तीन महिनामा बस्तीको मुहार फेरिँदा…

तीन महिनामा बस्तीको मुहार फेरिँदा…

धुर्मुस सुन्तली फाउन्डेशनद्वारा नमुना एकीकृत मुसहर बस्ती हस्तान्तरण




महोतरीको वर्दिबास नगरपालिका २ मा मुसहर समुदायको जीवनस्तर उकास्न निर्माण गरिएको एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएको छ ।

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले स्थापना गरेको धुर्मुस-सुन्तली फाउन्डेशनले मानवता र सद्‌भावका लागि सहकार्य अन्तर्गत दलित समुदायका लागि निर्माण गरिएको सो बस्ती महजोडीले मुसहरवस्तीका अध्यक्ष विल्टु सदालाई हस्तान्तरण गरे।

वस्तीमै निर्माण गरिएको भ्युटावर नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी त्यसैगरी, समुदायिक भवन सामाजिक अभियन्ता तथा पत्रकार रामआशिष यादव र बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस-सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण  गरेका हुन्।

बस्ती निर्माण अभियान अन्तर्गत महजोडी, धुर्मुस–सुन्तली, किरण केसी, जितु नेपाललगायत दर्जनभन्दा बढी कलाकारले गत पुस २५ गते एकैसाथ घरको जगमा इटा राखेर निर्माण कार्य सुरु गरेको थिए। फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको हो।

वस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ। बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि  ३५ फिट अग्लो भ्यू टावर निर्माण गरिएको छ ।  भ्युटावरबाट  बस्तीसहितका बर्दिबास चोकवरिपरि र ढल्केबरका मनोरम दृश्य नियाल्न सकिन्छ ।

हरेक घर अगाडि बगैचा तयार गरिएको छ । बगैचामा अशोकका बिरुवा रोपिएका छन् । यसले बस्तीलाई हरियाली र वातावरणमैत्री बनाउनेछ। बस्तीका हरेक घरको रङरोगनले राष्ट्रियता झल्काउँछ। नेपालको राष्ट्रिय झण्डाको रंग झल्काउने गरी छाना निलो जस्ता, पृष्ठभूमीमा गाढा रातो र चन्द्र सूर्यको भाग जस्तै रातो पृष्ठभूमीभित्र सेतो रंगले हरेक घर सिंगारिएको छ ।

राष्ट्रियता प्रकट गर्न पनि हरेक घरमा ती प्रकृतिका रंगले सिंगारिएको धुर्मुस सुन्तली फाउन्डेशनका संस्थापक सिताराम कट्टेलले बताए। ‘बस्तीले हिमाल, पहाड, तराई हामी कोही छैनौं पराई भन्ने राष्ट्रियता झल्कने सन्देश दिएको छ,’ उनले भने, ‘यसले पनि मानवता र सदभावको सहकार्य पुष्टी भएको छ। नेपालको विकासका लागि एकीकृत बस्ती निर्माण जस्तै एकीकृत काम गर्न जरूरी रहेको छ।’

फाउन्डेशनको अभियानले हिमालमा सिन्धुपाल्चोकको गिरानचौंर तामाङ बस्ती र पहाडमा काभ्रेको सीमान्तकृत पहरी समुदायको बस्ती हस्तान्तरण गरिसकेको छ।

‘बस्ती निर्माणले हिमाल, पहाड र तराईलाई जोड्ने काम गरेको छ,’ उनले भने, ‘एकीकृत विकास निमार्ण कार्यमा तेस्रो बस्ती निर्माणपछि यो हयाट्रिक नै हो।’

बर्दिबास २ स्थित मुसहर बस्तीमा ५० घरपरिवारका २ सय ७२ सदस्यको बसोबास  छ । महोत्तरी २ स्थित मुसहर गाउँ अशिक्षा, गरिबी अभावलगायत सबै थोकले पछि परेको बस्ती हो। बस्तीका अधिकांशको गुजाराको माध्यम मजदुरीमा खट्नु हो ।

देउराली मावी बर्दिबासका शिक्षक इन्द्रराज लामा एकीकृत मुसहर बस्तीको निर्माणले विपन्न र दलित मुसहर समुदायको भौत्तिक परिवर्तन मात्र होइन, यसले दीर्घकालिनरूपमा सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनको सुरुवात गरेको बताए ।

धुर्मुस–सुन्तली फाउण्डेसनको मानवीय भावना र सदभावको अभियानले नेपालको जातीय विभेदको अन्त्य गर्नुको साथै भौगोलिक, सामुदायिक समानताको खाका समेत कोरेको उनको ठम्याई छ। जनगणना २०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये महोत्तरी जिल्लामा २३ हजार ३ सय ६४ छ ।

रोग, भोक, अशिक्षाले थलापरेका मुसहर समुदायमा पराले झुपडी तीन महिनामै आकर्षक पक्की घर बनेपछि मुसहर समुदायमा खुसियाली छाएको छ। पुस्तौंदेखि गरिबी र सामाजिक दुव्र्यवहारले मुसहर अस्तित्वहीन जीवन बाँच्दै आएका थिए ।

सो वस्ती निर्माणको लागि ६ करोड ३६ लाख ३९ हजार रुपैया सहयोग भएकोमा वस्तीको पुरै संरचना निर्माण गर्न ५ करोड ४ लाख ३६ हजार खर्च भएको फाउण्डेशनले जनाएको छ।

उनका अनुसार भूकम्पपीडित सिन्धुपाल्चोक गिरान्चौरमा फाउन्डेसनले निर्माण गर्न संकलन गरेको रकमबाट बचेको एक करोड तीन लाख र विभिन्न दाताबाट थप पाँच करोड रुपैयाँ संकलन गरी मुसहर बस्ती निर्माणका गरिएको हो। ‘इच्छा शक्ति भए जेसुकै गर्न सकिन्छ राष्ट्र निर्माणका लागि एकता आवश्यक हुन्छ। मुसहरबस्तीले पनि सिंगो देशले एकता खोजेको स्पष्ट पारिदिएको छ,’  धुर्मुसले भने।

लामो समयदेखि शिक्षा, स्वास्थ्य, गरिबीको चपेटामा रहेका मुसहर समुदायका वासिहरु यो वस्ती निर्माणले आफुहरुको भविष्य सुध्रिएको बताउँदै धुर्मुस सुन्तलीलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका महजोडीले यो वस्ती निर्माणले कलाकारहरु पनि देशको लागि धेरै गर्न सक्ने देखिएको बताउँ भने, ‘केही गर्नको लागि रकम होइन आँट चाहिन्छ र यो कुरा यो वस्ती निर्माणले सिद्ध भएको छ।’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.