मुग्लिन-नारायणगढ सडक बन्न कम्तीमा अझै एक वर्ष

'बाँदरको टाउको जस्तो छड्के गरी पहाड काटिएकाले पहिरोको जोखिम उच्च'


राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिने मुग्लिन-नारायणगढ सडक खण्डको कालिखोलामा असार ९ गते पहिरोले बाटो रोकियो। प्रहरी टोली पहिरो पन्छाउन त पुग्यो, तर उनीहरुलाई नै पहिरोले सडकबाट पन्छाइदियो। चार जना प्रहरी भ्यानसहित त्रिशूलीमा खसे। तीन जनाको शव फेला पर्‍यो। एक जना अझै हराइरहेका छन्।

त्यसयता यहाँ पहिरो आउने क्रम जारी छ, जसले बारम्बार सडक अवरुद्ध भइरहन्छ।

लामो समयदेखिको निर्माणाधीन अवस्थाले सहज आवागमन हुन नसकेको मुग्लिन-नारायणगढ खण्ड पछिल्लो समय पहिरोले थप समस्याग्रस्त बनेको हो। यहाँ पहिरोले थिचेर मान्छेको ज्यान लिनेसम्म जोखिम बढेको छ। चितवन जिल्ला प्रशासन कार्यालयले आइतबारबाट साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाए पनि यो स्थायी समाधान होइन। बरु यसले मान्छेको ओहोरदोहोर अझ प्रभावित हुने देखिन्छ।

यति हुँदा पनि छिट्टै निर्माण सकिने र जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यताबाट यात्रुहरुले कहिले मुक्ति पाउलान् टुंगो छैन।

विश्व बैंकको लगानीमा ‘एसियन हाइवेको स्ट्यान्डर्ड टू’ अनुसार स्तरोन्नति हुनुपर्ने ३६ किलोमिटरको यो सडक निर्धारित समयभन्दा पर सरिसकेको छ। ठेक्का सम्झौतामा गत वैशाखभित्रै निर्माण सक्ने भनिएको थियो। अहिलेसम्म ५० प्रतिशत काम पनि पूरा भएको छैन। ठेकेदारहरुले सडक विभागबाट मंसिरसम्मको म्याद पाएका छन्। तर, उनीहरु अझै कम्तीमा एक वर्ष लाग्ने बताउँछन्।

समयमै निर्माण नसकिनुमा सरकारी पक्ष र ठेकेदारहरु एकअर्कालाई दोष देखाउँछन्।

ठेकेदारको लापरबाहीले निर्माण ढिला भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको भनाइ छ। ‘स्ट्रक्चरको काम नै अझै सकेका छैनन्,’ भट्टले भने, ‘तीन सय मिटर कटिङ बाँकी छ भन्छन्। गत वर्ष पनि त्यही भनेका थिए।’

उनले सडक निर्माणमा संलग्न तीनवटा ठेकेदार कम्पनीको कामप्रति असन्तुष्टि व्यक्त गरे। सडकको भित्ता काट्दा छड्के काट्नुपर्ने भए पनि सिधा र अझ कोप्रो पर्ने गरी काटेकोमा उनले आपत्ति जनाए। ‘बाँदरको टाउकोजस्तो कटिङ छ,’ उनले भने, ‘त्यसले नै २९ ठाउँमा पहिरो जाने खतरा छ।’

ठेकेदारहरु भने आफ्नो कारणले ढिला भएको मान्न तयार छैनन्।

ओडी लामा ज्वाइन्ट भेन्चर कम्पनीका प्रकाश लामा निर्माण ढिला हुनुमा केही प्राविधिक र व्यवहारिक समस्या औंल्याउँछन्। ‘यहाँबाट १८० वटा बिजुलीका खम्बा सार्नुपर्ने थियो। त्यसका लागि विद्युत प्राधिकरणको खातामा पैसा हालिदिएको ६ महिनापछि बल्ल सार्न सुरु गरियो,’ उनले भने, ‘अझै सातवटा खम्बा सार्न बाँकी छन्।’

दुई वर्षअघिको भुइँचालो र भारतीय नाकाबन्दीका कारण उत्पन्न पेट्रोलियम अभावलाई पनि उनी निर्माण ढिला हुनुका कारण देखाउँछन्।
‘हामीले पाएको ठेक्कामा पहाड काट्ने काम पनि छ, तर पहिरो रोकथामका लागि बजेट छैन। सडकमा लगातार गाडी गुडाउनुपर्ने अवस्थाले दिनको ६ घन्टा मात्र काम गर्न पाइएको छ। अनि कसरी हुन्छ समयमा काम?’ लामाले भने।

सडक निर्माणको ठेक्का पाएको अर्को कम्पनीका प्रतिनिधि प्रभु जोशी कालोपत्रे गर्ने सामग्री अभावले वर्षामा काम रोकिएको बताउँछन्। अर्का ठेकेदार शिशिर कन्दवाले भने लगातार पहिरो झरिरहेकाले काममा अवरोध आएको सुनाए।

यी तीनै जना ठेकेदारलाई निर्माण सकिन अब कति समय लाग्छ त भन्ने प्रश्न गर्दा एउटै उत्तर थियो- ‘कम्तीमा एक वर्ष अगाडि हुन्न।’

चौबीसै घन्टा यात्रुवाहक तथा मालवाहक सवारीको लर्को लाग्ने यो सडक खण्डलाई ९ देखि बढीमा १५ मिटर फराकिलो बनाउने गरी स्तरोन्नति थालिएको हो। यसका लागि पहाडका भित्ता काटिएका छन्। पटक-पटक काटिएको भित्तामा अलिकति पानी पर्नेबित्तिकै पहिरो जाने समस्या छ। भित्ता काट्दा छड्के नकाटिएकाले नै पहिरोको समस्या आएको प्राविधिकहरु बताउँछन्।

असार १३ गते अनुगमनमा गएका सांसद प्रकाश पौडेलले यही कुरा उठाए। भने, ‘भित्तामा स्लोप कटिङ भएको छैन। यसले त भविष्यमा पनि पहिरोको जोखिम रहिरहन्छ।’

एकातिर मुग्लिन-नारायणगढ सडकको यस्तो दुर्दशा छ, निर्माण सकिन अझै एक वर्ष लाग्ने निश्चित छ, अर्कातिर सवारी आवागमन खुलाउन वैकल्पिक सडकको व्यवस्था पनि भएको छैन।

मुग्लिन-नारायणगढ सडकको ठिक पारिपट्टि वैकल्पिक बाटो बनाउने योजना सडक विभागले रोकेको थियो।

विभागका महानिर्देशक गोपाल सिग्देल भने खोलापारि सडक बनाउने प्रस्ताव विश्व बैंकले नै अस्वीकार गरेको बताउँछन्। ‘२० करोड लागत लाग्ने देखिएको थियो,’ उनले वैकल्पिक बाटो नबन्नुको कारण खुलाए, ‘विश्व बैंकले बरु पहिरो पन्छाउन इक्युम्पेन्ट राख्न मान्यो, तर पारि सडक बनाउन खर्च गर्न मानेन।’

पहिरो छेक्ने गरी किन सडक बनाइएन भन्ने प्रश्नमा पनि उनी सहज जवाफ दिन्छन्।

‘कति यात्रु हिँड्छन्, कति सवारी गुड्छन्, लगानीको प्रतिफल कति हुन्छ, त्यसको आधारमा विश्व बैंकले सडकमा लगानी गर्छ,’ उनले भने, ‘हामी बजेटअनुसार निर्माण गर्दैछौं।’ यो सडक खण्डमा विश्व बैंकले २ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ।

पहाड छड्के गरी काट्दा लगातार पहिरो खस्ने समस्यालाई उनले स्वाभाविक बताए। ‘यहाँ माथिबाट पहिरो खस्ने समस्या भइरहन्छ, त्यस्तोमा पहिरो पन्छाउनु र सडक खुलाउनुको विकल्प छैन,’ उनले भने, ‘केही वर्ष यो क्रम चलिरहन्छ।’

सडक निर्माणसँगसँगै यहाँ पुलको काम पनि सिंगै बाँकी छ। ३६ किलोमिटर सडकमा १८ वटा पुल बन्नुपर्नेछ। तीमध्ये एउटैको ठेक्का लागेको छैन। यसबारे चितवनका प्रमुख जिल्ला अधिकारी भट्ट सडक विभागलाई नै प्रश्न सोध्छन्, ‘कहिले निर्माण गरेर सकिन्छ सडक? यात्रुलाई घन्टौं छेकेका छौं, सवारी रोकेका छौं, यसरी कति दिन चलाउने?’

मुग्लिन-नारायणगढ सडक आयोजना प्रमुख सञ्जय गौतम भने वर्षको जम्मा तीन महिना काम हुने अवस्थामा ५० प्रतिशत प्रगति राम्रै भएको दाबी गर्छन्।पुल निर्माणतर्फ चारवटाको ठेक्का दिन लागेको र बेली-ब्रिज राख्न स्विस डिजाइनरसँग मिलेर काम भइरहेको उनले जानकारी दिए।

यसबीच संसदको विकास समितिले यात्रुलाई असुविधा नहोस् भनेर दिउँसो सवारी चलाउन र राति पहिरोको जोखिम नभएका ठाउँमा सडक बनाउन सुझाव दिएको छ। ठेकेदारहरु भने यसमा तयार देखिँदैनन्।

समितिका सभापति रविन्द्र अधिकारी सडक निर्माणमा ठेकेदारहरुले जिम्मेवारी पूरा नगरेको बताउँछन्। दैनिक सात-आठ हजार गाडी गुड्ने यस्तो महत्वपूर्ण सडक व्यवस्थापनमा यति ढिलाइ हुनु चिन्ताको विषय भएको उनको भनाइ छ।

‘दैनिक ८ हजार गाडी गुड्ने ठाउँमा अहिले २ हजार मात्र गुड्छन्, कतै यो सडक नै बिरानो हुने हो कि भन्ने चिन्ता छ,’ मुग्लिन-नारायणगढ सडक खण्डका रेजिडेन्ट इन्जिनियर पुष्कर रेग्मीले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.