, कामासक्त भए। महाभारतका कथामा काम र प्रेममा अन्तर देखाइएको छैन। कामोहित शान्तनुको अवस्था देवव्रतबाट छिपेन। अनि छोरा आफैं गएर बुबाको विवाहका निमित्त सत्यवतीका पितालाई तयार गरे।

सत्यवतीका पिता माझीहरूका राजा थिए भनिएको छ। उनलाई दासराज पनि भनिएको छ। सत्यवती दासराजकी पोषिता छोरी थिइन्। तर, उनको शरीर र व्यक्तित्वमा राज खानदानको रगत थियो। दासराजलाई छोरीको मर्म थाहा थियो होला। दासराजले भीष्मसँग सत्यवतीका छोराका निमित्त युवराजको पद मागे। बुढेसकालमा तरुनीसँग विवाह गर्न खोज्नेले यस्तो मूल्य तिर्नैपर्छ। दासराजले राजा शान्तनुका अगाडि यो प्रस्ताव राखिसकेका थिए। शान्तनुले बोल्न सकेका थिएनन्। उनलाई युवराज देवव्रतको डर थियो होला। तर, अहिले त युवराज देवव्रत स्वयम् कन्यार्थी भएर आएका थिए। तत्काल समस्या समाधान भयो। राजा–महाराजाको जीवनका निमित्त यो नौलो प्रसंग होइन। नेपालका राजा रणबहादुर शाहले पनि झन्डै २०० वर्षअघि यस्तै कृत्य गरेका थिए। उनले मैथिल युवती कान्तिवतीसँग विवाह गर्न खोज्दा यस्तै सर्त मानेका थिए।

सत्यवती महारानी भएर हस्तिनापुर भित्रिइन्। भीष्मले आफैं रथमा चढाएर लगे। माझी घरानमा हुर्किएकी सत्यवतीलाई आफू राजाकी छोरी भएको याद थियो। उनमा सत्ता–मोह थियो। सत्ता–राजनीतिमा आकण्ठ डुबेका यी दुई विपरित लिङ्गका समवयस्कको सम्बन्ध कस्तो थियो होला? एकांकी जीवन बिताउन अभिशप्त रहेका शान्तनुका छोराको अवचेतनमा सत्यवती जरुर उपस्थित थिइन्। मनोवेत्ताले यसलाई अस्वाभाविक भन्ने छैनन्। भीष्मले यावत मान–अपमान खपेर हस्तिनापुर नछाड्ने एउटा कारण सत्यवती पनि हुन सक्छ। त्यस्तो हो भने भीष्म मानवीय हुन्छन्। तर, भीष्मको मूल समस्या नै के हो भने उनी सबथोक छन् तर मनुष्य छैनन्। महाभारतमा भीष्मले रोएको प्रसंग कहीँ आउँदैन। आँशु झर्दै–नझर्ने मानिसले प्रेम के बुझोस्?

महाभारत भीष्मको योग्यता, विद्वता र वीरताको वृतान्तले भरिएको छ। उनलाई वृहस्पतिले राजनीतिशास्त्र पढाएका थिए। वशिष्ठले वेदान्त बुझाएका थिए। परशुरामले शस्त्रास्त्र शिक्षा सिकाएका थिए। गुरु परशुराम युद्धमा कहिल्यै हारेनन्। तर, भीष्मलाई जित्न सकेनन्। महाभारतमा परशुराम र भीष्मको युद्धको वर्णन छ। शिष्य भीष्मसँग युद्ध थाल्नुअघि परशुराम सम्झाउँछन्– ‘मैले यसअघि २१ पटक पृथ्वीबाट क्षत्रीयको संघार गरेको छु।’ भीष्मले उदण्डतापूर्वक जवाफ दिन्छन्– ‘त्यस समय भीष्मको जन्म भएको थिएन।’

यस उत्तरले भीष्मलाई वीररसको साकार अवतारका रूपमा चित्रित गर्छ। उनै भीष्म शान्तिपर्वमा राजधर्मका व्याख्याताका रूपमा युधिष्ठिरलाई राजाको कर्तव्यका बारेमा शिक्षा दिन्छन्। शिक्षा दिँदा उनी एकसाथ वशिष्ठ, वृहस्पति र शुक्राचार्यका अवतार देखिन्छन्। व्यासले भीष्मको व्यक्तित्वलाई चौतर्फी रूपमा महिमामण्डित गरेका छन्।

शान्तिपर्वमा राजधर्मका प्रस्तोताका रूपमा भीष्मलाई भेट्दा हामी उनको नियतिको थप आयामको साक्षात्कार गर्छौं। पिता शान्तनु मर्दा उनका भाइहरू चित्रागंद र विचित्रवीर्य नाबालिग थिए। भीष्मले भाइहरूको शिक्षा–दीक्षाको जिम्मा लिनुपर्यो। युवा विधुवी सत्यवती यसको हेतु र साक्षी भइन्। तथापि व्यास भीष्म र सत्यवतीको आपसी सम्बन्धलाई लिएर बिल्कुलै चुप छन्। त्यस युगमा माताको नाता प्रथमतः प्रतिष्ठित हुँदै थियो। पिताको त वास्ता नै थिएन। छोराकी प्रेमिकालाई बाबुले विवाह गरेको प्रसंगमा बिपी कोइरालाले ‘बाबु, आमा र छोरा’ भन्ने उपन्यास लेख्नुभएको छ। हिन्दुस्तानमा सन् १९५० को दशकमा ‘शारदा’ भन्ने फिल्म बनेको थियो। राज कपुर र मीना कुमारीले त्यस फिल्ममा खेलेका छन्। युवा राजकपुरले मीना कुमारीलाई प्रेम गर्छन्। उनको अनुपस्थितिमा राज कपुरका पितासँग मीना कुमारीको बिहे हुन्छ। विधुवा आमासँगको व्यभिचारको कथा पाश्चात्य साहित्यमा मनज्ञ भेटिन्छ। महाभारत कालमा भने यो अचिन्त्य थियो। फेरि सत्यवती व्यासकी समेत आमा थिइन्। व्यासले सत्यवतीलाई बेलैमा वानप्रस्थ जीवन बिताउन जंगल लगे, भीष्म गएनन्।

सत्यवती स्वयम् महाभारतका अभागी पात्रमध्ये एक हुन्। उनका पिता राजा उपरिचर थिए। राजा उपरिचरको असमान सम्बन्धको परिणामस्वरुप उनको जन्म भएको थियो। परित्यक्त छोरी माझीकी पोषिताका रूपमा हुर्किइन्। उनी डुंगा चलाउन थालिन्। त्यसै क्रममा मुनि पराशरले उनलाई भेटे। फेरि उही कथा दोहोरियो। मुनि काममोहित भए। उनले आफूलाई थेग्न सकेनन्। वृद्ध ऋषिलाई भर्खर उमेर चढेकी सत्यवतीलाई फसाउन समय लागेन। यसै सम्बन्धले सत्यवतीको गर्भबाट व्यासको जन्म भएको थियो। व्यास एकातिर महाभारतका लेखक छन्। अर्कातिर उनी महाभारतमा पटक–पटक प्रकट हुन्छन्। व्यासले सत्यवतीका विधुवा बुहारीलाई तत्कालिन रिति–थितिअनुसार वीर्यदान गर्छन्।

भीष्मले पिता शान्तनुको विवाह आयोजना गर्नुपरेको थियो। अब शान्तनुका छोराहरूका निमित्त पत्नी खोज्ने काम पनि उनकै भयो। निर्धा भाइहरूको विवाहको जिम्मेदारी वहन गर्नुप¥यो। भाइ विचित्रवीर्यका निमित्त उनले तीनवटा राजकुमारी अपहरण गरेर ल्याएका थिए। ती तीनमध्ये अम्बा जेठी थिइन्। सबभन्दा राम्री पनि थिइन्। अम्बाले अपहरणअघि नै एक राजपुत्रलाई प्रेम गरेकी थिइन्। अम्बा तिनै राजपुत्रसँग विवाह गर्न चाहन्थिन्। भीष्मले अम्बालाई सादर ती राजपुत्रका समीप पुर्याइदिए। तर, ती राजपुत्र अब अम्बालाई स्वीकार गर्न तयार थिएनन्। अम्बा भीष्मका पछि लागिन्। उनी भीष्मसँग विवाह गर्न चाहन्थिन्। यिनै अम्बाले गुरु परशुरामकहाँ गएर आफ्नो विवाह भीष्मसँग गराइदिन आग्रह गरेकी थिइन्। त्यसै प्रसंगमा परशुराम र भीष्मको रोमाञ्चक युद्ध भएको थियो।

आधुनिक मनोवेत्ताले भीष्म र अम्बाको सम्बन्धका उपर एउटा सिंगो पुस्तक लेख्न सक्छ। भीष्मप्रति अम्बाको आक्रोश र प्रतिहिंसामा यौनकुण्ठाको सहज प्रमाण छ। अम्बाले परशुरामलाई खासमा राजा शाल्वसँग विवाह गराइदिन प्रार्थना गर्नुपर्ने हो। तर, उनी त्यसो गर्दिनन्। उनी भीष्मसँग विवाह गर्ने माग गर्छिन्। भीष्मले अम्बालाई उहिल्यै आदरसहित आजादी दिइसकेका थिए। उनको दायित्व शेष थिएन। तर, अम्बा मानिनन्। भीष्मले अम्बासँग विवाह गर्न स्वीकार गरेनन्। यस मुद्दामा भएको गुरु–शिष्यको युद्ध पनि निष्कर्षविहीन रह्यो। अम्बाले आत्महत्या गरिन्। व्रह्मचारी भीष्मलाई यस आत्महत्याले मृत्युपर्यन्त पछ्यायो।

छोरा विचित्रवीर्यको मृत्युपछि सत्यवतीले भीष्मलाई बुहारी अम्बिका र अम्बालिकाबाट वंश चलाउन आग्रह गरेकी थिइन्। युगानुकूल मान्यताअनुसार त्यो एक कर्तव्य थियो। भीष्मले त्यो पनि मानेका थिएनन्। अहिले परशुरामको दबाबका बाबजुद अम्बासँग विवाह गर्न मानेनन्। उनले अम्बाको प्रणय–याचना पहिले नै ठुक्राइसकेका थिए। भीष्मको जीवनमा यौन–संसर्गको अवसर अरू पनि आयो होला। तर, सधैं इनकारी रहे। या त उनलाई दाम्पत्य जीवनसँग नै वितृष्णा थियो, किनभने उनले आमाबाबुको दाम्पत्य जीवनको अनर्थ भोगेका थिए, नभए वृहस्पति र वशिष्ठका प्रशिक्षणमा हुर्किएका भीष्म बाल्यकालदेखि वैरागी थिए त? तर, फेरि हस्तिनापुरप्रति यस्तो प्रतिबद्धता किन? अथवा उनको अवचेतनमा एउटै तस्बिर थियो– आमा हुन पुगेकी सत्यवतीको तस्बिर।

कुशल निर्देशकले हस्तिनापुरको त्यस विशाल दरबारमा दुई कुनामा एकांकी बसिरहेका समवयस्क अविवाहित सौतनी छोरा र विधुवा युवती माताका उपर अद्भूत सिनेमा बनाउन सक्छ। राज कपुर र मीना कुमारीले खेलेको ‘शारदा’ यस्तो पटकथाका सामु फिका भएर जान्छ। यस्तो सम्भावनालाई अचिन्त्य बनाएर महाभारतकारले भीष्मलाई मानवेतर व्यक्तित्वको स्वामी बनाएको छ।

महाभारतमा कृष्णको व्यक्तित्वका दुई पृथक रुप देखिन्छ। एकातिर उनी नारायण छन्। प्रत्येक नरको हृदयमा वास गरेर बाटो देखाउने नारायण। यसै भूमिकामा उनलाई अर्जुनको सारथी बनाइएको छ। महाभारतका थोरै पात्रले मात्र कृष्णलाई नारायणका रूपमा हेरेका थिए। तीमध्ये भीष्म एक थिए। होइन भने कतिले त कृष्णलाई कपटी र जाली राजनीतिज्ञका रूपमा लिएका छन्। सभापर्वमा महाराज युधिष्ठिरले राजसूय यज्ञ गर्छन्। त्यस यज्ञका विधिविधानअनुसार एक वरिष्ठ अतिथिको अग्रपूजा हुनुपथ्र्यो। भीष्म वरिष्ठतम थिए। तर, उनले कृष्णलाई आफूभन्दा श्रेष्ठ देख्छन्। भीष्मले कृष्णको अग्रपूजा गर्नुपर्ने सल्लाह दिए। सभामा रडाको मच्चियो। शिशुपालले उग्रविरोध गरे। शिशुपाल र दुर्योधनजस्तालाई कृष्णको नारायण तत्व स्वीकार्य थिएन। कृष्णले हेर्दाहेर्दै शिशुपाललाई मारे। कसैले केही बोल्न सकेन। कृष्णको प्रताप प्रतिष्ठित भयो। कृष्णको अग्रपूजा निर्विघ्न सम्पन्न भयो। यसरी कृष्णलाई पूजा गराउन अघि सर्ने भीष्म कालान्तरमा कृष्णको विरोधीका रूपमा दुर्योधनका पक्षबाट युद्ध गर्न प्रवृत्त हुन्छन्।

व्यासले कृष्णको कल्पना गर्दा उनलाई दैवीय रूप दिनु आवश्यक देखेका थिए। त्यो नगर्दा महाभारतको कथ्य गन्तव्यमा पुग्दैनथ्यो। महाभारत मनुष्य र दैवको सहयोग र संघर्षको रंगमञ्च हो। कृष्ण महाभारतमा ठाउँ–ठाउँमा दैवको साकार अभिव्यक्ति देखिन्छन्। भीष्ममा यस विषयमा अन्तरविरोध देखिन्छ। उनले दैवको महत्व बुझेका थिए। दैवको परिपाकमा आफ्नो दर्शन बनाएका थिए। तद्नुरुप सिंगो महाभारतमा भीष्म दुर्योधनको निन्दा गरिरहन्छन्। तर, अन्तमा उतैपट्टिबाट लड्छन्। पाञ्चाल र मत्स्य देश हस्तिनापुरका विरोधी शक्ति थिए। कुरुक्षेत्रमा यी दुवै राज्य पाण्डवका साथ उभिएका थिए। यस पृष्ठभूमिमा भीष्म र द्रोणले हस्तिनापुरलाई छाड्न सक्दैन थिए। युद्धमा उनीहरूले प्रत्येक मौकामा विराट–द्रुपद र उनका सन्तानलाई आक्रमण गर्छन्। द्रुपदका छोरा शिखण्डी भीष्मको मृत्युको ‘निमित्त’ छन्।

भीष्मको सुदीर्घ जीवनमा द्रौपदीको चीरहरणको प्रसंग विवादास्पद रूपमा आएको छ। युधिष्ठिरको राजसुय यज्ञको ऐश्वर्य प्रदर्शनले दुर्योधनलाई भतभती पोल्न थालेको थियो। मामा शकुनीका सल्लाह र सहायतामा दुर्योधनले युधिष्ठिरलाई जुवा खेल्न आमन्त्रित गरे। जुवामा युधिष्ठिर सर्वस्व हारे। सम्पत्ति सिधिएपछि भाइहरूलाई थापे। त्यो पनि हारे। अनि आफूलाई थापे, आफू पनि हारिए। अब द्रौपदी मात्र बाँकी थिइन्। द्रौपदीलाई पनि थापे। शकुनीले पासा फ्याँके। दुर्योधन तत्काल उफ्रिए– ‘लौ द्रौपदीलाई पनि जितेँ।’ दुर्योधनले दुशासनलाई द्रौपदीलाई सभामा ल्याउने आदेश दिए। खुलासभामा दुशासनले द्रौपदीलाई नङ्ग्याउन थाले। कसैले प्रतिवाद गरेनन्। तर, द्रौपदी चुप लागिनन्। द्रौपदीले सिंगो सभा र विशेषतः भीष्मलाई प्रश्न गरिन्– ‘आफू हारिइसकेका युधिष्ठिरले मलाई हार्ने अधिकार छ वा छैन?’ विद्वान र वरेण्य भीष्मका निमित्त यो एक चुनौतिपूर्ण प्रश्न थियो। सभामा एउटी महिलालाई निर्वस्त्र गर्ने दुष्प्रयास सर्वथा गर्हित कार्य थियो। कानुन र न्यायका दृष्टिले द्रौपदीको सवाल झन् जटिल थियो। भीष्मले त्यस समय अस्पष्ट जवाफ दिएको प्रतीत हुन्छ। भीष्म भन्छन्– ‘धर्मको गति सुक्ष्म छ। म यसै भन्न सक्दिन। तिम्रा पति युधिष्ठिरलाई सोध। उनी मभन्दा जान्ने/सुन्ने छन्। धर्मज्ञ छन्।’

भीष्मले भन्छन्– ‘जुवामा हारिएर दास भइसकेका व्यक्तिले थप दाउ राख्नु असंगत हो। तर दासका पनि पत्नी हुन्छन्।’ भीष्मले द्रौपदीको प्रश्नको शुद्ध कानुनची जवाफ दिएका थिए। लामो समय राजकाज गरेका भीष्मलाई कानुन, न्याय र राजनीतिको अन्तरसम्बन्धको अन्तरविरोधको अनुभव थियो। भीष्मको जवाफ आधारभूत रूपमा द्रौपदीका निमित्त मद्दतगार थियो। भीष्मको अर्को उत्तर हुन सक्दैनथ्यो। भीष्मले अरू थोक केही भन्न सक्दैनथे। भीष्मको उत्तरले द्रौपदीलाई दासी हुनबाट रोकेको थियो। अर्कातिर उनको पत्नीत्व यथावत् थियो। भीष्मको उत्तरको पेच प्रगल्भ द्रौपदीले बुझ्न सकिनन्। भीष्मको भावनामा टेकेर पछि विदुर बोलेका थिए।

अहिले पनि सभापर्वको यस प्रकरणका निमित्त भीष्मलाई दोषी मानिन्छ। यो मान्यता न्यायका दृष्टिले उचित होला। तर, कानुनी दृष्टिले भीष्म ठाउँमै उभिएका थिए। शेक्सपियरले पोर्सियाद्वारा कानुनमा टेकेर साइलकलाई हराएका छन्– यद्यपि त्यहाँ न्यायको घाँटी रेटिएको थियो। भीष्मको उत्तरले द्रौपदीलाई बचाउ भएको थियो।

पहिलो भयानक जुवापछि पनि युधिष्ठिर चेतेनन्। दोस्रो जुवाले उनीहरूलाई वनवास लगेरै छाड्यो। वनवास र अज्ञातवासका १३ वर्ष भीष्म के गरेर बसे, हामीलाई थाहा छैन। पाण्डवहरूको अज्ञातवासको समाप्तिपछि भीष्म प्रसन्न भएका थिए। अब शान्ति हुनेछ भन्ने आशा राखेका थिए। तर, कुरा उल्टो भयो।

युद्ध पो टाढा भएन। राजा द्रुपद र राजा विराटको समर्थन पाएर पाण्डव पक्ष हौसिएको थियो। यी दुई राज्य कौरवका पुराना दुश्मन थिए। पाण्डव–कौरवको फुटबाट राजा द्रुपद प्रसन्न थिए। राजा द्रुपद पाण्डवका ससुरा थिए, परम सहायक थिए। उनका तीन सन्तान शिखण्डी, धृष्टधुम्न र द्रौपदीको जीवनको लक्ष्य स्पष्ट थियो– उनीहरू कौरवको विनाश चाहन्थे। होइन भने यी तीन जीवनको कुनै औचित्य थिएन। तापनि कौरव र पाण्डवबीच सम्झौताका प्रयास भइरहे। यस्ता प्रयासमा सबै वार्ताकार समान रूपले इमानदार थिएनन्। कृष्ण त पक्कै थिएनन्। वार्ताकारका रूपमा हिँड्नुअघि कृष्ण र द्रौपदीको गौप्य मन्त्रणा भएको थियो। कृष्णले द्रौपदीलाई वचन दिएका थिए– ‘तिमी ढुक्क बस। लडाइँ हुन्छ, हुन्छ। महाभारत हुन्छ।’

कृष्णको दौत्य कर्मको उद्देश्य विशुद्ध कुटनीतिक थियो। उनी दुर्योधनको अर्घेलो देखाउन चाहन्थे। एउटै व्यक्ति मात्र शान्तिका निमित्त साँच्चो अर्थमा प्रयत्नशील थिए। ती थिए, भीष्म। पाण्डवसँग कस्तो व्यवहार गर्ने भन्नेबारे कौरव सभामा अनेकन पटक मन्त्रणा हुन्छ। यस्ता मन्त्रणा सभामा भीष्मले दुर्योधनको चर्को निन्दा गर्छन्। अनेकन पटक भीष्म र कर्णको भनाभन हुन्छ। भीष्मले सभा बहिष्कार गर्छन्। सभा बहिष्कारले उनको लाचारी देखाउँछ। भीष्मको बहिष्कार नाति–पनातिका पालामा आएर सबै वयोवृद्ध बाजे–बराजेले पाउने उपेक्षाको उदाहरण थियो। बाबुबाजेले केही अर्ति गरे भने युवाहरू भन्छन्– ‘बूढो त्यसै कराइरहन्छन्।’

तर, भीष्म जिद्दी छन्। उनी आफ्नो अग्राधिकार छाड्न तयार छैनन्। बाँचुञ्जेल हस्तिनापुर राज्यका ‘वरिष्ठ नेता’ भएर बाँचे। यता नेपालका कांग्रेस पार्टी र एमालेसमेतमा वरिष्ठ नेताको हास्यास्पद पदको चलन चलेको छ। भीष्मको प्रवचन र प्रवोधनमा मानौं हाम्रा वरिष्ठ नेताको प्रलाप छ। गिरिजाबाबुले किसुनजीलाई यस्तै ठाउँमा राख्नुभएको थियो। अहिलेको कांग्रेसमा रामचन्द्र पौडेलको यस्तै स्थान छ। उता, नेकपा एमालेमा माधव नेपाल र झलनाथ खनाल यस्ता पदमा विराजमान छन्। यस्ता वरिष्ठहरू मानका निमित्त मान पाउँछन्। उनीहरूसँग शक्ति हुँदैन। हस्तिनापुरमा धृतराष्ट्र राजा थिए। शक्ति युवराज दुर्योधनको हातमा केन्द्रित थियो। भीष्मको सैद्धान्तिक वरिष्ठतालाई भने कसैले प्रश्न गर्न सक्दैनथ्यो। त्यसै वरिष्ठताका आडमा भीष्म महाभारत युद्धमा दुर्योधनको एघार अक्षौहिणी सेनाको सेनापति भएका थिए। उनी अचम्मका सेनापति थिए। उनले दुर्योधनलाई सुरुमै भनेका थिए– ‘म पाण्डवको भने हत्या गर्ने छैन।’

भीष्मले त्यति मात्र गरेनन्। उनले दुराशयका साथ कर्णलाई युद्धबाट विरत गराए। भीष्मको सेनापतित्वका दरमियान कर्णले युद्धमा भाग नलिने भए। भीष्म बाँचुञ्जेल महाभारतको युद्ध सिधिने भएन। भीष्मको नेतृत्वमा युद्ध आलटाल पाराले दस दिन चल्यो। ती दस दिनका दरमियान भीष्म प्रत्येक साँझ दुर्योधनलाई भन्थे– ‘पाण्डव अजेय छन्, सन्धी गर।’

भीष्मको सेनापतित्वको उद्देश्य स्पष्ट थियो। उनी कौरव र पाण्डवको सहअस्तित्व चाहन्थे, किसुनजीले कांग्रैसको एकता चाहेझैं। तर, भीष्म किसुनजी जति पनि सफल हुन सकेनन्। दुर्योधन पाण्डवलाई अजेय मान्दैनथे। यताकदा उनी भीष्मसँग झोकिन्थे– ‘आफू पनि ठीकले नलड्ने, कर्णलाई पनि लड्न नदिने, यो कस्तो चाला हो हजुरको?’ दुर्योधनको आक्षेपमा सत्यांश थियो। तर, भीष्म टसमस भएनन्। दुर्योधनलाई ठीकले जवाफ पनि फर्काएनन्।

कृष्णको शस्त्रग्रहण प्रसंग भीष्मको दस दिनको सेनापतित्वमा चर्चित घटना हो। कृष्णले युद्धका दरमियान आफूले हतियार नउठाउने प्रतिज्ञा गरेका थिए। तर, दस दिनका बीच कृष्णले दुईपटक हतियार उठाएका थिए भनेर गीता प्रेसको महाभारतमा उल्लेख छ। भक्तिमार्गीहरूले यस प्रसंगलाई भगवान कृष्णको भक्तवत्सलताका रूपमा लिएका छन्। भीष्मले कृष्णलाई हतियार उठाउन बाध्य गराउने प्रतिज्ञा गरेका थिए। सुरदासले भीष्मको भावना गाएका छन्– ‘जो न मैं हरि को शस्त्र गहाऊ, तौ लज्जा गंगा जननि को शन्तनु सुत न कहाऊ।’ भीष्मको यस्तो कठोर प्रतिज्ञाले भक्तवत्सल कृष्णलाई हतियार ग्रहण गर्न बाध्य ग¥यो भन्ने सुरदासको भजन छ। कतैकतै त्यस नाजुक घडीमा भीष्म र कृष्णको संवादको वर्णन छ। भीष्मका नजरमा राजा र राज्यको रक्षा सिपाहीको परमधर्म हो। प्रचलित कानुनको पालन धर्म हो। कृष्ण यसमा विश्वास गर्दैन थिए। उनले महाराजा कंसको हत्या गरेर राजनीति सुरु गरेका थिए। कंस राजा मात्र थिएनन्, कृष्णका मामा पनि थिए। भीष्म र कृष्ण आफ्ना समयका दुई सर्वश्रेष्ठ पुरुष थिए। दुवैका मूल्य–मान्यतामा आधारभूत अन्तर थियो। यो महाभारतको मात्र त्रासदी (ट्रयाजेडी) होइन। त्रासदी (ट्रयाजेडी) प्रत्येक युगमा यस्तै हुन्छ।

युद्धको नवौं दिनका रात्रिमा युधिष्ठिर उनलाई भेट्न गए। अन्ततः भीष्मले आफैंले आफ्नो मृत्युको बाटो युधिष्ठिरलाई बताए। द्रौपदीका दाजु शिखण्डी राजकुमारी अम्बाका ‘अवतार’ थिए। भीष्मले अम्बाको अपहरण बिर्सिएका थिएनन्। अम्बाको आत्मदाह बिर्सिएका थिएनन्। चेतन–अवचेतनमा उनी दोषमना थिए। कदाचित् केही राग–अनुराग पनि थियो। भीष्म अम्बासँग लड्न चाहँदैन थिए, अर्थात् शिखण्डीका अगाडि लाचार थिए। भीष्मको सल्लाहअनुसार उनै शिखण्डीलाई अगाडि सारेर अर्जुनले एकनासले वाणवर्षा गरे। शिखण्डी पनि वाण चलाउँदै थिए। तर, शिखण्डीका वाणले भीष्मलाई घाइते बनाउन सकेको थिएन। शिखण्डीको आडमा लुकेर चलाइएका अर्जुनका वाण भने घातक थिए। अर्जुनका वाणबाट घायल भएर भीष्मले दुशासनलाई भने, ‘यी शिखण्डीका वाण होइनन्– ‘नेमे वाणाः शिखण्डिनः’

अब उनले मर्ने निर्णय गरेका थिए। माता गंगाको छवि आँखाअगाडि आयो होला। उनले पिता शान्तनुलाई सम्झे होलान्। शान्तनुलाई दिएको वचन सम्झिए होलान्। सत्यवतीका कारण उनले ब्रह्मचर्यको प्रतिज्ञा दिनुपरेको थियो। अनिध्य सुन्दरी अम्बाको यौवनोत्कण्ठाको अर्को पाटो थियो। अम्बा हात धोएर भीष्मलाई पति बनाउन कस्सिएकी थिइन्। अम्बाको जिद्दीले भीष्म गुरु परशुरामसँग युद्ध गर्न बाध्य भएका थिए। अम्बालाई नै सम्झेर भीष्म शिखण्डीका उपर प्रहार गर्न तयार थिएनन्। बाल ब्रह्मचारीको मनको कुनामा रहेको सम्झना दाहक थियो होला। सामुने शिखण्डी थिएनन्, अम्बाको खण्डिता (?) को स्वरुप थियो। शिखण्डीको वाणको मर्मले उनको शरीरलाई कष्ट दिन सक्दैन थियो। खण्डिता (?) अम्बाले बरु मुटुमा चोट गरेकी थिइन् होला। भीष्म एकपटक फेरि बोले– ‘मुसला इव मे घ्नन्ति नेमे वाणाः शिखण्डिनः’। आफूले काखमा खेलाएका अर्जुनका प्रहारका बारेमा फेरि टिप्पणी गरे– ‘मुसला इव मे घ्नन्ति नेमे वाणाः शिखण्डिनः।’ पिताले इच्छा–मरणको वरदान दिएका थिए। महाभारतकारका अनुसार ठीक यस घडीमा आएर भीष्ममा अन्तिम विश्रामको इच्छा उत्पन्न भयो। उनी स्वेच्छाले अन्ततः रथबाट झरे– ‘प्रापतद् रथात्।’

माता गंगाले शिशु देवव्रतलाई आफैं पालेकी थिइन्। उमेरदार देवव्रतलाई बुबाको जिम्मा लगाएकी थिइन्। उमेर पुगेपछि भीष्मको जीवनमा कुनै नारी छैनन्। छन् भने बस् सत्यवती र अम्बा छन्। सत्यवतीसँग उनको सम्बन्धको कुनै संकेत महाभारतमा छैन। अम्बासँगको द्वन्द्वको विकट इतिहास छ। भीष्मको जीवनमा शृंगार तत्व अनुपस्थित छ। मानवेतर भीष्मका आँसु सुकेका थिए। संस्कृत काव्यले नारीको सौन्दर्यको वर्णनमा खुब रस लिएको छ। कविहरू डेगैपिच्छे सुश्रोणी, विलवस्तनी, चन्द्रनना–नताङ्गीको सम्झना गर्छन्। त्यस्ता सुन्दरीतर्फ भीष्मको ध्यान कहिल्यै गएन। सनातन धर्मले अर्थ, काम र धर्मलाई पुरुषार्थका रूपमा चित्रित गरेको छ। पुरुषार्थी भीष्मले त्यो सब पढेका मात्र थिए, तर कामको अनुभूति थिएन। उनलाई तथाकथित कर्तव्यको बोधले बरु सधैं थिचिरह्यो।

कन्फ्युसियसले भनेका छन्– ‘सुख खोज्ने मानिसले मानिस मात्र रहन सक्नुपर्छ।’ डा. राममनोहर लोहिया यस्तै मानिस थिए। उनी भन्थे– ‘ईश्वर र स्त्री, सुख र सौन्दर्यका स्रोत हुन्।’ ठठ्यौलो पाराले लोहियाले थपेका छन्– ‘ईश्वर कसैले देखेको छैन, म स्त्रीमै चित्त बु्झाउँछु।’

भीष्मलाई भने स्त्रीसँग वितृष्णा थियो। भीष्म आजीवन ईश्वर बन्ने कोशिसमा रहे। त्यो उनको विडम्वना रह्यो। उनका व्यक्तित्वमा महाराज महाभीष, ययाति र शान्तनुको रक्तांक्श मानौं थिएन। पूर्वजन्ममा वसु प्रभासका रूपमा उनले पत्नीको बहकाउमा लागेर वशिष्ठको गाई चोरेका थिए। यो जन्म त्यसैको प्रायश्चितमा बित्यो।

रथबाट झरेर पनि उनी तत्काल मरेनन्। इच्छा–मरणको वरदान अझै सिद्ध भएको थिएन। व्यास आफैं धर्मशास्त्र र राजशास्त्रका पारंगत थिए। तर, व्यासका मुखबाट त्यस्तो उपदेशले महाभारतको अन्विति हुने थिएन। भीष्मका मुखबाट शान्तिपर्वको उपदेश हुनु महाभारतको काव्यात्मक अन्वितीका निमित्त आवश्यक थियो। त्यति नगर्दासम्म भीष्मको शोकान्तिका (ओबिच्युरी) पूरा हुँदैनथ्यो।

***

दुई हजार वर्षअघि जन्मिएका संस्कृतका महाकवि भासदेखि हिन्दीका रामधारी सिंह दिनकर, धर्मवीर भारतीदेखि नेपालीका माधवप्रसाद घिमिरे, निलम कार्की ‘निहारिका’ समेतलाई महाभारतका अनेकानेक पात्रले प्रेरित गरेका छन्। कर्ण र द्रौपदीका बारेमा साहित्यिक कृति लेखिएका छन्। अश्वत्थामा पनि छुटेका छैनन्। तर, भीष्मले सदय र कल्पनाशील स्रष्टा अझै भेटेका छैनन्। भीष्मको व्यक्तित्वका आधारमा महाभारतको भव्य भवन खडा भएको छ। त्यही पनि भीष्मको जीवन विफल र विषम छ।

भीष्मले बूढो भएर बाँच्न जानेनन्। वार्धक्यको गरिमा बुझेनन्। समवयस्क सत्यवतीका साथ वानप्रस्थमा जान नसक्नु उनको जीवनको त्रासदीको पृष्ठभूमि थियो। उनी दण्डित भएर दुःख पाउनका निमित्त पृथ्वीमा पठाइएका थिए। उनको जीवनमा सुख निश्चय भएन। उमेरमा प्रेम वा कामको आनन्द पाएनन्। बुढेसकालमा उनको महत्वाकांक्षा असिद्ध रह्यो। नाति–पनाति लडेरै मरे। महाभारतमा मृत्युको जन्मको आख्यान सविस्तार वर्णन गरिएको छ। तर, भीष्मले मृत्यु–महिमाको साक्षात्कार गर्न सकेका थिएनन्। तदनुरुप तथाकथित इच्छामृत्युको वरदान भीष्मका निमित्त अभिशाप ठहरियो।

युवराज देवव्रतमा एउटा आदर्श राजाका थुप्रै गुण छन्। उनी न्यायप्रेमी, अनुशासित र चरित्रवान छन्। उनमा उच्चकोटीको राजनीतिक एवम् दार्शनिक समझदारी छ। तर, उनी राजा बन्न चाहँदैनन्। भीष्मको विवेकहीन त्यागको त्यस पृष्ठभूमिमा व्यासले महाभारतको भीषण विनाशलीलाको तस्बिर कोरेका छन्। उत्तराधिकार र सुशासनको राजतान्त्रिक परम्पराका उपर कुरुक्षेत्रको विभीषिका एक तीतो टिप्पणी भएको छ।

यो पनि हेर्नुहोस्

के युधिष्ठिर पहिलो नजरमै द्रौपदीप्रति कामासक्त भएका थिए

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.