भोटोजात्रामा जे देखियो

भोटोजात्रामा जे देखियो




वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ जात्राको अन्तिम दिन बिहिबार जावलाखेलमा भोटोजात्रा हेर्न बालबालिका, वृद्धवृद्धादेखि राष्ट्रपतिसम्म पुगे। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि बुधबार मात्रै राजिनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्याधीश सुशीला कार्की जावलाखेल पुगेका थिए ।

सर्वसाधारण नागरिक सडक छेउको बारदेखि घरको छतछतबाट हेरेर रमाइलो मानिमानी यो दृष्य हेरिरहेका थिए । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए । भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश कार्कीलगायत उच्चपदस्थ अधिकारीलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसाद दिएका थिए ।

भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ ।

विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथलाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ। त्यसयता गणतन्त्र नेपालमा पनि पूर्वराजाको बिँडो थाम्दै राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा नै बसालिएको छ। भोटो जात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदासमेत दिने गरिएको छ ।

राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्ष अघि मत्स्येन्द्रनाथलाई ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वासमा यो जात्रा मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.