के युधिष्ठिर पहिलो नजरमै द्रौपदीप्रति कामासक्त भएका थिए

महाभारतका अमर पात्रहरू


महाभारत असाधारण चरित्रहरूको रंगमञ्च हो। भीष्म, द्रोण, कर्ण, भीम र अर्जुनजस्ता महावीरको गाथा हो। यस्ता नायकहरूको भीडमा युधिष्ठिर साधारण छन्। उनीसँग भीष्म, द्रोण, कर्ण वा अर्जुनजस्तो दिव्यास्त्र छैन। भीमसेनजस्तो शारीरिक बल छैन। उनलाई धर्मको छोराका रूपमा चिनाइएको छ। तर, यो धर्म भन्ने देवता को र कस्तो हो?

धर्मको पहिचान इन्द्र, सूर्य वा वायुजस्तो ठोस छैन। काका विदुर दासीपुत्र थिए। उनी पूर्वजन्ममा साक्षात् धर्मराज थिए रे। धर्मराजका रूपमा उनले मुनि माण्डव्यलाई निरपराधमा दण्डित गरे। माण्डव्यले अबोध बालक हुँदा एउटा पुतलीलाई सिन्कामा उनेछन्। धर्मराजको अन्धो कानुनले माण्डव्यलाई सुली चढायो। मुनिले उनलाई सराप दिए। र, यही सरापका कारण धर्मराज विदुर भएर धर्तीमा आए। यो प्रसंगलाई अँठ्याएर कतिपय टिप्पणीकारले विदुर नै युधिष्ठिरका खास पिता थिए कि भनेर तर्क गरेका छन्। महाभारतमा विदुर र युधिष्ठिरको सम्बन्ध हेर्दा त्यस्तै नै देखिन्छ।

महाभारतका चरित्रहरूको चित्रण र निर्वाहमा व्यासको कौशल अनुपम छ। कुन्तीका प्रत्येक छोरा आफ्नै किसिमका छन्। उनीहरूको स्वभावमा एकरुपता छ। स्वभावका अनुसार नै उनीहरूको व्यक्तित्व विकास हुन्छ। युधिष्ठिर युद्धका मौकामा बाहेक कतै अशिष्ट र अमर्यादित छैनन्। भीमबाट कहिल्यै भद्रताको आशा राख्न सकिँदैन।

युधिष्ठिर पाण्डवहरूमध्ये जेठा थिए। जेष्ठत्वबाहेक युधिष्ठिरको व्यक्तित्वमा पनि नेतृत्वको औचित्य थियो। बेलाबखत भीम जंगिन्थे, अर्जुन पनि एकदुर्ई खेप क्रूद्ध भएको उदाहरण छ। तर, समग्रमा युधिष्ठिरसँग कुनै पनि भाइले कहिल्यै राय बझाएनन्। द्रौपदीको चीरहरण प्रसंगमा युधिष्ठिरका भाइहरूको भ्रातृभक्तिको परीक्षा भएको छ। द्रौपदी पाँच भाइकी साझा पत्नी थिइन्। युधिष्ठिरले एक्लै द्रौपदीलाई दाउमा थाप्नु उचित भएन कि भनेर द्युतसभामा कुरा उठेको थियो। तर, भाइहरूले एक स्वरमा भने– ‘दाजु युधिष्ठिरले जे गरे, जस्तो गरे त्यसमा हाम्रो समर्थन छ।’

यस्तो विकट संकटमा पनि युधिष्ठिरको नेतृत्व मान्य रह्यो।

दिग्विजयी सम्राटका रूपमा महाराज पाण्डु हस्तिनापुरमा राज गर्दै थिए। अन्धा दाजु धृतराष्ट्रलाई हस्तिनापुरको नासो सुम्पिएर उनी हठात् जंगल गए। त्यसरी उनी जंगल किन जानुपर्यो, त्यसको कुनै स्पष्टीकरण छैन। उनका पाँचवटै छोरा जंगलमा जन्मिए, त्यतै हुर्किए। यस युगमा दिल्ली, बोस्टन र सिकागोमा आफ्ना छोराछोरी पढाउन दत्तचित भएर कुरेर बसेका कतिपय मातापिता मैले देखेको छु। त्यस युगमा विश्वविद्यालय भन्नु जंगलका आश्रम थिए। पाण्डु, कुन्ती र माद्रीले त्यस्तै पो गरेका थिए कि? पाण्डु सन्तानोत्पत्तिको निमित्त असमर्थ थिए। यही तथ्य लुकाउन पाण्डु परिवार जगंलतिर लागेका हुन सक्छन्। महाभारतमा कुन्ती र माद्रीको आग्रहमा राजा जंगल गए भनिएको छ।

कुन्तीमा ऋषिमुनिप्रति आकर्षण देखिन्छ। बाल्यकालमै उनले ऋषि दुरवासाको संगत पाएकी थिइन्। त्यसै संगतका कृपाले उनी इच्छानुसार माता बन्ने सामथ्र्य राख्थिन्। पाण्डुसँगको सल्लाहपछि कुन्तीले दुरवासाको मन्त्र उपयोग गरेर एकपछि अर्को छोरो पाइन्। युधिष्ठिर जेठा छोरा थिए। त्यसपछि भीम र अर्जुन भए। कुन्तीका सहायताले माद्रीका पनि दुई छोरा भए। पाण्डुका जम्माजम्मी पाँच छोरा भए।

जंगलमै पाण्डुको देहान्त भयो। माद्री सती गइन्। पाँच छोरा लिएर कुन्ती हस्तिनापुर फर्किन्। युधिष्ठिर भर्खर १६ वर्ष टेकेका थिए। त्यतिञ्जेल भीष्म हस्तिनापुरका शक्तिशाली अभिभावक थिए। विदुर मन्त्री थिए। भीष्म र विदुरले पाण्डवको सहर्ष स्वागत गरे। जन्मान्ध धृतराष्ट्रले केही गर्नसक्ने कुरो थिएन। पाण्डवको प्रारम्भिक शिक्षा–दीक्षा ऋषिमुनिहरूको संरक्षणमा भएको थियो। अब भीष्मले राजकुमारका रूपमा उनीहरूको प्रशिक्षणको चाँजो मिलाए। ज्वाइँ–जेठान द्रोणाचार्य र कृपाचार्य पाण्डव र कौरवका साझा गुरु भए। कौरवहरूमा खास गरेर दुर्योधन बाल्यकालदेखि इष्र्यालु र दुर्विनीत थिए। पाण्डव नआउँदासम्म हस्तिनापुरमा कौरवको रजगज थियो। अब उनका रजगजका प्रतिस्पर्धीका रूपमा पाण्डव आए। दुर्योधनका निमित्त यो स्थिति असह्य थियो।

युधिष्ठिर बाल्यकालदेखि नै सरल, सज्जन र धर्मभीरु थिए। उनको शस्त्रास्त्रमा योग्यता थिएन। भाइ भीम गदा–युद्धमा सिपालु थिए। धनुर्विद्यामा अर्जुन बेजोड भए। कौरवहरू पनि युद्ध–कलामा रुचि राख्थे। बोली–वचन र नीतिज्ञ भएका कारण युधिष्ठिर भावी राजाका रूपमा चर्चित थिए। भीम र अर्जुनको पराक्रमले युधिष्ठिरलाई धृतराष्ट्रको उत्तराधिकारीका रूपमा बल पु¥याएको थियो। परिस्थितिको दबाबमा धृतराष्ट्रले युधिष्ठिरलाई युवराजको पद पनि दिनुपर्यो। तर, उनी आफ्ना छोरा दुर्योधनलाई राजाका रूपमा हेर्न चाहन्थे।

दुर्योधनको नेतृत्वमा पाण्डवको हत्या गर्ने षड्यन्त्रबाट आदिपर्व प्रारम्भ हुन्छ। यस षड्यन्त्रका क्रममा तत्कालीन राजनीतिक सत्ता–संघर्षको फोहोर चरित्र देखिन्छ। आज पनि राजनीति धेरै फरक त कहाँ छ र? धृतराष्ट्र देखावटी रूपमा पाण्डवप्रति दयालु छन्। तर, उनी सतत् पाण्डवहरूको विनाश चाहन्छन्। धृतराष्ट्रको यो दोहोरो व्यवहार महाभारतको मूलाधार हो। धृतराष्ट्र समेतको सहमतिबाट दुर्योधनले पाण्डवलाई मार्ने योजना बनाउँछन्।

हस्तिनापुरको छेउछाउमा वारणावर्त भन्ने एक रमाइलो सहर थियो। दुर्योधनले आफ्ना सेवक पुरोचनलाई लगाएर त्यहाँ एक ज्वलनशील घर बनाउन लगाएका थिए। त्यसै घरमा पाण्डवलाई बास बसाएर मार्ने योजना बन्यो। जान त पाण्डव गए। कुन्ती पनि गइन्। वारणावर्तको लाक्षागृह भनिएको त्यस घरमा एक रात आगो पनि लाग्यो। तर, पाण्डव मरेनन्। उम्किए। उनीहरूलाई यसरी उम्काउनमा विदुरको हात थियो।

विदुरले कौरवहरूको षड्यन्त्रको जानकारी बेलैमा पाएका थिए। विदुरले पाण्डवलाई वारणावर्त जानबाट रोक्न सकेनन्। तर, युधिष्ठिरलाई कूट भाषामा वारणावर्तको घरको रहस्य बताए। युधिष्ठिर र विदुरको सम्भाषणमा प्रयोग भएको कूट श्लोक युधिष्ठिरबाहेक कसैले बुझेन। विदुर अचम्म भाषा बोल्छन्– ‘‘…प्राज्ञं प्राज्ञः प्रलापज्ञः प्रलापज्ञं वचोब्रवीत्।’’ यस प्रसंगले पहिलोपटक विदुर र युधिष्ठिरको घनिष्ट सम्बन्धको परिचय दिन्छ। मर्दा पनि विदुर युधिष्ठिरमा समाहित भए भनेर व्यासले लेखेका छन्। विदुरले नै त्यस घरबाट बाहिर निस्कने सुरुङ खनाइदिएका थिए। वारणावर्तको लाक्षागृहको त्यो अग्निकाण्डमा पाण्डव नै हुन् कि जस्ता डढेका लाश भेटिए। पाण्डव मरेकै ठहर भयो। पाण्डवका निम्ति वारणार्वतको अग्निकाण्ड इष्टापत्ती भयो। लाक्षागृहबाट उम्किएर पाण्डव केही दिन लुकेर बसे।

लुकेकै अवस्थामा उनीहरू घुम्दै–फिर्दै पाञ्चाल पुगे। पाञ्चाल हस्तिनापुरकै समतुल्य तर प्रतिद्वन्दी अर्को राज्य थियो। त्यहाँका राजा द्रुपद थिए। राजा द्रुपदकी छोरी द्रौपदी सुन्दरी र विदुषीसमेत थिइन्। राजा द्रुपदले उनको स्वयम्वरको घोषणा गरेका थिए। व्यासबाट जानकारी पाएर पाण्डव त्यहाँ पुगे। धुरन्धर धनुर्धर अर्जुनले स्वयम्वरको शर्त पूरा गरे। तद्नुरुप अर्जुनले द्रौपदीलाई जिते। अर्जुनले द्रौपदीलाई निजी पराक्रमबाट जितेर ल्याए। द्रौपदीका उपर खासमा उनको हक लाग्थ्यो। तर, जेठादाजुको विवाह नै नभई आफूले कसरी द्रौपदीको पाणीग्रहण गर्ने भन्ने अर्जुनले संकोच व्यक्त गरे। फलस्वरुप द्रौपदीलाई कसले विवाह गर्ने भन्ने कुरो पारिवारिक सल्लाहको विषय भयो। विजयी अर्जुन भन्छन्, ‘दाजु युधिष्ठिरले जे भन्नुहुन्छ, त्यही गरौं।’

अर्जुन र अन्य भाइको समर्थनमा युधिष्ठिरले निर्णय दिन्छन्, ‘त्यसो भए द्रौपदी हाम्रो साझा पत्नी बन्नेछिन्।’ द्रौपदीलाई पाँच भाइले ‘वस्तु’ का रूपमा ग्रहण गरेका थिए। युधिष्ठिरले न्यायोचित ढंगले त्यस ‘वस्तु’ को भागबन्डा गरे।

भनिएको छ, पाँचै पाण्डव द्रौपदीलाई देख्नासाथ कामासक्त भएका थिए। त्यसमाथि आमा कुन्तीले द्रौपदीलाई नदेख्दैमा ‘ल्याएको वस्तु’ आपसमा बाँड्नु भनेकी थिइन। यसरी द्रौपदी साझा पत्नी भइन्। माताको वचनको पालना भयो। पाँचै दाजुभाइले द्रौपदी पाए।

द्रौपदीको स्वयम्वरका सिलसिलामा पाण्डवहरूको कृष्णसँग समेत भेट भयो। कृष्ण त्यतिञ्जेलसम्म शक्तिशाली राजनेताका रूपमा प्रतिष्ठित भइसकेका थिए। कुन्ती कृष्णकी फुपू थिइन्। मथुरामा आफू बलियो भएपछि भदा कृष्णले फुपूको खोजिनीति गर्न थालेका थिए। पाण्डवको पराक्रमको सुयश उनका समिप पुगिसकेको थियो। उनी पाण्डवसँग मिलेर राजनीतिक सहकार्य गर्न चाहन्थे। द्रौपदीको स्वयम्वरले त्यो सहज बनायो। विवाहपछि पाञ्चाल र यदुवंशी पाण्डवका सशक्त सहायक भए। पाण्डव रातोरात शक्तिशाली भए।

हस्तिनापुरले दोस्रोपटक पाण्डवको स्वागत गर्यो। पहिलोपटक वनवासबाट टुहुरा पाण्डव फर्केका थिए। पाञ्चाल र यदुवंशीसँगको सम्बन्धपछि पाण्डव राजनीतिक दृष्टिले शक्तिशाली भएका थिए। भीष्मको सल्लाहमा पाण्डवलाई खाण्डवप्रस्थको राज्य प्रदान गरियो। पाण्डवले आफ्नो पराक्रमले खाण्डवप्रस्थलाई इन्द्रप्रस्थ बनाए। युधिष्ठिर महाराज भए। द्रौपदी महारानी भइन्। पाण्डवले इन्द्रप्रस्थमा केही वर्ष गौरवशाली शासन गरे। मनज्ञ शक्ति र सम्पत्ति जोडे। पाण्डवले राजसूय यज्ञको आयोजना गरे। राजसूय यज्ञमा पाण्डवको ऐश्वर्य देखेर दुर्योधन डाहले भुतुक्कै भए।

राजसुय यज्ञमा पाण्डवले दुर्योधनको गर्नसम्म अपमान गरेका थिए। मय दानवले पाण्डवको दरबार बनाएका थिए। त्यस दरबारमा जलमा थल र थलमा जल देखिन्थ्यो। दुर्योधन कतै ठोक्किए, कतै चिप्लिए। भनिन्छ, द्रौपदीले दुर्योधनलाई ‘अन्धो बाऊको छोरो, किन नलडोस् त’ भनिन्। भीमसेनले थपे। अरूहरू पनि हाँसे। युधिष्ठिर त्यस दृश्यमा देखिँदैनन्।

युधिष्ठिर जुवाडे थिए। शकुनी र दुर्योधनले यो कुरा बुझेका थिए। महाराज धृतराष्ट्रलाई प्रयोग गरेर उनीहरूले युधिष्ठिरलाई जुवाका निमित्त आमन्त्रित गरे। युधिष्ठिर सहर्ष खेल्न बसे। युधिष्ठिरले जुवामा हार्दै गए। सम्पत्ति सिधिएपछि भाइहरूलाई समेत थापे। त्यसपछि द्रौपदीलाई पनि थापे। द्रौपदीलाई पनि हारे। द्रौपदीको प्रत्युत्पन्नमति र आँटले युधिष्ठिर दासत्वबाट मुक्त भएका थिए। त्यसपछि पनि चेतेनन्। दोस्रोपटक जुवा खेल्न बसे। अनि १२ वर्षको वनवास र एकवर्षको गुप्तवासका निमित्त बाँधिए।

सभापर्वमा द्रौपदीको दासत्वका विषयमा विवाद उठेको छ। द्रौपदी स्वयम्ले त्यो विवाद उठाएकी छन्। बृहस्पति, वशिष्ठ र शुक्राचार्यका शिष्यका रूपमा विख्यात भीष्मले द्रौपदीको प्रश्नको ठीक उत्तर दिन सकेनन्। द्रौपदीको प्रश्न छ– ‘युधिष्ठिरले मलाई कुन चरणमा हारे? उनी आफैं दास वा कमारो भइसकेपछि उनले मलाई जुवा थाप्नु कहाँसम्म उचित थियो?’

भीष्मले द्रौपदीको चित्त बुझाउन सकेनन्। भीष्म भन्छन्– ‘धर्मको तत्व बडो सूक्ष्म छ, धर्मराज युधिष्ठिरलाई नै तिमी यो प्रश्न सोध। धर्मराज भएका नाताले उनले यस प्रश्नको मर्म बुझेको हुनुपर्छ।’

युधिष्ठिरका सधैंका शत्रु दुर्योधन र अन्य कौरवसमेतले भीष्मको यस प्रस्तावको समर्थन गर्छन्। सबैले एक स्वरमा भन्छन्– ‘ल युधिष्ठिरले जे भन्छन् त्यही मान्ने। युधिष्ठिरले द्रौपदीलाई हारेको छैन भन्छन् भने तिमी हारिएकी छैनौ।’

यहाँ युधिष्ठिर बोल्दैनन्। बोल्न सक्दैनन्। भीष्मको उत्तर नै कदाचित् युधिष्ठिरको पनि उत्तर थियो। द्युत पर्वको कथपोकथनले युधिष्ठिरको प्रतिष्ठाको परिचय दिन्छ। युधिष्ठिरको सत्यनिष्ठा र धार्मिकता निर्विवाद थियो। त्यसलाई दुर्योधनले पनि स्वीकार गरेका थिए।

सभापर्वमा दुर्योधनसँग जुवा खेल्दा युधिष्ठिर मच्चिई–मच्चिई आफ्नो सम्पत्तिको बखान गरिरहन्छन्। युधिष्ठिरले आफ्ना सम्पत्ति बखान गर्दा उनको फुर्ति र घमण्ड खपिनसक्नुको छ। द्रौपदीलाई दाउमा राख्दा युधिष्ठिरले पत्नीको शारीरिक सौन्दर्यको समेत खुब वर्णन गरेका छन्। जुवाको त्यस घडीमा किन हो कुन्नी कविले दुर्योधनलाई बडो विनम्र देखाएको छ। दुर्योधनलाई थाहा थियो, शकुनीले अन्ततः उसैलाई विजयी बनाउँछन्।

जुवाको खालमा आफ्नी श्रीमती र सम्पत्ति बखान गरेर नथाक्ने युधिष्ठिरले वनवासमा रहँदा–बस्दा जीवनलाई बेग्लै किसिमले हेर्न थालेको देखिन्छ। वनपर्वमा पाण्डवका माझ सम्पत्तिको महत्वका विषयमा छलफल हुन्छ। युधिष्ठिरले सत्ता र सम्पत्तिभन्दा महत्वपूर्ण धर्म हो भन्छन्। द्रौपदी र भीमसेनले अनेक तर्क झिक्छन्। तर, युधिष्ठिर आफ्नो वचन–पालनमा दृढ छन्। उनी ‘मैले आफैंले यो वनवास स्वीकार गरेको हो, यस अवधिलाई नबिताउँदासम्म मलाई राज्य चाहिएन’ भनेर कृष्णलाई समेत भन्छन्। कदाचित् इन्द्रप्रस्थको राजकाजमा युधिष्ठिरको मन भुल्न सकेको थिएन। यसै पनि जहिले पनि जहाँ पनि उनी तत्वचिन्तनमा मन लगाउँछन्। तत्वचिन्तनका दृष्टिले वनवास उनले खोजे–रोजेको जस्तो ठाउँ थियो। वनवासमा उनको एक होइन, अनेकन साधु–सन्तसँग भेट हुन्छ। मुनि मार्कन्डेयदेखि ऋषि लोमशसँग उनी धर्म–चर्चा गर्छन्। महाकवि व्यास र नारद पनि पाण्डवका आश्रममा पुगिरहन्छन्।

बाह्र वर्षको वनवास र एक वर्षको गुप्तवास गरी पाण्डवले तेह्र वर्षको दुःख भोगे। गुप्तवास सिद्धिएपछि युधिष्ठिरले कृष्णलाई आफ्ना राजदूतका रूपमा कौरवसभामा दुर्योधनका समीप पठाउँछन्। त्यतिबेला उनले कृष्णलाई दिएको निर्देशन स्पष्ट थियो। युधिष्ठिर भन्छन्– ‘हामीलाई पाँच गाउँ भए पुग्छ।’

आफूलाई चाहिएको पाँच गाउँबारे युधिष्ठिर स्पष्ट थिए। उनले वाराणार्वत लगायतका पाँच गाउँको नामसमेत भनेका छन्। पाण्डवका द्रौपदीपट्टीबाट पाँच भाइ छोरा थिए। अग्निसम्भवा द्रौपदीका छोराको अंश मार्ने हिम्मत युधिष्ठिरमा थिएन। जुवा हार्दाको सर्तअनुसार पाण्डवले उनीहरूको राज्य यथावत् पाउनु पथ्र्यो। त्यो बिर्सिएर त्यत्रो साम्राज्यमा अंशका रूपमा द्रौपदीका पाँच छोराका लागि पाँच गाउँ माग्नु एक प्रकारको ठूलो त्याग थियो। मानिसलाई सबथोक त्याग भन्न सकिन्छ, तर आजीविकाको अधिकार त्याग भन्न सकिँदैन। जीवन नै नहुँदा मानिसका लागि धर्मको कुनै अर्थ हुँदैन। बाँच्नेले नै धर्म गर्छन्। त्यसैले पाण्डवले आफू र आप्mना सन्ततिका निमित्त पाँच गाउँ माग्नु धर्मसम्मत थियो। तर, दुर्योधनले त्यो पनि दिएनन्। त्यस दिनदेखि महाभारतको कलहले नैतिक अर्थ प्राप्त ग¥यो। युधिष्ठिर त्यस नैतिकताका प्रवक्ता भए। उनले कृष्णलाई भने– ‘जानुस्, हामीलाई पाँच गाउँ दिलाउनुस्। हामी शान्तिपूर्वक बस्छौं।’

तर, कृष्णको दौत्य कर्म सफल भएन। दुर्योधनले पाँच गाउँ त के, सियोको टुप्पो बराबर जग्गा पनि दिन्न भनेर जिद्दी गरे। त्यसपछि पाण्डवको नैतिक पक्ष बलियो भयो।

वनवास र गुप्तवासले युधिष्ठिरको व्यक्तित्वमा परिवर्तन ल्याएको थियो। वनपर्वमा युधिष्ठिरले आफूले जुवा खेल्ने कारणको संकेत गरेका छन्। भीम र अर्जुनले बाहुबलका आधारमा राज्य विस्तार गरेका थिए। युधिष्ठिरलाई आफूले त्यस्तो गर्न नसक्दा लाज पनि थियो जस्तो छ। राज्यप्रतिको आफ्नो त्यस्तो छट्टु लोभ उनले लुकाउँदैनन्। उनले दुर्योधनको राज्यलाई जुवाबाटै जित्ने मनसुवा राखेका थिए। उनी यो कुरा लुकाउँदैनन्। युधिष्ठिरको यस्तो लोभको उल्लेख अरूले पनि गरेका छन्। तर, वनवास सिधिँदासम्म उनको मनस्थितिमा परिवर्तन आएको देखिन्छ। अब उनलाई सपरिवार सानन्द खान–बस्न पाए पुगेको छ। यक्षसँगको प्रश्नोत्तरमा उनी यो कुरो प्रस्ट भन्छन्।

१२ वर्षको वनवासको अन्त्यतिरको कुरा हो, एउटा ब्राह्मणको अग्निकाठको प्राप्तिका निमित्त पाण्डव दाजुभाइ एउटा मृगलाई पछ्याउँछन्। त्यस मृगले पाण्डवलाई अलमल्याउँछ। चार भाइ हराउँछन्। अन्ततः मृगको खोजीमा युधिष्ठिर र यक्षको सामना हुन्छ। एक सरोवरको छेउमा पुग्छन्। भीम, अर्जुनसहित चारै भाइ अचेत लडेका रहेछन्। त्यो पानी लिने र खाने हतारमा भीम, अर्जुन, नहकुल, सहदेव सबै सजिलै मारिएका थिए। त्यस पानीको मालिक एक यक्ष थिए। प्रतापी यक्षसँग युधिष्ठिरको जम्काभेट हुन्छ। यक्षले युधिष्ठिरलाई शस्त्रको प्रतिस्पर्धामा तान्दैन, शास्त्रको कुरा उठाउँछ। यो युधिष्ठिरको आप्mनो क्षेत्र थियो। यक्षले भन्छ– ‘मेरा केही प्रश्न छन्। ती प्रश्नको उत्तर देऊ। मेरो यो चेतावनी नमान्दा तिम्रा यी भाइहरू लास भएर लडेका छन्।’

भाइहरू अहंकारी थिए। उनीहरूले यक्षको चेतावनी मानेका थिएनन्। तर, युधिष्ठिरले विनम्रतापूर्वक यक्षको चुनौति स्वीकार गरे। यक्षसँग युधिष्ठिरको धार्मिक र दार्शनिक प्रश्नोत्तरमा उनको व्यक्तित्व राम्ररी प्रष्टिन्छ। प्रश्न मानव जीवनको आधारभूत सत्यसँग सम्बन्ध राख्छन्। मनुष्य के हो? यो प्रश्न त्यहाँ आउँछ। काल के हो? यो प्रश्न पनि त्यहाँ आउँछ। वायुभन्दा तेज के छ? संसारको सबभन्दा ठूलो आश्चर्य के हो?

सबभन्दा ठूलो आश्चर्य के हो भन्ने विषयमा युधिष्ठिरले गजबको जवाफ दिन्छन्। भन्छन्– ‘रोजिँदै मानिस मर्छन्। त्यो हामी सबै देख्छौं, सधैं देख्छौं। तर म पनि मर्छु भन्ने कहिल्यै सोच्न सक्दैनौं।’

यक्षको अर्को प्रश्न छ– ‘सुखी मानिस को हो?’ युधिष्ठिर भन्छन्– ‘ऋणपानरहित परदेश जान नपरेको, आफ्नै घरमा एक छाक खाएर शान्तिपूर्वक रहेको मानिस नै सुखी हो’– ‘…शाकं पचति स्वे गृहे।’

युधिष्ठिरको उपयुक्त उत्तर खाडी देशमा गएर बसेका लाखौं नेपाली तन्नेरीको वेदनाका सन्दर्भमा अर्थपूर्ण छ।

प्रश्नोत्तरमा युधिष्ठिर उत्तीर्ण हुन्छन्। तर, प्रश्नोत्तर परीक्षाको सार होइन। परीक्षाको सार अर्कै छ। यक्ष प्रश्नोत्तरबाट सन्तुष्ट त छन्। तर युधिष्ठिरलाई थप भन्छन्– ‘तिमीले सन्तोषजनक उत्तर दियौ। तिमी पानी पनि खाऊ। तिम्रा मरिसकेका चार भाइमध्ये कुनै मात्र एउटा छान, म जीवित गरिदिन्छु।’ युधिष्ठिरले एउटा भाइलाई छान्छन्, ती भाइ नकुल थिए। यक्षले आश्चर्य व्यक्त गर्छ– ‘यो नकुल तिमीलाई के काम लाग्छ? एक त यो सौतेनी भाइ हो। दोस्रो, वनवास र गुप्तवासका कठिन दिनमा नकुलले तिमीलाई केही सहायता पु¥याउन सक्दैन। तिमीले भीम वा अर्जुनलाई पो छान्नुपथ्र्यो त। उनीहरूबाट तिम्रो रक्षा हुन्छ। भोलिको राजनीतिक अभिष्ट पूरा हुन्छ।’

युधिष्ठिर भन्छन्– ‘मेरो त्यस्तो कुनै अभिष्ट वा लालसा छैन। मैले सौतेनी भाइ भनेर नै नकुललाई छानेको हुँ। कुन्तीका तीन सन्तानमध्ये म एक जीवित छु। माद्रीका दुई सन्तानमध्ये पनि एक जीवित रहनुप¥यो नि।’

युधिष्ठिरको धर्मबुद्धिबाट यक्ष प्रभावित हुन्छ। खुसी भएर मारिएका चारै भाइलाई जीवनदान दिन्छ। तर, यक्ष प्रश्न यत्तिमै टुङ्गिदैन। यक्षले सोध्छ– ‘अरू पनि केही भन्छौ कि?’ युधिष्ठिरले जे भने पनि ती रहस्यमय यक्षले प्रदान गर्न सक्ने थिए। तर, युधिष्ठिरको माग पनि बडो विचित्र छ। उनी भन्छन्– ‘हामी जुन अग्निहोत्र खोज्न हिँडेका थियौं, त्यही बक्सियोस्। अरू केही चाहिएको छैन।’

धन्य! हुस्सु युधिष्ठिर! यो आखिरी बक्सिसको प्रसंग सुनेर साँझपख श्रीमती द्रौपदी कस्तो बाझिन् होला?

युधिष्ठिरको व्यक्तित्व युद्धमा फक्रदैनथ्यो। आदिपर्वमा नै उनले गुरु द्रोणाचार्यबाट खप्की खानुपरेको थियो। द्रोणाचार्यले स्पष्ट भनेका थिए– ‘तिमीले लक्ष्यभेद गर्न सक्दैनौ।’ द्रोणचार्यले– ‘त्वमाया कम लक्ष्य भेदानां’ भने भनेर महाभारतमा भनिएको छ।

गुरुले शस्त्रास्त्रको परीक्षा गर्दा जेठा युधिष्ठिरलाई नै पहिले छान्दछन्। एउटा नक्कली चरो बनाइन्छ। गिद्दको आकृतिको त्यस आँखामा काँँड हान्ने प्रतियोगिता थियो। त्यस चरोलाई रुखमा झुन्ड्याएर द्रोणाचार्यले सर्वप्रथम युधिष्ठिरलाई सोधे– ‘तिमीले चरोको आँखा देख्यौं।’

युधिष्ठिरले ‘चरोको आँखा देखेँ’ भने।

‘अरू के–के देख्यौ?’ द्रोणाचार्यले सोधे।

‘चरोको जीऊ देखेँ, खुट्टा देखेँ, टाउको देखेँ,’ उनले जवाफ दिए।

‘अरू के देख्या?’

‘चरा झुन्ड्याइएको रुख पनि देखेँ।’

‘अरू के देख्यौ?’

‘तपाईंहरू सबैलाई देख्दैछु,’ युधिष्ठिरको यस्तो जवाफ सुनेपछि द्रोणचार्यले जंगिएर भने– ‘यस्ता सबैथोक देख्नेले चराको आँखाको लक्ष्यभेद गर्न सक्दैन।’ पछि द्रोणचार्यले अर्जुनलाई यही प्रश्न गरेका थिए। अर्जुनले ‘एउटा टिलपिल गर्ने आँखाजस्तो कुनै वस्तुबाहेक केही नदेखेको’ बताएका थिए। अर्जुनले लक्ष्य भेद गरे।

महाभारतको पात्रहरूको चरित्रको विस्तार र विश्लेषण लोकगाथाले पनि समृद्ध गरेको छ। युधिष्ठिरबारे एउटा अर्को कथा पनि प्रसिद्ध छ। गुरुले युधिष्ठिरका हातमा एउटा जिउँदो चरा दिए। यस चरालाई कसैले नदेख्ने गरी मारेर ल्याऊ भनेर अह्राए। युधिष्ठिर चरा मार्न गए। एक प्रहरपछि चरा नमारी फर्किए। निश्चय मानिस कसैले देखेको थिएन। तर, ईश्वरले नदेख्ने ठाउँ त कहीँ छैन भनेर चरा नमारी ल्याए। कुकुरलाई छाडेर एक्लै स्वर्ग जान नचाहने युधिष्ठिरको व्यक्तित्वको प्रारम्भिक परिचय यस्तै छ। तद्नुरुप द्रोणाचार्यले सिकाउन खोजेको लक्ष्यभेद गर्ने युधिष्ठिरलाई दिलचस्पी पनि थिएन।

वनवासका १२ वर्ष युधिष्ठिरले त्यसै बिताएका थिएनन्। ऋषिमहर्षिले उनलाई दुःख खप्ने उपदेश दिन्थे। युधिष्ठिर त्यस दुःखसँग आत्तिएका थिएनन्। यस प्रसंगमा द्रौपदी भने युधिष्ठिरसँग बाझिरहन्छिन्। उनी जुवाका बारे मात्र बाझ्दिनन्। युधिष्ठिरले बारम्बार नामोच्चारण गर्ने गरेका धर्मका बारेमा शंका गर्छिन्। द्रौपदी विदुषी छिन्। तर्क गर्थिन्। प्रश्न गर्थिन्। द्रौपदी भन्थिन्– ‘तपाईंले अहिलेसम्म धर्म–धर्म–धर्म भन्नुभयो। धर्मले तपाईंलाई के दियो?

द्रौपदीले ईश्वरलाई पनि छाड्दिनन्। ईश्वरको न्यायबुद्धिमा शंका गर्छिन्। ईश्वरले असल मानिसलाई दुःख दिन्छन्। यस्तो अपराधका निमित्त ईश्वर स्वयम्लाई दण्ड दिनुपर्छ भन्ने द्रौपदीको जिकिर छ। युधिष्ठिरले धैर्यपूवर्क उत्तर दिन्छन्– ‘ईश्वर वा धर्मले मलाई किन केही दिनुपर्यो? यहाँ जंगलमा हामीलाई के पो दुःख छ र?’ जुवामा त्यत्रो श्रीसम्पत्ति हार्दा पनि युधिष्ठिर ईश्वरलाई सराप्दैनन्।

युधिष्ठिर मानिस थिए, उनमा जुवा खेल्ने व्यसन थियो, त्यो स्वीकार गर्छन्। युधिष्ठिरले भीमसँगको कुराकानीमा आफूले किन र कसरी जुवा खेले, त्यसको सम्झना गरेका छन्। आफूलाई झेल गरेर हराइएको अनुमान त्यसै बेला लगाएको भन्ने युधिष्ठिर सुनाउँछन्। तर, त्यति हुँदाहुँदै जुवाडेको मातमा उनी उठ्न सकेनन्, त्यो उनी स्वीकार गर्छन्। भाइहरूले बलपूर्वक रोक्न सक्थे। रोकेनन्, त्यो पनि युधिष्ठिरलाई याद छ। तर अब जे भयो, भयो। ठीक–बेठीक जे गरियो, आफैं गरियो। आफूले गरेको कामको जिम्मेदारी आफैं लिनुपर्छ भन्ने अनुभूति युधिष्ठिरमा छ। मनुष्य आफू गल्ती गर्छ, भोलिपल्ट अरूलाई दोष दिन्छ। युधिष्ठिरमा त्यो कमजोरी छैन। उनले दैवको कुरा गरे पनि जिम्मेदारी आफैं लिन्छन्। गुमेको इन्द्रप्रस्थप्रति उनको मनमा खास लालच अब छैन। राजकाजको झन्झटबाट उम्किएर तत्व–चर्चा गर्ने मौका पाएकोमा बरु कृतज्ञ देखिन्छन्।

१२ वर्षको वनवासपछि पाण्डवले एक वर्ष गुप्तवासमा रहनुपर्ने थियो। युधिष्ठिरले आफू जुवा खेलेर बस्ने कुरा निसंकोच छान्दछन्। उनी राजा विराटका जुवाका साथी भए। गुप्तवासमा यस्तो पेशा छान्दा उनलाई लाज लागेन। उनमा कुनै पाखण्ड छैन भन्न सकिन्छ। गुप्तवासका समयमा द्रौपदीलाई किचकले दुव्र्यवहार गर्छ। युधिष्ठिरका सामुन्ने नै लछारपछार गर्दा समेत उनलाई रिस उठ्दैन। उनी सरल र काँतर पनि थिए। द्रौपदी भने आगोको ज्वाला थिइन्। त्यही पनि वनपर्वमा युधिष्ठिर र द्रौपदीको अन्तरंगता केन्द्रीय छ। वनवासमा पनि अर्जुन शस्त्रास्त्रको खोजीमा यताउति गइरहन्छन्। भीम द्रौपदीको वचन खस्न दिँदैनन्। तर पनि द्रौपदीको विशद संवाद युधिष्ठिरसँग हुन्छ। विश्वास अलग–अलग थिए। विपरितमा आकर्षण हुन्छ। त्यस दृष्टिले युधिष्ठिर र द्रौपदीमा आफ्नै किसिमको आकर्षण थियो। युधिष्ठिरकी एउटी अर्की पत्नीको पनि उल्लेख छ। तर, युधिष्ठिर द्रौपदीसँग नै घनिष्ट र सन्तृप्त थिए।

युद्धमा युधिष्ठिर कहिल्यै गौरवशाली रहेनन्। उनमा अस्त्रलाघव थिएन। भोलिका महाराजलाई कृपा गरेर लडेको देखाउनु महाभारतकारको बाध्यता थियो। युधिष्ठिरले अठार दिनको लडाइँमा एक जना शल्यलाई मार्न सफलता प्राप्त गर्छन्। शल्यको त्यो पराजय र मृत्यु पनि प्रायोजित प्रतीत हुन्छ। युद्धमा कर्णको प्रहारबाट विचलित भएर भागेका युधिष्ठिरको तस्बिर मानवीय छ। युधिष्ठिर कर्णसँग लड्छन्, तर कर्णले युधिष्ठिरलाई सजिलै पराजित गर्छन्। पराजित मात्र होइन, घायल गर्छन्। अपमानित गर्छन्। भयभीत युधिष्ठिर आफ्ना शिविरमा भागेर लुक्छन्। दाजुको खोजीनिधिमा पुगेका अर्जुनलाई युधिष्ठिरले भन्नु–नभन्नु भन्छन्। अर्जुन झन् जंगिन्छन्। युधिष्ठिरलाई अपमान गर्छन्– ‘मेरो पराक्रमले द्रौपदीसमेत पाएका छौं, लडाइँबाट भागेर आएर बिस्तरामा सुतेका छौ। कुन मुखले मलाई वचन लगाउँछौ।’

युधिष्ठिर र अर्जुनकोे भनाभनमा दुवैको यतिञ्जेल नदेखिएको पक्ष देखिन्छ। अर्जुनका नजरबाट युधिष्ठरको निरीहता छिपेको थिएन। युद्धका दरमियान यो निरीहता उनीहरूले बारम्बार देखेका थिए। राजकीय उत्तराधिकारको परम्पराअनुसार भाइहरूले युधिष्ठिरलाई श्रेष्ठ मान्नु उचित थयो। तर, त्यतिले मात्र श्रद्धा थिएन। युधिष्ठिरको निरीहता, सरलता र तत्वचिन्तनले भीम र अर्जुन अभिभूत थिए।

युधिष्ठिरको व्यक्तित्वका हिसाबले कुरुक्षेत्र अर्कै कारणले प्रसिद्ध छ। सत्यवादी र धर्मनिष्ठ युधिष्ठिर यस लडाइँमा झुठ बोल्छन्। युधिष्ठिरले झुठ नबोल्दासम्म द्रोणाचार्यले हतियार छाड्ने थिएनन्। हतियार नछाड्दासम्म उनी मारिने थिएनन्। कृष्णले अर्जुन, भीम र युधिष्ठिरलाई झुठ बोल्न प्रेरित गरे। अर्जुनले मान्दै मानेनन्। भीमले बोलेको झुठ द्रोणाचार्यले पत्याएनन्। अनि युधिष्ठिरले बोले– ‘अश्वत्थामा हतोहतो।’ लोकले युधिष्ठिरको यो असत्य भाषण अझै बिर्सिएका छैनन्। त्यो झुठ बोल्नासाथ युधिष्ठिरको रथ पृथ्वीमा हिँड्न थाल्यो। त्यसअघि सत्यवादी युधिष्ठिरको रथले पृथ्वीको स्पर्स गरेको थिएन रे। युधिष्ठिर पाण्डवका प्रमुख थिए, कुटुम्बका संरक्षक थिए। विजयका लागि उनले झुठ बोल्ने कुकर्म गरे। धेरै धर्मनिष्ठ सद्गृहस्थहरू परिवारका निमित्त आफूले नचाहेको काम आज पनि गर्छन्।

युद्धका सन्दर्भमा युधिष्ठिरको त्रास र लोभ व्यासले बारम्बार रेखांकित गरेका छन्। यो झुठ पनि त्यस्तै एक उदाहरण हो। व्यासले युधिष्ठिरको व्यक्तित्वमा भएको विकासका खुड्किलाहरू देखाएका छन्। अर्जुनले कर्णलाई मारिसके भन्दा उनी पत्याउँदैनन्। उनी आफैं गएर कर्णको लास हेर्छन्। खासमा अर्जुन र कर्णको द्वयरथ युद्धमा नै कुरुक्षेत्रको परिणाम टिकेको थियो। मृत कर्णलाई देखेर युधिष्ठिर प्रसन्न हुन्छन्।

महाभारतको प्राक्कथनमा नै भनिएको छ, युधिष्ठिर धर्मका महावृक्ष हुन्। तर, युधिष्ठिर जन्मजात र हठात् धर्मवृक्ष भएका छन् भन्न सकिँदैन। उनी अन्तरद्वन्द्वबाट गुज्रिएर यस उपलब्धिमा पुगेका थिए। उनी थुप्रा उतारचढावबाट यहाँ आएका हुन्। युधिष्ठिरको मिथ्या भाषण र भीरु व्यक्तित्व उनको प्रारम्भिक चरित्रको नमूना हो।

महाभारतको रक्तरञ्जित युद्धपछि युधिष्ठिरमा वैराग्य आउँछ। उनले सहोदर दाजु कर्णको हत्या गराउनु परेको थियो। फेरि उनै कर्णले माता कुन्तीको प्रार्थनाअनुरुप उनलाई जीवनदान दिएका थिए। त्यस सम्झनाले उनको क्रोध र पश्चातापलाई घनीभूत बनाउँछ। पूज्य मातालाई उनी सराप दिन्छन्। उनी राजपाठ छाड्ने मनस्थितिमा पुग्छन्। जितेको राज्य छाडेर जंगल जाने जिद्दी गर्छन्। युधिष्ठिरले बाहिरी मनले यो कुरा भनेका थिएनन्। दाजुको यो स्वभाव भाइहरूलाई थाहा थियो। द्रौपदीलाई पनि थाहा थियो। उनीहरूका बीच बहसाबहसी हुन्छ। कसैले युधिष्ठिरको चित्त बुझाउन सक्दैनन्। अनि त्यहाँ कृष्ण आउनुपर्छ। कृष्णका सल्लाहले युधिष्ठिर भीष्मका समीप गएर राजधर्मको शिक्षा लिन तत्पर हुन्छन्। अनि सुरु हुन्छ शान्तिपर्वको नीरस शास्त्रचर्चा। तर, राजा युधिष्ठिरलाई यसमा बडो रस छ।

महाभारतले आफूलाई धर्भशास्त्रका रूपमा चिनाएको छ। तर, महाभारत धर्म, अर्थ, काम र मोक्षबाट वियुक्त छैन।  पाण्डवहरू यस चतुरवर्गीय पुरुषार्थका बारेमा बहस गर्छन्। युधिष्ठिर धर्मको प्रमुखताको पक्षमा वकालत गर्छन्। भीसमसेनले कामको महत्ता देखाउँछन्। अर्जुनले अर्थलाई महत्व दिएका छन्। द्रौपदी शंकालु र नास्तिक शैलीमा बहसमा उत्रिन्छिन्। व्यासले युधिष्ठिरको व्यक्तित्वको हकमा भने धर्मको परिपाक देखाएका छन्। तर, फेरि युधिष्ठिर मानवीय आसक्तिबाट विमुख छैनन्। द्युत प्रसंगमा द्रौपदीलाई जुवामा थाप्दा युधिष्ठिरले उनको मांसल सौन्दर्यको प्रशंसा गरेका छन्। अर्जुनद्वारा स्वयम्बरमा जितिएकी द्रौपदीलाई युधिष्ठिरले प्रथम दृष्टिमै सायद यस्तै देखेका थिए। वनपर्वमा युधिष्ठिरले जुवा खेल्दाको घडीको आफ्नो अनुभव बताएका छन्। जुवाको खालको अनुभव भएको कुनै पनि मानिसले युधिष्ठिरसँग तादात्म्य जनाउने छ। होइन भने, युधिष्ठिर सामान्यतः शान्त रहन्छन्। भीम रिसाएको प्रसंग बारम्बार आउँछ। द्रौपदी बातैपिच्छे कड्किन्छन्।

कर्णले दिग्विजय गरेपछि दुर्योधनले एउटा ठूलो यज्ञ गरेका थिए। उल्याउने पाराले पाण्डवलाई आमन्त्रण गरिएको थियो। द्युत क्रिडाको सर्तअनुसार पाण्डवहरू जंगलबाट आउन असमर्थ थिए। निम्ता दिन आउने ब्राह्मणलाई युधिष्ठिरले विनम्रतापूर्वक यो कुरो सम्झना गराउँछन्। तर, भीमले कौरवलाई बलि चढाउने यज्ञमा मात्र आफू पुग्ने कुरा भन्छन्।

कर्णको मृत्युपछि युधिष्ठिरका उद्गार मर्मस्पर्शी छन्। युधिष्ठिरलाई कर्णका खुट्टाको सम्झना रहेछ। कर्णले द्युतक्रिडामा द्रौपदीको अपमान गरेका थिए। चीरहरण प्रसंगमा मनपरि बोलेका थिए। युधिष्ठिरलाई रिस उठेको थियो। तर, कर्णको खुट्टा देख्नासाथ उनको रिस मरेको थियो। कर्णका ती खुट्टा माता कुन्तीसँग सादृश्य राख्थे रे। युधिष्ठिरको यस कथनमा सहज रूपमा उनको भावुक हृदय प्रकट भएको छ।

महाभारतको अन्त्यमा गदापर्वमा भीमले दुर्योधनलाई गदा युद्धमा कुठाउँमा प्रहार गर्छन्। युधिष्ठिर त्यसमा पनि दुःखी छन्। युधिष्ठिरले दुर्योधनलाई पाँच भाइमध्ये एक जनालाई छानेर लडाइँ गर्न चुनौति दिएका थिए। सरल युधिष्ठिरको त्यस्तो प्रस्ताव देखेर कृष्ण आत्तिएका थिए। कृष्णले अर्जुनलाई भन्छन्– ‘तेरो यस दाजुले बिताउने भयो।’ धन्य दुर्योधनले भीमलाई छाने। कृष्णको आशंका पूरा भएन।

युद्ध सिधिएपछि युधिष्ठिर राजा भए। युधिष्ठिरले हस्तिनापुरमा छत्तीस वर्ष राज्य गरे। अश्वमेध यज्ञसमेत गरे। व्यासले त्यस यज्ञको उपहास गरेका छन्। एउटा न्याउरीमुसोको कथा बनाएर व्यासले युधिष्ठिरको यज्ञको उपहास गरेका छन्। होइन भने युधिष्ठिरले आफ्नो शासनकालमा धृतराष्ट्र–गान्धारीलाई यथोचित सम्मान दिएका थिए। भीम भने बातैपिच्छे धृतराष्ट्र र गान्धारीको अपमान गर्थे। अरू त अरू धृतराष्ट्रलाई छोराको सुद्धिशान्ति गर्न पैसा चाहिएको थियो। भीम त्यसको पनि विरोध गर्छन्। अन्ततः राजा युधिष्ठिरले आदेश दिएपछि धृतराष्ट्रले धन पाउँछन्। युधिष्ठिरले धृतराष्ट्र र गान्धारीसँग अत्यन्त राम्रो व्यवहार गरेका थिए भन्ने महाभारतमा किटेर लेखिएको छ।

कुरुक्षेत्रको युद्धको केही वर्षपछि धृतराष्ट्र, गान्धारी, कुन्ती र विदुर स्वैच्छाले जंगल गए। जंगलमा उनीहरू मृत्युको प्रतीक्षा गर्न थाले। एक उमेरपछि मानिस जीवन छाड्न तत्पर हुनुपर्छ। मृत्युलाई मित्र बनाउनुपर्छ। सिंगो महाभारतमा यो दर्शन उपस्थित छ। कृष्णको देहान्तपछि युधिष्ठिरमा बाँच्ने इच्छा शेष रहेन। पाँच भाइ पाण्डव र द्रौपदीसमेत संसार छाड्न प्रवृत्त हुन्छन्। द्रौपदी पनि पाण्डवलाई छाड्न सक्दिनन्। उनीहरू हिमालयतिर लागे। तिनताक पनि त्यतैबाट स्वर्ग जाइन्थ्यो अरे!

पहिले द्रौपदी ढल्छिन्। ढलेकी द्रौपदीलाई एक्लै छाडेर भाइहरू अगाडि बढ्छन्। युधिष्ठिरले फर्केरसम्म हेर्दैनन्। पछि हेर्न चाहने भाइहरूलाई उल्टो रोक्छन्। द्रौपदीको मृत्यु अश्वयभावी छ, त्यसमा केही गर्न सकिँदैन, यसमा युधिष्ठिर स्पष्ट छन्। तर, भीम त्यस्तो ढुक्क छैन। भीम प्रश्न गर्छन्– ‘मनस्विनी द्रौपदी किन चिप्लिन्?’ महाभारतकारले द्रौपदीलाई योगभ्रष्ट भइन् भनेका छन्। युधिष्ठिर उत्तर दिन्छन्– ‘द्रौपदीले अर्जुनलाई विशेष महत्व दिन्थिन्। त्यसैले चिप्लिएकी हुन्।’

यो उत्तर अप्रीतिकर र क्षुद्र प्रतित हुन्छ। द्रौपदीले अर्जुनलाई बढी माया गर्नुमा कुनै आश्चर्य थिएन। द्रौपदीपछि भाइहरू एक–एक गरेर चिप्लन्छन्। भाइहरूका हकमा पनि युधिष्ठिर यस्तै उत्तर दिन्छन्। आधुनिक पाठकलाई ती उत्तरले चित्त बुझाउने छैन। तर, यस्तो प्रश्नोत्तर कविको अभीष्ट होइन।

महाप्रस्थानी पर्वको प्रारम्भमा एउटा कुकुरको उल्लेख छ। युधिष्ठर आफूबाहेक छ अन्य प्राणीका साथ हिँडेका छन् भनेर कविले प्रस्ट भनेका छन्। सातौं सदस्य कुकुर हो। त्यत्रो विकट यात्रामा त्यतिञ्जेल त्यो कुकुरलाई केही भएको थिएन। स्वर्गका राजा इन्द्र हठात् युधिष्ठिरलाई लिन प्रकट हुन्छन्। सँगसँगै कुकुरले पनि हाम्रो ध्यान आकृष्ट गर्छ। इन्द्रले कुकुरलाई स्वर्ग लग्न नसकिने स्पष्ट गर्छ। कुकुरलाई छाडेर आफू स्वर्ग नजानेमा युधिष्ठिर पनि दृढ छन्।

इन्द्रले सोध्दछन्– ‘द्रौपदीको माया छोड्यौं। प्राणतुल्य भाइहरूको माया छोड्यौ। अनि यो कुकुरका लागि जिद्दी किन गर्छौ?’

युधिष्ठिर उत्तर दिन्छन्– ‘मर्ने मर्छन्। कसैले केही गर्न सक्दैन। मर्ने चाहे जोसुकै किन नहोस् तर मेरो साथमा रहेको कुनै पनि जीवित प्राणीलाई म यस्तो विपत्तिमा छोड्न सक्दिनँ। चाहे त्यो कुकुर नै किन नहोस्?’

इन्द्रले कुकुर–योनीको निकृष्टताका बारेमा तर्क गर्छन्। इन्द्रले गीता सुनेका–पढेका थिएनन्। युधिष्ठिरले पढेको–नपढेको थाहा छैन। होइन भने, गीतामा कृष्णले कुकुरका बारेमा भन्नुपर्ने कुरो कुरुक्षेत्रमा नै भनिसकेका थिए। युधिष्ठिरले त्यसबेला नसुनेका र पछि नपढेका भए पनि ठीक त्यस्तै गीतोक्त व्यवहार यसपटक गरे। गीतामा भनिएको थियो– ‘…शुनिचैव श्वपाके च पण्डिताः समदर्शिन।’

युधिष्ठिरको सत्याग्रह विजयी हुन्छ। अनि युधिष्ठिर सशरीर स्वर्ग पुग्छन्। युधिष्ठिरको स्वागत गर्दै नारद भन्छन्– ‘यसरी सशरीर स्वर्ग आउने पहिलो र एक मात्र मनुष्य युधिष्ठिर नै हुन्।’

निश्चय युधिष्ठिर सशरीर स्वर्ग पुग्ने एक मात्र मनुष्य हुन्। तर त्यहाँ समस्या खडा हुन्छ। युधिष्ठिर पुगेर आफ्ना भाइहरूलाई खोज्न थाल्छन्। महारानी द्रौपदी खोई भन्छन्। अनि इन्द्रले सम्झाउनुपर्छ– ‘स्वर्गमा के को भाइ? के को दाइ? को श्रीमती? को आमा? कसलाई खोजेको?’

युधिष्ठिर भन्छन्– ‘भो मलाई स्वर्ग चाहिएन। मलाई यो देवत्व चाहिएन। मेरा भाइ र पत्नी जहाँ छन्, मलाई त्यहीँ पुगाइदेऊ। अर्थोक केही चाहन्न’– ‘शुभं वा यदि वा पापं भ्रातृणां स्थानमद्य मे।’

इन्द्र प्रतिवाद गर्दछन्– ‘छि, अझै तिमी मानुषी भाव छाड्दैनौ।’ इन्द्रले हप्काएजस्तो गरी भन्छन्– ‘स्वर्गमा आएर पनि अझै मनुष्यको जस्तै आचरण गर्छौ?’

युधिष्ठिर भन्छन्– ‘म मनुष्य हो। म मनुष्य नै रहन्छु। मनुष्यताभन्दा श्रेष्ठ केही छैन।’

युधिष्ठिरको सत्याग्रह एकपटक फेरि विजयी हुन्छ। युधिष्ठिर कुकुरलाई स्वर्ग लग्न सफल हुन्छन्। परिवार पनि भेटिन्छ। देवतात्मा भीष्म मनुष्य बन्न चाहेका थिएनन्। दैवीय शक्तिले विहीन युधिष्ठिरले मनुष्यलाई महिमा मण्डित गरे।

यक्षसँगको प्रश्नोत्तरमा युधिष्ठिरले सुखको परिभाषा दिएका थिए। शान्तिपर्वमा बिल्कुलै प्रारम्भमा नै अझ ठोस रूपमा युधिष्ठिरले सुखको अनुभुति बताएका छन्। युद्धका सन्दर्भमा उनी कौरवको डाहजन्य वेदनालाई सम्झन्छन्। अरूको डाह गर्ने मानिसले सुख पाउँदैन। तद्नुरुप दुर्योधन गीत, संगीत वा स्त्री–संसर्गमा समेत निरानन्द थियो भन्छन्– ‘…नार्यो गीतवादितम्।’ लगत्तै फेरि तत्कालका लागि उनको वैराग्य–शतक प्रारम्भ हुन्छ। भर्तृहरीको वैराग्य र शृंगार समानान्तर गएको थियो। तर, युधिष्ठिरमा अन्ततः यी दुई आग्रह मिसिन्छन्। यक्ष–प्रश्नोत्तरमा युधिष्ठिरले धर्म, अर्थ र कामको त्रिवेणीलाई मानिसको सुखका निमित्त अनिवार्य बताएका छन्। स्वर्गारोहण पर्वमा उनी यस मान्यतामा अडिग छन्।

विन्सटन चर्चिल द्वितीय महायुद्धका समय बेलायतका प्रधानमन्त्री थिए। बेलायतले उनको नेतृत्वमा हिटलरलाई पराजित गर्यो। चर्चिल बहुमुखी प्रतिभाका स्वामी थिए। उनको नेतृत्वका कारण बेलायत हिटलरलाई हराउन सफल भयो। चर्चिलपछिका प्रधानमन्त्री क्लेमेन्ट एटलीसँग त्यस्तो कुनै तुलनीय योग्यता थिएन। क्लेमेन्ट एटलीले बेलायतका आमजनताका निमित्त लोककल्याणकारी राज्यको परिकल्पना गरे। एटलीका पालामा बेलायतका जनताको कोक्रोदेखि चिहानसम्मको बन्दोबस्त भयो। चर्चिलले नागरिकसँग आँसु, रगत र पसिना मागेका थिए। क्लेमेन्ट एटलीले बेलायती जनताको आँसु, रगत र पसिना धुने–पुछ्ने प्रयास गरे।

टिप्पणीकारहरूले उहिल्यै लेखेका थिए– ‘विस्टन चर्चिल ‘असाधारण रूपले असाधारण’ राजनेता थिए। केलेमेन्ट एट्ली ‘असाधारण रूपले साधारण’ राजनीतिज्ञ थिए।’

युधिष्ठिरको कथा विसटन चर्चिल होइन, केलेमेन्ट एट्लीसँग सादृश्य राख्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.