आगलागीमा गाई सखाप भएपछि खाडी जाने तयारी


हामी जे कामलाई दुःख सोच्छौं, त्यो कसैका लागि दुःख नभई दैनिकी हुनसक्छ। कहिलेकाहीँ भने परिस्थितिले यस्तो हलचल ल्याइदिन्छ, त्यो काम साँच्चैको दुःख बन्न जान्छ, त्यसैमा रमाइरहनेहरुका लागि पनि।

यस्तो तब हुन्छ, जब सपनामा ठेस लाग्छ।

शान्तप्रसाद धमलाको सपनामा पनि यस्तै ठेस लाग्यो। एकपल्ट होइन, कयौंपल्ट। सुइँकोसम्म नदिई आएका त्यस्ता हलचलले बीस वर्ष पनि नकटेको उनको मुटुमा थुप्रैचोटि तीर रोपेर गए।

पछिल्लो विपद त दुई साताअघिकै मात्र हो, जब उनी काम गर्ने ठाउँमा आगो लाग्यो।

सुन्दरीजलस्थित बाबुराम कार्कीको गाई फार्ममा काम गर्थे शान्तप्रसाद। दुई साताअघिको शनिबार दिउँसो साढे ११ बजे एक्कासि त्यहाँ आगो लाग्यो। बिजुली सर्ट भएर लागेको आगोमा परेर एकैछिनमा ५० भन्दा बढी गाई ठाउँको ठाउँ जले।

तीन वर्षदेखि गाईको हेरचाह गर्दै आएका शान्तप्रसाद सुन्दरीजलका ती गाईसँग एक वर्षदेखि सँगै थिए। कुनै समय आफैं गाई फार्मको मालिक भइसकेकाले गाईको स्वभाव उनलाई थाहा थियो। त्यसैले पनि बाबुरामको गाई फार्ममा शान्तप्रसादको भूमिका अलि बढ्तै थियो। उनी अह्रनखटन गर्थे। एक सय २० भन्दा बढी गाईको रेखदेख गर्थे। गाईको समस्या पहिचान गर्थे। सानोतिनो उपचार आफैं गर्थे।

त्यसैले त हो, शान्तप्रसादलाई फार्मका सबै कामदार ‘कान्छो साहु’ भन्ने गर्थे।

हरेक दिन बिहान ३ बजे उठेर राति १० बजेसम्म भकारो सोहोर्ने, दुहुने, दूध ढुवानी गर्ने, दाना–पानी दिने लगायत काम निकै गाह्रो हो। अझ गाई ब्याउँदा त सुत्केरी स्याहार्न झनै गाह्रो हुन्थ्यो। त्यस्तो बेला शान्तराम र अर्का एक कामदार गोठमै सुत्थे। गोठमै उनको लुगाफाटा थियो। मोबाइल थियो। आगोमा ती सबै जले।

‘काम जति गाह्रो भए पनि म रमाइरहेको थिएँ,’ दिनमा १९/२० घन्टासम्म काम गर्ने शान्तप्रसाद भन्छन्, ‘अबचाहिँ गाई पाल्ने काम मलाई साँच्चिकै दुःख लागेको छ। आफैं मालिक हुँदा पनि फापेन। अरुको काम गर्दा पनि फापेन। आफ्नै आँखाअगाडि त्यत्रा गाई मरे। हामी गोठ छिर्दा ती गाईहरु खुब रमाउँथे। ती गाई जल्दा पटपट आवाज आएको नजिकैबाट सुनेँ। लास पोलिरहेको जस्तो गन्धले नाकै पर्यायो। अहिले त गोठै डढेर कालो भएको छ। मसानघाटजस्तै लाग्छ।’

यो फार्मबाटै काठमाडौंमा घर बनाउने सपनाधरि देखिसकेका थिए शान्तप्रसादले। पुससम्म जग्गा किन्ने र सानो टहरो बनाएर गाउँमा रहेकी आमालाई यतै ल्याउने उनको योजना थियो। गोठ जलेपछि ती सपना टुक्रिए। अहिले लुगा जलेपछि आमाले पठाइदिएका लुगा लगाउनुपरेको छ।

बाबुराम कार्कीको फार्ममा उनी मात्र होइन, उनका माइला भाइ पनि काम गर्थे। खानेबस्ने निःशुल्क बन्दोबस्त भएको फार्मबाट दुई भाइले महिनामा चालीस हजार कमाउँथे। बेला–बेला घरखर्चबाहेक अरु पैसा लिएका पनि थिएनन्।

काममा लगनशील र गाईको सम्पूर्ण स्वभाव जानेकाले बाबुरामले शान्तप्रसादसँग एउटा सम्झौता गरेका थिए – तीन वर्षसम्म काम गर्नुपर्ने। एक वर्षसम्म काम गरेपछि जग्गा किनिदिने र बाँकी दुई वर्षमा तलबबाटै पैसा कटाउने।

यही सम्झौताअनुसार पुससम्म बाबुरामले जग्गा किनिदिने वचन पनि दिइसकेका थिए।

उनको सपना लगभग पूरा हुनेवाला थियो। तर, सपनाको उडानमा रहेका उनका आँखा आगोको कालो मुस्लोले ढाकिदियो।

अहिले फार्म सञ्चालक बाबुराम फेरि गाई पाल्ने योजना गरिरहेका छन्। शान्तप्रसाद भने सधैंका लागि गाई फार्मको काम छाडेर विदेशिने मनस्थितिमा पुगेका छन्।

‘अब गाई फार्ममा काम गर्दिन,’ उनले भने, ‘मलेसिया जानु राम्रो छैन भन्ने सुनेको छु। कतार, दुबईमध्ये कुनै खाडी देश जानुपर्ला। सीप सिक्ने काम भए जति तलब पाए पनि काम गर्छु।’

पहिले आफैं गाई पाल्दा घाटा लागेको ऋण उनले अझै तिर्न सकेका छैनन्। बाबुको उपचार र किरिया खर्चको ऋण तिर्ने जिम्मेवारी उनकै थाप्लोमा छ।

शान्तरामको जिन्दगी खोतल्ने हो सुखभन्दा यस्तै दु:खकै कथा बढ्ता भेटिन्छन्।

‘भोजपुरमा हाम्रो गाउँभन्दा तल मेला लाग्थ्यो,’ ८ वर्षको उमेरमै भरिया बनेका उनी बाल्यकालका स्मृति उधिन्न थाले, ‘म आठ वर्ष छँदैदेखि बुवाको पछि लागेर जंगलमा दाउर बोक्न जान्थेँ। त्यो पनि अरुको। दुई घन्टा लामो बाटो पार गरेर दाउरा पुर्याउँदा मैले ५/१० रुपैयाँ पाउँथेँ।’

केही वर्षमै उनले काठ बोक्न थाले। काठ बोक्दा २० रुपैयाँ पाउँथे। हरेक मंगलबार र शुक्रबार मेला लाग्ने भएकाले उनले ती दिनमा विरलै स्कुल टेकेका छन्। दाउरा बोक्दा आएको पैसाले उनी चप्पल, ड्रेस, कापीकलम किन्थे। मिठाई खान्थे। यी सबै आफ्नै बुताले किन्न सकेकोमा उनलाई ठूलै काम गरेको भान हुन्थ्यो।

अरुको नजरमा दुःखजिलो भए पनि शान्तप्रसालको परिवार जेनतेन चलेकै थियो।

तर, १३ वर्षकै उमेरमा उनको थाप्लोमा ठूलो बज्र पर्यो।

उनको खेत त थियो, तर बर्खेझरी कुनुपर्ने। त्यो पनि तीन/चार घन्टाको दुरीमा। खेत रोप्दा उतै छाप्रो हालेर बस्नुपर्थ्यो। एकदिन उनका बाबु खेत रोप्न गए। नौ/दस दिनमा खेत रोपिवरी बिहान भात खाने समय घर फर्किए। बाबु फर्किंदा बारीमा धमाधम कोदो रोप्न थालिसकेको थियो। थाकेका बाबुले त्यो दिन कोदोको बीउ काढ्ने हलुका काम गरे। शान्तप्रसाद कोदाली चलाउन थाले।

त्यस्तै एक बजेको हुँदो हो। टन्टलापुर घाम चर्किरहेको बेला बारी खनिरहेका शान्तप्रसादलाई एक्कासि भाउन्न छुट्यो। आँखामा बारी घट्टझैं नाच्न थाल्यो। शान्तप्रसाद त्यहीँ ढले। बान्ता गरे। बाबुले उनको कोदाली समातेर घर पठाए। शान्तप्रसाद घर पुग्नै के आँटेका थिए, दुई/तीन कान्लामुनि बारीको पाटामा बेहोस भएर ढले। साँझ आमाबाबु आइपुग्दासम्म उनी बेहोस थिए। घरमा लगेर पानीपट्टी लगाए। रातितिर होस आयो। तर, के भइरहेछ केही होस थिएन। खाली बर्बराउँथे मात्र।

उनी बिहानसम्म यस्तै अर्धहोसको अवस्थामा रहे। उनलाई अलिअलि मात्र याद छ, त्यो रात आफूसँगै उनका बाबु पनि सिकिस्त बिरामी परेछन्। गाउँलेहरुले दुवैलाई एकैचोटि स्ट्रेचरमा चढाएर सदरमुकाम अस्पताल पुर्याए। खाली बर्बराउने मात्र गरिरहेका शान्तप्रसादलाई बाबुलाई के भएको सोध्ने होससम्म थिएन। करिब एक घन्टाको बाटो कटेपछि उनले सुने, ‘छोरालाई लैजाओ, बाऊलाई हामी सम्हाल्छौं।’

नौ दिनमा शान्तप्रसादको होस खुल्यो। त्यहाँ बाबु थिएनन्। काकालाई सोधे। काकाले बाबु घरमै रहेको बताए। त्यही बेला अर्काले कानमा खुसखुस गरे, ‘अब बुवा खोई नभन्नु है।’

बल्ल उनले थाहा पाए, उनका बाबुको बीच बाटोमै प्राण गएछ।

बाबुको मृत्यु के गरी भयो र आफूलाई के रोग लागेको थियो भन्ने उनलाई अहिले पनि थाहा छैन।

त्यो घटनापछि शान्तप्रसादको काँधमा परिवारको बोझ थपियो। दुइटा भाइ सानै थिए। एक्लै भारी बोकेर परिवारको गुजारा चलाउन गाह्रो पर्यो। त्यसमाथि आफू र बाबु बिरामी हुँदाको ऋण थपिएको थियो।

‘घरमा पैसा ले भन्दै छिमेकीहरु आइरहन्थे,’ उनी सम्झन्छन्, ‘आमा रुँदै भन्नुहुन्थ्यो, छोराहरु हुर्किंदैछन्, एसएलसी सकिनेबित्तिकै कमाएर तिरिहाल्छन् नि। त्यसपछि मलाई लाग्यो, त्यो ऋण तिर्ने म नै त हुँ नि। यस्तो पीरले मेरो एसएलसी पनि बिग्रियो। म काठमाडौं हान्निएँ। यहाँ आउँदा लागेको थियो, के–के न गर्छु। ऋण तिर्छु। आमालाई कहिल्यै रुवाउँदिन। केही समय त सोचेजस्तै भयो, त्यसपछि फेरि के भयो के।’

काठमाडौंमा उनले एउटा किराना पसलमा काम पाए। खानेबस्ने बन्दोबस्तसहित महिनाको ३५ सय पाउँथे। पसलका साहुजी उनलाई खुब माया गर्थे। साहुजीका बाबु र उनको नाम एउटै भएकाले तँ कहिल्यै भनेनन्। गाली पनि गरेनन्। उनले काम चाँडै सिके। पसलको व्यापार बढ्यो। कामबाट प्रभावित भएर मालिकले दसैंमा उनको परिवारका सबैलाई लुगाफाटा किनिदिएको र चार महिनामै दसैं बोनस दिएको उनी सम्झन्छन्।

उनी खुसीसाथ दसैं मनाउन घर फर्किए। तर, फेरि काममा फर्किएनन्।

‘खै किन हो, काठमाडौं जानै मन लागेन,’ उनले सुनाए।

काम त छाडे, तर काठमाडौंको नशाले छाडेन। गाउँमा दुई/तीन महिनाभन्दा बढी टिक्न सकेनन्। उनी फेरि काठमाडौं आए। गाउँकै एक चिनजानका काकाको माध्यमबाट भक्तपुरको गाई फार्ममा काम पाए। तलब थियो, १० हजार। खानेबस्ने बन्दोबस्तसहित। उनको मेहनत गाईफार्ममा पनि देखियो। चाँडै गाईको स्वभावसँग उनी परिचित हुँदै गए।

त्यही फार्मममा एक व्यक्ति आउजाउ गरिरहन्थे। शान्तप्रसादको कामको प्रशंसा गर्थे। दुई/तीन महिनाको भेटमा एक दिन ती व्यक्तिले उनलाई प्रस्ताव गरे, ‘तिमी यति मेहनती छौ, मालिकले भन्दा राम्रो काम गर्छौ। म लगानी गरिदिउँला। तिमी आफैं मालिक बन।’

मालिक बनिएला भन्ने कहिल्यै नसोचेका शान्तप्रसाद जोशिए। तुरुन्तै मन्जुरी जनाए। ती व्यक्तिले पैसा त दिएनन्, तीनवटा गाई दिए। उनैले फार्म पनि खोजिदिए। व्यवहार गर्दै जाँदा पो शान्तप्रसादले चाल पाए, ती व्यक्तिले त आफैं मालिक बन्न उनलाई फसाएका रहेछन्।

‘त्यो मान्छे मनलाग्दी गाई ल्याउँथे, मलाई नै नसोधी थलामा बाँधेर कता कता जान्थे,’ उनी भन्छन्, ‘दूध नदिने भएर सस्तोमा उठाएका गाई रहेछन्। ती गाई दुब्ला हुन्थे। तीन/चार लिटर पनि दूध दिँदैनथे। दानापानीको पैसा पनि दिन्थेनन्।’

त्यसपछि उनी आफैंले तीनवटा गाई किस्ताबन्दीमा किने। घरबाट भाइलाई बोलाए। दुई भाइले ६ वटा गाई स्याहार्न थाले। नाफा नभए पनि घाटा थिएन। अलिअलि फाइदा हुनेबित्तिकै थप गाई किन्ने सोच बनाइसकेका थिए।

उनको जिन्दगीलाई सायद यत्ति सुख पनि मञ्जुर थिएन।

खोलाछेउमा रहेको उनको गाई फार्ममा बाढी पस्यो। फार्म सारे। यति हुँदा पनि मालिक बनाइदिने खास मालिकको व्यवहार फेरिएन। आफैं हैकम जमाउन थाले। झन्डै उनले किनेका गाई पनि साटिदिएका थिए।

शान्तप्रसादलाई उठ्नै नसक्ने गरी घाटा लाग्दै गयो। उमेर पुगिसकेका गाईहरुबाट दूध कम हुँदै गयो। उधारोमा दाना किन्दै खुवाउँदै जाँदा उनी ऋणमा भास्सिँदै गए। उनलाई डेढ लाख त ऋण नै लाग्यो। दुई भाइको परिश्रमको मूल्य त हिसाबै भएन।

अन्ततः उनीहरुले फार्म छाड्ने निधो गरे।

फार्म राखेको ठाउँको भाडा नतिरेसम्म जग्गा मालिकले छाड्नेवाला थिएनन्। झन्डै असी हजार दानाको तिर्नु थियो। उनले पनि छाड्नेवाला थिएनन्। उनले आफूले थपेको गाई जोसँग लिएको हो, उसैलाई फर्काइदिए। पहिले मालिक बनाइदिने व्यक्तिलाई पनि फिर्ता गरिदिए। तर, उनले त पैसा पो मागेछन्।

दुई दाजुभाइ कतैबाट उम्किनसक्ने अवस्थामा थिएनन्।

एकदिन भक्तपुरको दूधपाटीमा काम गर्ने बाबुराम कार्कीलाई कसैले सुनाइदिएछ, ‘एउटा केटो ट्रयापमा परेको छ। दुवै दाजुभाइ खुबै मेहनती छन्। अझ दाजुलाई त गाईको बारेमा सबै कुरा थाहा छ।’

बाबुरामले शान्तप्रसादलाई भेटे। शान्तप्रसादले आफ्नो समस्या सुनाए। बाबुरामले फार्मको भाडा र दानाको थोरै पैसा तिरिदिने वचन दिए। र, भोलिपल्ट नै ४५ हजार दिए। त्यसपछि उनी गुन तिर्न बाबुरामको फार्ममा गए, भाइलाई लिएर।

लामो समय फार्मको अनुभव लिइसकेका शान्तप्रसाद दाजुभाइलाई कसैले काम सिकाइराख्नै पर्दैनथ्यो। केही समयमै उनीहरु १४ कर्मचारीमध्ये सबैभन्दा टाठाबाठामा गनिए।

‘कुन गाई कस्तो छ, कति दूध दिन्छजस्ता कुरा सोध्न आयो भने बाबुराम सर मलाई देखाएर भन्नुहुन्थ्यो, ऊ त्यो भाइलाई सबै थाहा छ,’ सुरुमा उत्साहित सुनिएका शान्तप्रसाद केही बेरमै दुःखी बने, ‘मलाई कतै सरसँग जानुछ भने घाँसपानी दिइरहेको बेला कुरेर सँगै लैजानुहुन्थ्यो। बिरामी गाईहरुको उपचार गर्न पनि सिकिरहेको थिएँ। तर, अब मेरा सबै सीप आगोमा जले।’

‘जिन्दगीमा जति भोगेँ दु:खै मात्र भोगेँ, सुख त यसो झिलिक्क झरीमा बिजुली चम्केजस्तो गरी आउँथ्यो, मिलिक्कै बिलाइहाल्थ्यो। जे गरे पनि भएन, जति गरे पनि भएन। तर हरेस खानु त भएन नि। त्यसैले सोच्दैछु, अब एकचोटि लास्ट ट्राई गर्छु। हातमा केही न केही सीप छ, अरु सीप पनि सिक्छु, विदेश जान्छु, उतै मेहनत गर्छु। हेरुँ भाग्यले साथ दियो भने यसपालि चाहिँ सुखको कथा बोकेर तपाईंलाई सुनाउन आउँला,’ छुट्टिने बेला रसिला आँखा मिच्दै यस्तै भनेका थिए, शान्तप्रसादले।

शान्तप्रसाद अचेल पासपोर्ट बनाउने धूनमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.