जङ्क फुडः रोगका भकारी

जङ्क फुडः रोगका भकारी


आधुनिक प्रविधि प्रयोग गरी तयार गरिएका चाउचाउ, चिप्स, बिस्कुट, केक, कुकिज, डोनट, सेतो पाउरोटीलगायत मैदाजन्य वस्तुलाई उपभोक्ताले गर्वका रूपमा स्वीकार गरिरहेझंै देखिन्छ। परम्परागत खानेकुरा त्याग्दै यस्ता खानाको अधिक उपभोग गर्दा आपूmले के पाइरहेको छु वा के गुमाइरहेको छु भन्ने हेक्का भने राखेकोे पाइँदैन। तर आधुनिक जीवनशैलीको लोकप्रिय ‘ट्रेडमार्क’ बोकेर संसारभर फैलिरहेका तयारी तथा प्याकेटबन्द खाद्य वस्तु अहिले नसर्ने रोगको एउटा प्रमुख कारकका रूपमा देखा परिरहेका छन्।

गर्मी र तिर्खा लागेका बेला यस्तै पेय पदार्थ पिउनु उपयुक्त हुन्छ भन्ने विज्ञापनको सन्देशले आधुनिक जीवनशैली अपनाउनेहरूले पानी, मही, कागती पानी जस्ता स्थानीय पेय पदार्थ पिउनै बिर्सेका छन्। वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले झेली गरिरहेका छन्। यस्ता वस्तुको प्रवद्र्धन तथा बिक्रीले राज्यलाई केही न केही कर त अवश्य नै प्राप्त भएको होला तर नागरिकको स्वास्थ्यमा असर र राष्ट्रिय उत्पादनमा क्षति गरिरहेको हुन्छ। यस्ता पेय वस्तुको उपभोग गरेका कारण स्वास्थ्य समस्या भएका मानिसको उपचारमा राज्यले कति रकम बेहोर्नुपरिरहेको छ भन्ने बारेमा पनि अध्ययन गर्ने बेला भइसकेको छ।

अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तŒव र तिनले शरीरलाई गर्ने हानिबारे कुनै जानकारी नै हुँदैन। रङ, बास्ना, गुलियो, अमिलो स्वाद घोली फिँज उठ्ने बनाएर आकर्षक बोतलमा बन्द गरिएका यस्ता चिसो पेय पानीको तुलनामा धेरै महँगा र हानिकारक हुन्छन्।

शृङ्गार गर्दा कतिपय अवस्थामा आफ्नो सुन्दर शरीर कुरूप पनि बनिरहेको हुन्छ। तत्काल राम्रो देखिए पनि दीर्घकालमा त्यसले अनेक समस्या सिर्जना गरिरहेको हुन्छ। कतिलाई आफ्नो शृङ्गार सामग्रीले नै कुरूप बनाइरहेको हेक्कासमेत हुँदैन। शृङ्गार सामग्रीले अनुहार कुरूप बनेपछि चिकित्सककहाँ अत्तालिँदै उपचार गर्न जानेको सङ्ख्या दैनिक बढिरहेको सम्बन्धित चिकित्सकहरूको भनाइ छ। त्यसमा पनि छालालाई गोरो बनाउने भनेर लगाइएका क्रिमले अनुहारमा बढी क्षति पु¥याइरहेको पाइएको छ। छाला विरूप भएपछि उपचार गर्न निकै कठिन हुन्छ। छाला बिग्रेका कारण आत्मविश्वास पनि हराउन थाल्छ।

गोरो बनाउने भनिएका क्रिमले छालामा विभिन्न किसिमका समस्या उत्पन्न गर्न सक्ने भएकाले जथाभावी प्रयोग नगर्न छाला रोग विशेषज्ञले बारम्बार चेतावनी दिँदै आए पनि प्रयोगकर्ताले ध्यान दिएका छैनन्। यस किसिमका क्रिम उत्पादन गर्ने कम्पनीहरूको आक्रामक विज्ञापनका कारण चिकित्सकको जानकारी तथा चेतावनी छायामा परिरहेको छ। मानिसलाई भ्रम पारी आफ्ना उत्पादन प्रयोगका लागि उत्सुक बनाउन विभिन्न सञ्चारमाध्यमबाट प्रचार गरिएका विज्ञापनले उपभोक्तालाई सधैं नियन्त्रणमा राखेको हुन्छ। विज्ञापनको जालोमा जेलिएपछि उपभोक्तालाई फुत्किन निकै कठिन पर्छ। एउटा वस्तुको खराब पक्षबाट पीडित बनेपछि पनि उनीहरूले यस्ता वस्तुको प्रयोग त्याग्दैनन्। बरु यस्तै अर्को वस्तुको विज्ञापनको जालोमा जेलिन पुगिरहेका हुन्छन्।
….

इनर्जी ड्रिङ्कलाई शक्तिबद्र्धक भनेर व्यापक प्रचार गरिएको छ। प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिस अहिले यो पेय पदार्थलाई लाभदायक भन्ने विश्वासमा परेर उपभोग गरिरहेका छन्। यसले लाभभन्दा बढी हानि नै गरिरहेको छ भन्ने कुरा आम उपभोक्ताले बुझन सकिरहेको देखिँदैन। आम सञ्चारमाध्यममा आइरहेको विज्ञापनको लाभका कारण मिडियाले यसबारे यथार्थपरक एवम् आलोचनात्मक टिप्पणी गरिरहेको पाइँदैन। यसैको फाइदा उठाएर अहिले बजारमा इनर्जी ड्रिङ्कको जथाभावी बिक्री वितरण हुने गरेको छ।

उत्पादक कम्पनीहरूले यसमा मानिसलाई थप शक्ति दिने विशेष तŒव हुन्छ भनेर प्रचारप्रसार गरिरहेका छन्। तर गुणस्तर नियन्त्रणसम्बन्धी चासो राख्ने विकसित देशका संस्थाहरूले यसलाई मान्यता दिएका छैनन्। इनर्जी ड्रिङ्क लतकै रूपमा सेवन गर्नेहरूमा बालबालिका पनि देखिएका छन्। चिकित्सकहरूका अनुसार बालबालिकामा यस्तो पेय पदार्थ खान पल्केपछि लत लाग्न सक्छ। कुलतले उनीहरू रोगी बन्छन्।
यस्ता पेय पदार्थले ज्ञान बढाउने समेत कतिपय उत्पादकले दाबी गर्ने गरेका छन् तर विभिन्न अध्ययनअनुसार यसमा भएको फिँजजस्तो पदार्थले ध्यानाकर्षण, सोच्ने क्षमता र सिक्ने कुरामा कुनै सहयोग गर्दैन। बरु क्याफिनले सोच्ने क्षमता झन् कमजोर बनाउन सक्छ। यस्ता पेय पदार्थले मानिसलाई मानसिक र शारीरिक नकारात्मक असर पु¥याइरहेका हुन्छन्। यसले निद्रा खलबलाउनुका साथै मुटुको चाल (धड्कन) लाई अस्तव्यस्त पार्छ र स्वास्थ्यमा बाधा पु¥याउँछ।
….

विकास र आधुनिक जीवनशैलीका नाममा सहरतिरबाट आयात गरिएका प्याकेटबन्द खानाले स्थानीय उत्पादनलाई हतोत्साहित गरिरहेका छन् नै, मानिसको स्वास्थ्य पनि बिग्रिँदै गएको देखिन्छ। २१ औं शताब्दीमा जङ्क फुड उत्पादकहरूले आक्रामक रूपमा बजार विस्तार गरिरहेका छन्। स्वास्थ्यका दृष्टिले महŒवहीन यी खाद्य वस्तु नेपाललगायत विश्वका अति कम विकसित मुलुकका कुनाकाप्चासम्म उपलब्ध छन्। टेलिभिजन च्यानल लगायतका सञ्चारमाध्यम पनि यस्तै जङ्क फुडका चित्ताकर्षक विज्ञापनले भरिएका हुन्छन्। के यी जङ्क फुडहरू यसरी महŒव पाइरहनुपर्ने अति आवश्यक वस्तु हुन् त? कदापि होइनन्।

जङ्क फुड तयार गर्दा त्यसले कति पोषण दिन्छ भन्दा पनि कसरी स्वादिष्ट बनाउने भन्ने कुरालाई बढी ध्यान दिइएको हुन्छ। चिनीको मात्रा बढी भएको कोल्ड ड्रिङ्क्स पनि जङ्क फुड नै हुन्, जसमा क्यालोरीको मात्रा बढी हुन्छ भने भिटामिन, प्रोटिन जस्ता वस्तु हुँदैनन्। यी जङ्क फुडको प्रचलन हुनुअघि घरकै खानेकुरा तथा खाजाबाट साथै दूध, दही, मही, लस्सी, ताजा जुस, कागतीपानीबाट मानिसले भिटामिन, खनिज आदि प्राप्त गरिरहेका थिए।

जङ्क फुड धेरै खाँदा कुपोषणको समस्या पनि हुने गरेको पाइएको छ। कुपोषण भएपछि विभिन्न रोगले आक्रमण गर्न सक्छन्। जङ्क फुडमा पोषण हुँदैन तर क्यालोरी बढी हुने भएकाले बालबालिका सानै उमेरदेखि मोटाउन थाल्छन्। यो मोटोपन भविष्यमा विभिन्न रोगको कारक बन्न पुग्छ।

केही वर्षअघि सरकारले चाउचाउ, चिप्सजस्ता जङ्क फुडलाई स्कुल लान तथा बेचबिखन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको खबर प्रकाशमा आएको थियो। यसलाई सचेत उपभोक्ताले सकारात्मक रूपमा लिएर तारिफ नै गरेका थिए। तर कार्यान्वयन तथा अनुगमन गर्ने जिम्मा पाएकाहरूले यसलाई लागू गर्ने तत्परता देखाएनन्।

हामीले सन्तुलित आहार नै छान्नुपर्छ। मानिसलाई चिल्लो, गुलियो, नुनिलो वस्तु पनि आवश्यक पर्छ। तर न्यूनतम मात्रामा। हाम्रो शरीरलाई खनिज, भिटामिन, प्रोटिन, फाइबर लगायतका विभिन्न तŒव पनि जरुरत पर्छ।

रक्तअल्पता नेपाली महिला, किशोरी र बालबालिकामा आम रूपमा देखा पर्ने समस्या हो। गर्भवतीलाई यो समस्या अलि बढी नै देखिने गरेको छ। यसले गर्दा गर्भको बच्चा रोगी र सानो हुने तथा महिलालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ। नेपालमा आमा बन्ने क्रममा मृत्यु अत्यधिक हुनुमा यो पनि एउटा प्रमुख कारक हो। गर्भवती महिलाको शरीरबाटै गर्भमा रहेको भू्रणलाई पोषण, अक्सिजन आदि सबै जाने गर्छ । यस्तो बेला महिलाको शरीरलाई केही बढी पोषण जरुरत पर्छ। सुदूर पश्चिमाञ्चलका कतिपय स्थानमा गर्भवती महिलालाई धेरै खाना, हरियो सागपात, फलफूल, मासु, दूध आदि दिनु हुँदैन भन्ने मान्यता पनि छ। केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूध–दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वास छन्। यसले गर्दा गर्भवती महिला कुपोषण र रक्तअल्पताको समस्याले पीडित हुने गर्छन्। यसैगरी सुत्केरी भएका बेला बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर आमालाई हरियो सागपात, दाल खान दिइँदैन। यस्ता अन्धविश्वासले पनि पश्चिम नेपालका महिलामा रक्तअल्पता धेरै हुने गरेको छ।

स्थानीय रूपमा पोषणयुक्त खाना उपलब्ध भए पनि त्यसलाई सही रूपमा उपभोग गर्न नजान्दा शरीरमा पोषणको कमी हुन जान्छ। खानामा गरिने लैंगिक विभेदका कारण पनि बढी पोषण आवश्यक पर्ने महिलामा कुपोषणको समस्या हुन्छ। यिनै कारणले महिलालाई रक्तअल्पता हुन्छ।

रक्तअल्पता महिलालाई मात्र नभएर बच्चा तथा पुरुषलाई पनि हुने गर्छ। तर महिला र केटाकेटीको तुलनामा पुरुषमा निकै कम हुन्छ। पुरुषलाई विशेष परिस्थितिमा मात्र रक्तअल्पता हुने गर्छ। जस्तै– औलो ज्वरो भए, शरीरको भित्री भागमा रगत बगे, कुनै दुर्घटनामा परेर शरीरबाट रगत बढी बगे पुरुषलाई रक्तअल्पता हुन सक्छ।

नेपालका विभिन्न जाति तथा जनजातिले परम्परागत रूपमा प्रयोग गर्दै आएका खाना स्वास्थ्यका दृष्टिले निकै लाभदायक छन्। तर अहिले आधुनिकताका नाममा उपभोग गरिने भोजनमा लाभभन्दा हानिको मात्रा बढी हुन थालेको छ। परम्परागत रूपमा उपभोग गरिँदै आएका नेपाली भोजनमा कार्बोहाइडे«ट, प्रोटिन, चिल्लो पदार्थ, खनिज, भिटामिनजस्ता सन्तुलित भोजनमा हुने प्रायः सबै तŒव आवश्यक मात्रामा भेटिन्छन्।

चिनी चरा पल्काउने चारोजस्तै हो भन्दा पनि हुन्छ। एकपटक खाएपछि पटक–पटक खाने लत लाग्छ, छाड्न कठिन नै हुन्छ। नेपालीले दिनभरि खाने कुनै न कुनै खानामा चिनी अवश्य नै हुन्छ। बजारमा खरिद गरिएका खाना मात्र होइन, घरमै बनाइने धेरै किसिमका परिकारमा चिनी मिसाइएको हुन्छ। नेपालमा चिनी खपतको परिमाण बर्सेनि वृद्धि भइरहेको छ। यसको नकारात्मक पक्षबारे प्रायः कुरा नहुने र परम्परागत रूपमा समेत स्वीकार गरेर प्रयोग हुँदै आएकाले पनि यो सुरक्षित र पोषिलो छ भन्ने भ्रम धेरैलाई परिरहेको छ।

पहिला बजारिया गुलिया वस्तुको उपभोग सहरी क्षेत्रमा मात्र अत्यधिक हुन्थ्यो। हाल ग्रामीण क्षेत्रमा समेत उपभोग बढेको छ। बजारिया गुलिया वस्तुले स्थानीय उत्पादनलाई पनि विस्थापन गरिरहेका छन्।

बढी प्रयोग गर्दा शरीरमा रोग उत्पन्न गराउन सक्ने चिनीबारे भने भ्रम उत्पन्न हुने गरी लेबलमा लेखिएको हुन्छ। चिनीको अर्को महŒवपूर्ण विशेषता भनेको खानेकुरालाई बिग्रन नदिई सुरक्षित राख्नु पनि हो। तर यसले खाद्य वस्तुको गुणस्तर वृद्धि गर्न भने सघाउँदैन, बरु शरीरलाई दीर्घकालीन रूपमा हानि पु¥याइरहेको हुन्छ।

चिनी शरीरलाई पोषण दिने खाद्य वस्तु होइन र यस उद्देश्यले खाद्य वस्तुमा चिनी थपिँदा पनि थपिँदैन। यसले स्वादचाहिँ दिन्छ।

सहरी क्षेत्रमा तौल बढ्ने किसिमका क्यालोरीयुक्त खाना बढी खाए पनि शारीरिक व्यायाम पर्याप्त नगर्ने धेरै मानिस शरीरको तौल बढी भएर विभिन्न रोगबाट पीडित छन्। सहरी क्षेत्रमा जङ्क फुड (क्यालोरी बढी भएका र भिटामिन, मिनरल, प्रोटिन नभएका खाना) बढी सेवन गरिने र टेलिभिजन तथा कम्प्युटरमा धेरै समय व्यतीत गरिने हुँदा बालबालिकाको तौल पनि वृद्धि भइरहेको छ। नेपालमा हालसम्म मोटोपनले ठूलो समस्याको रूप लिएको नदेखिए पनि समस्या वृद्धि हुने क्रम छ र केही वर्षपछि यो समस्या जनस्वास्थ्यका लागि ठूलो चासो र चिन्ताको विषय बन्ने देखिएको छ।

सहरका कतिपय मानिस मोटोपनबाट डराएर तौल घटाउने प्रयासमा लागेका छन्। तर उनीहरूले यसका लागि सही तरिका अपनाइराखेका छन् भन्ने स्थितिचाहिँ छैन। कतिपय मानिसले तौल घटाउन खानालाई स्वाट्टै कम गरेका छन्। खाना निकै मात्रामा घटाउने वा एक छाक खाँदै नखाने गर्दा शरीर मोटाउन सघाउने क्यालोरी मात्र कम नभई शरीरलाई अति आवश्यक पर्ने खनिज, भिटामिन, प्रोटिन, आइरन जस्ता महŒवपूर्ण तŒव पनि अभाव हुन जान्छ। यसले शरीर कमजोर हुने र अनेक किसिमका रोगले आक्रमण गर्ने सम्भावना बढ्छ। औषधिको प्रयोगबाट छिटो तौल घटाउने प्रयास गर्दा विभिन्न समस्या आउन सक्छ। विशेषज्ञ चिकित्सकको परामर्शबिना अप्राकृतिक तरिकाले तौल घटाउने साधन प्रयोग गर्नै हुन्न।

पेटी र औषधिले तौल घटाउने, औषधिले स्तन टाइट बनाउने, क्रिमले गोरो बनाउने, मेसिनले हाइट बढाउने, कपाल उमार्ने जस्ता भ्रमपूर्ण विज्ञापनको विश्वास गरेर त्यस्ता वस्तु प्रयोग गर्नेमा मोडल, चलचित्रकर्मी, फ्रन्ट डेस्कमा बसेर काम गर्ने र किशोरकिशोरी बढी छन्। उनीहरू आफ्नो समस्या समाधानका लागि जति पनि खर्च गर्न तयार भइरहेका हुन्छन् र अनेक उपायको खोजीमा भौंतारिइरहेका हुन्छन्। बजारमा आउने अन्य थुप्रै वस्तुको यस्तै भ्रमात्मक प्रचार गरेर व्यापारिक फाइदा लिने प्रवृत्तिले उपभोक्ता निरन्तर ठगीमा परिरहेका छन् तर पनि यस्ता झुट प्रचारका विषयमा राज्यका तर्फबाट प्रश्न उठाएको पाइँदैन।

विज्ञापनमा भनिएको कुरा कतिसम्म सत्य छ भनी मिडियाले परीक्षण गरेर हेर्ने गरेको पनि पाइँदैन। मिडियामा आएका सन्देशलाई आम पाठक तथा श्रोताले विश्वास गर्ने हुनाले बढाइचढाइ तथा झूट कुरासमेत प्रचार गरेर उपभोक्ताको मनोभावनामाथि खेलबाड गर्ने काम भइरहेको छ। अहिले कतिपय सञ्चारमाध्यममा आएका सामग्री विज्ञापन हुन् कि सत्य सन्देश भनेर छुट्याउनै नसकिने खालका छन्। यसले गर्दा सर्वसाधारण झुक्किने र ठगिने भइरहेको छ। विज्ञापनलाई विज्ञापनकै रूपमा र समाचार वा अन्य सन्देशलाई त्यही रूपमा प्रस्तुत गर्न आवश्यक छ।

फलफूलको रसको विज्ञापनमा पनि निकै झूट प्रचार गरेको पाइन्छ। विज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको बास्ना र चिनी मिसाएर बनाइएको रसलाई हामी साँच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलपूmलकै रस हो भने पनि कुनै बाहिरी वस्तु नमिसाई ‘ताजा’ रहिरहन सक्दैन।

एन्टिबायोटिकले मानिसको जीवन बचाउने कार्यमा योगदान दिन सक्छ। ब्याक्टेरियाका कारण हुने सङ्क्रमण नियन्त्रण गर्न, रोगबाट बचाउन तथा रोग निको पार्न एन्टिबायोटिक उपयोगी हुन्छ। तर यसलाई जथाभावी प्रयोग गरे प्रभावकारिता कम हुन्छ र रोग निको पार्न सक्दैन। तोकिएको खुराकभन्दा बढी वा कम प्रयोग वा अनावश्यक प्रयोगले एन्टिबायोटिक रेजिस्टेन्ट हुन्छ। अन्य औषधि पनि जथाभावी प्रयोग गर्दा मानव स्वास्थ्यमा हानि पुग्न सक्छ।

नेपालमा औषधिका साथमा भिटामिन भिडाउने चलन सामान्य भइसकेको छ। खासगरी व्यापारिक प्रवृत्तिले चलेका स्वास्थ्य संस्था तथा क्लिनिकमा औषधिसँगै भिटामिन पनि दिने प्रवृत्ति छ। हामीलाई यसरी बोतलमा भिटामिन चाहिँदैन। शरीरलाई भिटामिन चाहिन्छ भन्ने धेरैलाई थाहा छ तर यस्तो भिटामिन भोजन सन्तुलित तरिकाले खाए पर्याप्त मात्रामा प्राप्त हुन्छ भन्ने चाहिँ कमैलाई मात्र थाहा छ।

खानाको पर्याप्त खुराक नपुगेर, खानाको छनोट गर्न नजानेर, जङ्क फुड बढी खाएर हुने कुपोषण बढिरहेको सन्दर्भमा अहिले खासगरी सहरी क्षेत्रका किशोरकिशोरीमा शरीरलाई राम्रो र सुन्दर बनाउन खानेकुरा नै नखाई डाइटिङ गर्ने प्रवृत्ति बढेको छ। यसबाट उनीहरूमा गम्भीर कुपोषणको समस्या देखिन थालेको छ। डाइटिङ गर्ने किशोरकिशोरीमा शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेको सम्बद्ध चिकित्सकहरू बताउँछन्।

केटाकेटीमा कुपोषण भए शारीरिक मात्र होइन, मानसिक विकासमा पनि नकारात्मक असर पर्छ। रक्तअल्पताका कारण केटाकेटीमा नयाँ कुरा सिक्ने क्षमता कम हुन्छ। बच्चाहरू एउटै कुरामा ध्यान नदिने, लोसे हुने, सुतिरहन मात्र खोज्ने हुन्छन्।

नेपाली समाजमा कतिपय बाबुआमाले चाहेर पनि बालबालिकालाई सन्तुलित आहारा खुवाउन सकेका छैनन् भने कतिपयले चाहिँ सानैदेखि स्लिम तथा सुन्दर बनाउन मोटा बालबालिकाको खानामा एकैचोटि नियन्त्रण गर्छन्। खानामा एकैचोटि नियन्त्रण गर्दा शारीरिक एवम् मानसिक विकासमा नकारात्मक असर पुग्छ।

दूषित तथा मिसावटयुक्त खाद्य पदार्थ र यसले जनस्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न सञ्चारमाध्यममा व्यापक चर्चा हुने गरेको छ। तर उपभोक्ता अझै सचेत भएको देखिँदैन। अनेक थरिका अखाद्य रङ मिसिएका मिठाई हुन् वा बेमौसम तथा मौसमी रूपमा पनि अनेक रसायन राखेर पकाइएका आँप, मेवा, केरा जस्ता वस्तु, उपभोक्ताले निष्फिक्री उपभोग गरिरहेको देखिन्छ। यसैका कारण कतिपय रोग लागे पनि उनीहरूलाई पत्तै हुँदैन।

गाउँघर र सहरमा पनि केटाकेटीलाई फकाउन रङ्गीचङ्गी मिठाई दिइन्छ। मिठाईमा मिसिएको अखाद्य रङले बालबालिकाको कलेजो, मिर्गौलालाई नराम्रो असर गर्छ भन्ने आमा–बाबुले थाहा नै पाएका हुँदैनन्। थाहा पाउँदा हुन् त सायद आफ्ना बालबालिकालाई यस्ता खानेकुरा दिँदैनथे होलान्।

त्यस्तै, दसौंचोटि तताइएको तेलमा पकाइएको पुरी, समोसा, जिलेबी, भटौरा, पकौडी, कचौडी जस्ता खाद्य वस्तु पनि स्वास्थ्यका दृष्टिले निकै हानिकारक भए पनि उपभोग सामान्य रूपमा भइरहेको छ। धेरै पटक तताइएको तेलले क्यान्सर गर्छ भन्ने तथ्य अधिकांशलाई थाहा छैन।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहेका यस्ता खाद्य पदार्थको उत्पादन, बेचबिखन सम्बन्धमा कुनै कडा नीति–नियम छैन र नियमित जाँच तथा अवलोकन पनि हुँदैन। त्यसैले बजारमा यस्ता खाद्य पदार्थले सहज पहुँच पाइरहेका छन्। जनस्वास्थ्यका दृष्टिले यो निकै चिन्ताको विषय हो।

बजारमा उपभोक्ताविरुद्ध नयाँ–नयाँ अपराध (खानामा मिसावट, बासी खाना, अखाद्य रङ) भइरहेका छन्। तर त्यस्तो अपराध हुँदा सुनुवाइ हुने ठाउँ छैन। उपभोक्ता अदालत किन गठन हुँदैन? ठगिएका उपभोक्तालाई आफ्नो मुद्दा छिटो–छरितो तरिकाले राख्न र न्याय पाउन सशक्त उपभोक्ता मञ्च गठन गर्नुपर्ने आवाज उठिरहेका छन्।

उपभोक्ता अदालत गठन गर्न नदिन केही व्यापारिक घराना पनि लागेका छन्। उपभोक्ता अदालत गठन भयो भने यसले जनतामा सचेतना ल्याउँछ र भ्रमपूर्ण विज्ञापन गरेर खराब वस्तु बेच्नेहरूमाथि मुद्दा लाग्छ भन्ने डरले आनाकानी भइरहेको छ।

परम्परागत रूपमा बर, पीपल, तुलसी आदि रोप्ने कार्य धार्मिक भावनाले गरेको देखिने भए पनि यो वातावरण संरक्षण र मानव स्वास्थ्यसँग जोडिएको छ। हामी आधुनिकताका नाममा बजारका महँगाा अ‍ैषधिमा निर्भर हुँदै छौं। स्वास्थ्यमा लाभ पुग्ने थुप्रै बिरुवा हाम्रा वरिपरि छन् तर चिन्न सकिरहेका छैनौं।

नेपालमा करिब २४ वर्षदेखि निरन्तर रूपमा पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल बाँडिँदै आएको छ। तर यो किन बाँडिँदै छ र यसको आवश्यकता छ कि छैन भन्ने बारेमा कहीँ कतैबाट प्रश्न उठाएको पाइँदैन। के भिटामिन एको स्रोत बजारबाट किन्नुपर्ने क्याप्सुल मात्र हो? यसका अरू विकल्प छैनन्? यो साँच्चै बालबालिकाको स्वास्थ्यलाई ख्याल गरेर बाँडिएको हो वा अरू कसैको स्वार्थ यसमा छ भन्ने बारेमा छलफल र बहस गर्नुपर्ने बेला भएको छ।

….

नेपाली समाजमा शिशुलाई घाममा राखेर आमाले तेल लगाउने चलन पहिले धेरै थियो। अहिले निकै कम भइसकेको छ। आधुनिकताका नाममा अहिले शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तर कोठामा राखेर पाउडर दलिरहने चलन आएको छ। यस्तो आधुनिक चलनले सुत्केरी आमा र शिशुको शरीरमा भिटामिन डी पुग्दैन। आमाहरूले घाममा बसेर तेल लगाउने चलनलाई बिर्सिदिए भने आमा र शिशुलाई हाडसम्बन्धी समस्या पर्न जान्छ। त्यसैकारण छालामा किरण पर्ने गरी घाम ताप्नु भनिएको हो।

अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदै छन्। विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई ३५–४० वर्षको उमेरदेखि नै क्याल्सियम र भिटामिन डीका चक्की दिन सुरु गर्छन्। जुन समस्यालाई पनि औषधिले मात्र समाधान गर्ने बानीले हामीले प्राकृतिक कुरा बिर्सँदै गएका छौं। स्वस्थ रहन बढी खर्च गर्नुपर्ने स्थिति पनि बनिरहेको छ। भिटामिन डी पाउन घाममा बस्नु नै उपयुक्त हो।

अहिले नेपालमा आफ्नो मौलिक खानालाई बेवास्ता गरेर बाहिरबाट आएको अङ्ग्रेजी नामको त्यही खानालाई महŒव दिने गरिएको छ। त्यही खाद्य वस्तु विदेशबाट आएको भनेपछि विभिन्न परिकार बनाएर खुवाउन सिकाइन्छ। तर हामीले नै उत्पादन गरेको चाहिँ बेवास्ता मात्र होइन, हेला नै गरिन्छ।

(आइतबार सार्वजनिक हुने ‘पुस्तक खाना खानुभयो? : नेपाली भान्छाबारे बजारका भ्रम’ पुस्तकको अंश)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.