‘पढेर पागल हुन्छ भन्थे, तर म भइनँ’


धुर्मुस–सुन्तलीले ५० मुसहर घरपरिवार निम्ति नयाँ बस्ती बसाएका छन्। आफ्नै घर बनाउँदा दैनिक तीन सय ज्याला पाइने भएपछि कसैलाई पनि काम खोज्ने समस्या छैन। जसलाई खोज्यो, बस्तीभित्रै भेटिन्छन्।

मञ्जय सदा भने हत्तपत्त भेटिँदैनन्।

‘मञ्जे खोई?’

कसैले सोधखोज गरे उत्तर आउँछ, ‘पढ्दैछ।’

उनी मन लागे रातभरि नै पढ्छन्। राति जागा बस्दा पहिलेजस्तो मट्टितेल सकिएला भन्ने चिन्ता छैन। गाउँमा हरसमय झलल बत्ती बलिरहन्छ।

दुई वर्षअघि एसएलसी दिँदा मञ्जय चोरेर ल्याएको बत्तीमा पढेका थिए। कमजोर आर्थिक स्थितिका मुसहरसँग बिजुली जोड्ने हैसियत थिएन। जोखिम मोल्न सक्नेले आकाशमा लट्किएको नांगा तारमा दुइटा अंकुश अड्काएर घरसम्म बिजुली तानेका थिए। मञ्जयका दाइ बिल्टु सदाले तिनैसँग बत्ती मागे।

मञ्जयको घर पनि झलमल्ल भयो।

बस्तीमै पहिलोपल्ट एसएलसी दिन लागेका मञ्जयले रातभरि जागा पढ्दा बत्तीको उज्यालोमा बस्तीको हविगत छर्लंग देखे।

एउटा सानो झुपडी। अलिअलि भाँडाकुँडा। एउटा कुनामा चुह्लो। चुह्लोसँगै जोडिएको ओछ्यान। ओछ्यानमा ५५ वर्षीय वृद्ध बाबु, आमा, दाजु–भाउजू र भतिज–भतिजी गरी १०/१२ जना सँगसँगै।

मञ्जय यसपालि वैशाख १ देखि नयाँ घरमा बस्दैछन्।

झिँगटीको ठाउँमा इँटा र सिमेन्टको घर। खरको छानाको सट्टा जस्ताको छाना छाएको घर। ढुंगाको तीनचुलीको सट्टा ग्यासचुह्लो भएको घर। धिपधिपे टुकीको सट्टा सिएफएल चम्किने घर। बाँसका टाँडको सट्टा खुट्टे खाट भएको घर। पातलो ओढ्नेको सट्टा ब्ल्यांकेट र बाक्लो ओछ्यान भएको घर।

‘अब हामी आठ/नौ जनाको परिवार एउटै ओछ्यानमा खाँदिएर सुत्नुपर्ने छैन,’ मञ्जयका आँखा पनि सिएफएलझैं चम्किए, ‘यस्तो घरमा त म अहिलेसम्म एक–दुई रात मात्र सुतेको छु होला।’

यो मञ्जयको मात्र होइन, महोत्तरीको यस मुसहर बस्तीका हरेक घरको यथार्थ हो।

कुनै समय यी मुसहरका टन्नै जग्गा थिए रे। जमिनदारले फकाइफुल्याई सबैका जग्गा हडपेको स्थानीय बताउँछन्। त्यसपछि उनीहरू ऐलानीमा खुम्चिन बाध्य भएछन्। ऐलानी जग्गा पनि कति भने, पानी झर्ने बलेसीसम्म मात्र आफ्नो। दैलोबाट निस्कँदा टेकिने पहिलो पाइलामै आफ्नो हक सकिने।

मञ्जय जन्मिँदा चार दाजुहरू ठूला भइसकेका थिए। बाबु र उनको उमेर अन्तर ५५ वर्ष थियो। उनका कुनै पनि दाजु स्कुल गएनन्। मुसहर समुदायबाट उनीसँगै स्कुल जाने पाँच जना मात्र थिए। तीमध्ये कसैले पहिलो वर्षमै त कसैले दुई कक्षा पढ्दा पढ्दै स्कुल छाडे। एक जना मात्र थिए, जो सात कक्षासम्म मञ्जयसँगै पढे। आठ कक्षामा आएर मञ्जय एक्लो भए।

धेरैले बीचमै पढाइ छाड्नुको कारण कमजोर आर्थिक अवस्था थियो। दाउरा बेचेर र खेतबारीमा काम गरेर खानै गाह्रो हुन्थ्यो। पढाइमा फुरमाइस कसले गरोस्!

अझ मुसहर समुदायमा मद्यपानको यति भयानक लत थियो, दिनभरिको कमाइ रातभरि रक्सी खाएरै सकिदिन्थे। छोराछोरीको पढाइ प्राथमिकतामै पर्थेन। छोरी भए बिहे गराइदिन्थे, छोरा भए काममा आफूसँगै लग्थे।

मञ्जयका बाआमाले तैबिसेक उनको स्कुल छुटाइदिएनन्।

उनले पनि इख राखेरै पढे।

कक्षामा जतिसुकै छिछि, दुरदुर सहनुपरे पनि पढाइ छाडेनन्। बरु खर्च जुटाउन आफ्नै स्कुलको जग खने। जंगलदेखि दाउरा ल्याएर बर्दिवास बजारमा बेचे। अरूका खेतमा काम गरे। थुप्रैपल्ट बर्दिवास बजारको नालीधरि सोहोरे।

यति परिश्रम गर्दा पनि उनी कयौं रात भोकै सुतेका छन्। भोकै स्कुल गएका छन्। भोको पेटमा पनि स्कुलमा गयल चाहिँ भएनन्।

कतिपय गाउँलेले उनका बाआमालाई भने पनि, ‘तेरो छोरोले पढेर के गर्छ? त्यही साहुको खेत खन्ने, जंगलबाट दाउरा ओसार्ने हैन?’

बाआमालाई पनि हो जस्तै लाग्थ्यो क्यारे! मञ्जयलाई आएर सुनाउँथे, ‘धेरै पढ्यो भने मान्छे बहुलाउँछ।’

यस्ता कुराले मञ्जयको मन हुँडलिन्थ्यो। हिक्का छुट्थ्यो।

‘म थुप्रैचोटि बाआमाले नदेख्ने गरी घर पछाडि गएर रोएको छु,’ उनले भने, ‘आफू भोकै रहेका बेला साथीहरूले खाजा खाएको देख्दा, राम्रो लाएको देख्दा मलाई पनि त्यस्तै खान, त्यस्तै लाउन रहर लाग्थ्यो। तर, मैले घरमा कहिल्यै मागिनँ। मलाई घरको अवस्था थाहा थियो। दाइभाउजू र बाआमाले कहिलेकाहीँ यत्तिकै पाँच/दस रुपैयाँ दिँदा साह्रै खुसी लाग्थ्यो।’

जब उनले यी सबै परिस्थितिलाई सहज रूपमा लिए, उनको पढाइ सुध्रियो। कक्षामा दोस्रा–तेस्रा हुन थाले। स्कुलले छात्रवृत्ति दियो। पहिले पन्छिने साथीहरू नजिकिए। उनीहरूको घर आउजाउ सुरु भयो। ती साथीको घर देख्दा भने उनलाई आफ्नो परिवारको दुर्दशा छर्लंग बोध हुन्थ्यो। साथीहरूका घरमा सजाइएका भित्ता, नरम ओछ्यान, घरअघिल्तिर चिटिक्कको करेसाबारी देख्दा उनी भित्रभित्रै छट्पटिन्थे। कतिपल्ट केही साथीका बाआमाले त घरभित्र छिर्न पनि नदिएको तीतो अनुभव छ उनीसँग।

अहिले फर्केर हेर्दा उनलाई यी सबै सुन्दर लाग्छन्।

‘यी तीता अनुभवले नै मलाई बलियो बनायो,’ मुसहर बस्तीबाट एसएलसी पास हुने पहिलो विद्यार्थी मञ्जय भन्छन्, ‘अभाव र विभेदबाट मैले धेरै सिकेँ।’

जुन दिन उनी एसएलसी पास भए, ‘धेरै पढे बहुलाइन्छ’ भन्ने बाआमाले माइस्थान मन्दिरमा भोज लगाए। उनी सबैभन्दा धेरै आफ्ना दाजु बिल्टु र भाउजू आशा सदाप्रति आभारी छन्, जसले उनलाई पढ्न प्रेरित गरे। एसएलसी पास भएका बेला जहाँ गए पनि ‘मेरो भाइ सबैभन्दा धेरै पढेको’ भन्दै गर्वसाथ उनको नाम लिए।

एसएलसी पास हुँदा अरू जति खुसी थिए, उनलाई भने दिनभर खिन्न लागिरह्यो। अरू ‘पास हुन्छ कि हुँदैन’ भन्ने शंकामै रहेका बेला उनी भने फस्ट डिभिजन आउँछ भन्नेमा ढुक्क थिए। फस्ट डिभिजन भेट्न जम्मा ०.४० प्रतिशतले उनको खुसी रोकिदियो। तै उनले चित्त बुझाए।

यस बस्तीबाट प्लस टु पढ्ने एक्ला मुसहर विद्यार्थी मञ्जयको अहिले एउटै ध्याउन्न छ, पढाइ। उनलाई आफ्नो सपना पूरा गर्न पढाइबाहेक अरू केहीले सक्दैन भन्ने थाहा छ।

‘मैले पढ्नु भनेको मेरो फाइदाका लागि मात्र होइन,’ उनी भन्छन्, ‘मैले पढ्नु भनेको मुसहरहरू केही जान्दैनन्, उनीहरू फोहोरी हुन्छन् भन्नेलाई जवाफ पनि होजस्तो लाग्छ। मुसहरहरू पनि राम्ररी पढ्न सक्छन्, उनीहरू शारीरिक काम मात्र होइन, अरूले जस्तै दिमागको काम पनि गर्न सक्छन् भन्ने बन्नुछ मलाई।’

यो बस्तीमा मञ्जयपछि धेरै पढ्ने उनकै भतिजा हुन्, जो अहिले आठ कक्षामा उक्लिँदैछन्।

धुर्मुस–सुन्तलीले बस्तीको मुहार फेरेपछि स्कुल जानेहरूको संख्या ह्वात्तै बढेको छ। अहिले बस्तीका धेरै बालबालिका दुई कक्षामा उक्लिइसकेका छन्।

धुर्मुस–सुन्तली जब यो बस्ती आए, यहाँको सबैभन्दा ठूलो समस्या नै अशिक्षा हो भन्ने बुझेपछि नजिकैको स्कुल गएर मुसहर बालबालिकालाई पढाउने वातावरण मिलाइदिए। मञ्जयलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ पनि दिए। मञ्जयले आफ्नो समुदायका करिब ७० जना बालबालिकालाई पाँच महिनासम्म ट्युसन पनि पढाए।

मञ्जयको सपना बैंकर बन्नेछ। स्कुल पढ्दा सानैमा सुनेका थिए, बैंकरहरू टन्न पैसा कमाउँछन्। चिटिक्क परेर हिँड्छन्। यही सपना साँचेर उनी कमर्स पढ्दै छन्।

‘म जस्तो अवस्थामा हुर्किएको थिएँ, बैंकर बनेँ भने मेरो राम्रो घर हुन्छ, मैले चाहेअनुसार लुगा लगाउन सक्ने हुन्छुजस्तो लाग्यो,’ उनले आफ्नो सपना सुनाए, ‘दुःखले मान्छेलाई बलियो बनाउँदो रहेछ। मलाई अब जस्तोसुकै परिस्थिति आए पनि जुध्नसक्छु जस्तो लाग्छ। मलाई आफूमाथि विश्वास छ। मेरो कर्ममाथि विश्वास छ। मलाई मेरो सपना पूरा हुन्छजस्तो लाग्छ।’

उनलाई एउटै समस्याले पिरोलेको छ– नागरिकता। पुस्तौंदेखि नागरिकता नभएका उनका बाआमाले केही वर्षअघि मात्र नागरिकता पाए। उनले अहिलेसम्म पाएका छैनन्। जिल्ला प्रशासन कार्यालय कयौंचोटि धाइसके। प्रशासनले अनेक बहानामा अल्झाइरहेको छ।

मुसहर समुदायबाटै उदाहरणीय बन्न लागिपरेका मञ्जयलाई बैंकरको पहिचानभन्दा पहिले देशको नागरिक भन्ने पहिचान अत्यावश्यक हुन्छ।

उनी यही पहिचानको खोजीमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.