मिडियाको बालस्वास्थ्यमा प्रभाव


आजकाल बालबालिका र किशोर-किशोरीहरु धेरै समय टेलिभिजन, कम्प्युटर, मोबाइल, भिडियो गेम जस्ता स्क्रिन अगाडि बिताउन थालेका छन्। मिडियाको द्रुत बिकाससंगै बालस्वास्थ्यमा थपिएको एउटा गम्भीर चुनौति हो यो।

अमेरिकामा गरिएको एउटा अध्ययनमा सहभागी आधाजसो अभिभावकले आफ्नो बच्चाले स्क्रिनमा अधिक समय बिताउछन् भन्ने सोच्दा रहेछन। उनीहरु एक दिनमा औसत एघार घण्टाजति कुनै न कुनै खालको स्क्रिनमा बिताउने गरेको देखियो। यो निकै भयावह अवस्था हो। तर केही पछि अमेरिकामै गरिएको अर्को अध्ययनले बच्चाहरुले स्क्रिनमा बिताउने समय उमेर अनुसार फरक हुने र केही बच्चाले थोरै र कसैले धेरै बिताउने गरेको देखियो। जस्तै, आठ वर्ष मुनिका बालबालिकाहरुले औसतमा दुई घण्टाभन्दा कम समय स्क्रिनमा बिताएको पाइयो, जसलाई आशालाग्दो सुधार मान्न सकिन्छ।

अवश्य पनि बच्चाहरुले स्क्रिन वा मिडियामा बिताउने समय भनेको उनीहरुको खेल्ने, पढ्ने, साथीभाई वा परिवारसँग बिताउने समयबाट काटिने हो। त्यसकारण एउटा बच्चाले कुन उमेरमा कति समयसम्म स्क्रिनमा बिताउन सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ। तर यो भन्दा अहम् सवाल भनेको उसले दिनभरि के–के गर्‍यो भने स्वस्थ र गुणात्मक तरिकाले समय बिताएको मानिन्छ भन्ने हो।

बच्चाहरुले टेलिभिजन, कम्प्युटर, मोबाइल, भिडियो गेम आदिमा धेरै समय दिंदा सबैभन्दा नकारात्मक असर पर्ने कुरा भनेको निन्द्रामा हो। प्रस्तुत विभिन्न विद्युतीय सामाग्रीहरुबाट निस्कने झिलिक-मिलिक उज्यालो तथा अन्य विकिरणहरु र आवाजले बच्चामा राम्रो निन्द्रा पर्न दिँदैन। सबै बच्चाहरुमा असर पर्ने भएता पनि विशेषगरी माइग्रेन, छारे रोग, अटिजमजस्ता समस्या भएका बच्चाको लागि यो गम्भीर समस्या हो।

बिशेषगरी बच्चा सुत्नुभन्दा कम्तीमा एक घण्टाअगाडि टेलिभिजन, कम्प्युटर आदि बन्द गरिदिनै पर्छ ताकि उनीहरु कोठाको सामान्य प्रकाशसँग अभ्यस्त हुन पाउँछन् र सुत्ने बेलामा राम्रो निन्द्रा आउँछ। यो कुराको आधार न्युजिल्याण्डमा गरिएको एउटा अध्ययनबाट प्राप्त हुन्छ। यो निकै गम्भीर कुरा हो किनभने विभिन्न अनुसन्धानहरुले देखाएका छन् कि बच्चाको सिकाइ, पढाइ, बानी व्यवहारलगायत समग्र क्रियाकलापको लागि पर्याप्त निद्रा अपरिहार्य हुन्छ।

तपाईं वा तपाईंको बच्चाले मोबाइल फोन वा टेलिभिजनमा अधिक समय बिताउदा परिवारको पारस्परिक समयमा स्वत कटौती हुन जान्छ। स्क्रिन अगाडि बिताउने समय खाना खाँदा, खेल्न जाँदा वा एक आपसमा कुराकानी गरेर बिताउनु परिवारको शारीरिक स्वास्थ्य मात्र नभएर मानसिक र सामाजिक स्वास्थ्यको लागि पनि उपयोगी हुन्छ।

आजभोलि बालबालिकाहरुको पढाइ लेखाइमा विभिन्न श्रव्य-दृश्य सामग्रीहरु प्रयोग गर्ने गरिन्छ। स्कूल वा कलेजमा विभिन्न खाले सामुहिक प्रोजेक्ट वा एक्लै गर्नुपर्ने गृहकार्यहरु पूरा गर्न आफ्नो छोराछोरी खेल्न वा गफिन छाडेर कम्प्युटर अगाडि बसेको देख्दा तपाईंले आजको प्रविधिलाई धन्य ठान्नुहुन्छ होला। सही सुपरिवेक्षण भएमा यो धेरै हदसम्म उपयोगी पनि हुन्छ। तर, अनियन्त्रित तरिकाले स्क्रिनमा बढी समय बिताउदा पढाइमा नकारात्मक असर पर्न सक्छ। बेलायतमा १४-१५ बर्षका विद्यार्थीहरुमा गरिएको अध्ययनबाट प्रत्येक एक घण्टाभन्दा बढी समय टेलिभिजन हेरेर वा कम्प्युटरमा इन्टरनेट चलाएर वा गेम खेलेर बिताउने विद्यार्थीहरुमा त्यस्तो नगर्ने समकक्षीको तुलनामा परीक्षामा दुइ ग्रेड कम आएको पाइयो।

टेलिभिजनमा देखाउने डरलाग्दा र हिंसात्मक दृश्यहरुले बालमनोविज्ञानमा नकारात्मक असर पर्छ। त्यसैले सानो उमेरका बच्चाहरुले केहीबेर टिभी हेर्दा पनि तपाईं आफु सँगै रहनुपर्छ, ताकि उसले सुरक्षित महसुस गरोस् र उसमा तत्काल उत्पन्न हुने विभिन्न मानसिक उद्द्वेग र द्वन्द्वहरु उचित तरिकाले सम्हाल्न सक्नुहोस्।

खाना खाने बेलामा टेलिभिजन हेर्ने बानी परेका बालबालिका तथा किशोर-किशोरीहरुमा मोटोपनको जोखिम बढी हुन्छ। नेपालमा गरिएको अध्ययनमा १६-१९ वर्षका किशोर-किशोरीहरुमध्ये टेलिभिजनमा दुई घण्टाभन्दा बढी समय बिताउनेहरुमा कम समय बिताउनेको तुलनामा मोटोपन झन्डै नौं गुणा बढी पाइएको थियो। यदि उनीहरुले टेलिभिजन हेर्ने समय खेलकुद वा शारीरिक अभ्यासमा लगाएका भए मोटोपन कम गर्न सहायता पुग्ने थियो।

त्यसैले आफ्नो बच्चाको दिनभरिको आवश्यकता के–के हुन् यकिन गर्नुपर्छ र त्यो समयलाई पढाइ, खेलकुद, शारीरिक अभ्यास, खानपिन, पारिवारिक समय, मनोरंजन र सुताई संग सन्तुलित तरिकाले बाँडिदिनुपर्छ। टेलिभिजन हेर्ने, भिडिओ गेम खेल्ने, इन्टरनेट चलाउनेजस्ता स्क्रिन गतिविधिहरु त्यो समय र योजनाभित्र निर्धारित अवधिभन्दा बढी नहुने गरी पर्नुपर्छ।

कति समयसम्म स्क्रिनमा बिताउनु स्वास्थ्य र सिकाइको दृष्टिकोणबाट सही हुन्छ भन्ने कुरा बच्चाको उमेर र विकासक्रम, उसले समय बिताउने ठाउँ र परिवारको आवश्यकता आदिले निर्धारण गर्छन्।

उदाहरणको लागि अठार महिनाभन्दा सानो उमेरमा मिडियाको खासै कुनै आवश्यकता नै पर्देंन। बरु भिडिओ, टेलिभिजन आदिमा बानी पार्दा बोलीको विकास राम्ररी हुन नपाउने मात्र होइन, परिवारका सदस्यहरुसँगको निकट सम्बन्धमा समेत अबरोध पुग्दछ। त्यसैले यो उमेरमा अनलाइन भिडिओ कुराकानीबाहेक अरु सबैखाले स्क्रिन प्रयोगलाई निरुत्साहित गर्न जरुरि छ। बच्चाले मोबाइल वा ल्याप्टोपमा आफ्नै औंलाले चलाएको देख्दा अभिभावकको मन फुरुङ्ग हुन्छ नै। तर, यो उमेरसम्म त्यस्तो सिक्नु जरुरी छैन, बरु हिँड्न, दौडन, बोल्न, खेल्न सिकाउनु पर्छ र यसको लागि स्क्रिनसँगभन्दा मान्छेसँगको सामिप्यता उपयोगी हुन्छ।

जब बच्चाको उमेर बढ्दै जान्छ, उसको सामाजिक जीवनको दायरा बढ्न थाल्छ र सिकाइ, मनोरञ्जन र आपसी सञ्चार तथा सम्बन्धको लागि पनि मोबाइल, कम्प्युटर, टेलिभिजन आदिको भूमिका बढ्न थाल्छ। त्यसैले तपाईंको बच्चाले मिडिया वा स्क्रिनको प्रयोग कहिले, कति समय र कुन प्रयोजनको लागि गरिरहेको छ र उसमा त्यसले के–कस्तो प्रभाव पारेको छ भन्ने सवाल महत्त्वपुर्ण छन्। अर्को जटिल सवाल भनेको उनीहरुलाई मिडियाको स्वस्थ र समुचित प्रयोग गराउनमा अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मी र समग्र समाज वा मिडियाको भूमिका के हुने भन्ने हो। मेरो विचारमा विकसित मुलुकहरुमा उत्कर्षमा रहेको यो विषयमा नेपाली समाजमा पनि बहस सुरु गर्नु जरुरी छ।

(बालरोग बिशेषज्ञ डा. दिनेश धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-प्राध्यापक हुन्l तपाईंलाइ आफ्नो बच्चाको स्वास्थ्य र स्याहार सम्बन्धी कुनै पनि जिज्ञाशा वा सबाल भएमा [email protected] इमेल मार्फत पठाउन सक्नु हुनेछ l)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.