मानिसको दिमाग शक्तिशाली भएर पनि किन यति सतही?


दुर्गन्धित हुन्छ भनेर घरभन्दा टाढा बनाइने शौचालय आज हाम्रो सयनकक्षसँगै जोडिन आइपुगेको छ, यो कसरी सम्भव भयो?
 
साइकल दुइटा पाङ्ग्रामा पनि कसरी कतै नलडी गुड्न सकेको होला? 
 
अझ भनौं, तपाईंको ज्याकेटको चेन (जिपर) ले कसरी काम गर्छ? त्यो कसरी खुल्छ र कसरी लाग्छ?
 
हामीमध्ये अधिकांशलाई आफ्नो दैनिक जीवनका यस्ता साधारण आविष्कारबारे थाहै छैन। यिनले कसरी काम गर्छ, हामी अनभिज्ञ छौं। मानिसको दिमाग शक्तिशाली भएर पनि उनीहरू किन यस्ता साना–साना कुराको भेउ नपाउने सतही भएको होला?
 
‘नलेज अफ इलुजन’ भन्ने किताबले यही विरोधाभाष चिर्ने प्रयास गरेको छ। 
 
लेखकद्वय स्टेभेन स्लोम्यान र फिलिप फर्नब्याकले यिनै प्रश्नको जवाफ दिन क्रमिक विकासको सिद्धान्त र आधुनिक मनोविज्ञानको सहयोग लिएका छन्।
 
उनीहरूको तर्क छ– ‘हाम्रो दिमाग भनेको न्यूनतम शारीरिक चुस्तता र सन्तुलन कायम गर्न विकास भएको अंग हो। मानिस सामाजिक प्राणी भएकाले कुनै एक व्यक्तिको सोचाइ र जानकारी सीमित हुन्छ। सीमित सूचना मात्र उसले आफ्नो मस्तिष्कमा सञ्चित गर्न सक्छ। अधिकांश ज्ञान त समुदायको सञ्जालमा फैलिएर रहेको हुन्छ। त्यही भएर मानिसले सम्भव भएसम्म कौशलताका काम ‘आउटसोर्स’ गर्ने वा अरूलाई नै छाडिदिने गर्छन्।’
 
लेखकद्वयले यसलाई ‘इलुजन अफ अन्डरस्ट्यान्डिङ्ग’ अर्थात् ज्ञानको भ्रम भनेका छन्। यो त्यस्तो भ्रम हो, जसमा मानिसलाई आफ्नो दैनिक जीवनका कतिपय कुरा ‘जानेको छु’ भन्ने लाग्छ। तर, उनीहरूलाई त्यसको ज्ञान हुँदैन वा जति ज्ञान छ भन्ने लाग्छ त्यति हुँदैन।
 
लेखकद्वयले एक साधारण परीक्षणमार्फत् ‘ज्ञानको भ्रम’ ले कसरी काम गर्छ भनेर प्रस्तुत गरेका छन्।
 
यसमा परीक्षणका सहभागीलाई कुनै एउटा साधारण विषयमा उनीहरूको ज्ञान कति छ भनेर सोधिन्छ। सहभागीलाई आफूले जानेको कुरा विस्तृत ढंगले लेख्न लगाइन्छ। त्यसपछि उक्त विषयमा तपाईंले कति जान्नुभएको रहेछ त भनेर फेरि सोधिन्छ।
 
आफूले जानेका कुरा लेख्न थालेपछि मात्र सहभागीलाई महशुस हुन्छ, मैले त यो विषयमा पहिले सोचेजस्तो जानेकै रहेनछु। शौचालय, साइकलदेखि जटिल नीतिगत विषयमा मानिसले कति जानेका छन् भनी परीक्षण गर्दा यही प्रवृत्ति देखियो। सुरुमा आफूलाई जानकार ठान्ने सहभागीले जब त्यो विषयबारे लेख्न थाले, तब उनीहरूलाई आफ्नो अल्पज्ञानको आभाष भयो।
 
मानिसमा यस्तो भ्रमपूर्ण आत्मविश्वास किन हुन्छ त?
 
लेखकहरूका अनुसार मानिसमा यस्तो भ्रम हुनुको कारण ‘हाइभ माइन्ड’ वा समूहगत दिमागअन्तर्गत मानिसको क्रमिक विकास हुनु हो। हाम्रो दिमागले स्वस्फूर्त रूपमै सहकार्यका बारेमा सोच्छ। अवचेतन मनले समुदायका सदस्यहरूको दिमाग फरक–फरक हुन्छ भन्ने सोच्दैन। र, यही कारणले हामी अरूको वा समूहको ज्ञानमा निर्भर रहन्छौं।
 
अर्थशास्त्री तथा मनोवैज्ञानिकहरू पनि ज्ञानको विषयमा अनौठा कुरा गर्छन्। उनीहरू ‘कर्स अफ नलेज’ अर्थात् ज्ञानको श्रापका बारेमा कुरा गर्छन्। कुनै विषयमा आफूलाई ज्ञान होला, तर त्यो अरूलाई थाहा नहुन सक्छ भन्ने हामी महशुस नै गर्दैनौं। मैले जुन कुरा जानेको छु, त्यो नजानेका मानिस पनि हुन सक्छन् भन्ने हामी कल्पना नै गर्दैनौं।
 
‘इलुजन अफ नलेज’ अर्थात् ज्ञानको भ्रमले ठ्याक्कै यही किसिमले काम गर्छ। मानिसलाई कुनै विषय जानेको छु भन्ने लाग्छ, किनकि त्यो अरूले जानेका छन्। हाम्रो मनको त्यो ठम्याइ गलत हो भन्ने साधारणतया हामीलाई थाहै हुँदैन। हामी सबै यसरी नै ‘हाइभ माइन्ड’ अर्थात् एकअर्काको ज्ञानमा निर्भर रहँदै र त्यसैलाई आदानप्रदान गर्दै आजको स्थितिसम्म आइपुगेका हौं। यही सामर्थ्यका भरमा मानिसले कुनै समय भीमकाय जन्तुको शिकार गरे। यही सामर्थ्यका भरमा मानिस अन्तरिक्षसम्म पुगे।
 
राजनीतिमा भने यस्तो परिस्थितिले समस्या सिर्जना गर्छ। किनभने, शौचालयले कसरी काम गर्छ भन्ने ज्ञान नभइकन पनि शौचालय प्रयोग गर्दा कुनै हानी हुँदैन। साइकलको विज्ञान थाहै नपाई साइकल कुदाउँदा कुनै हानी हुँदैन। तर, देशको स्वास्थ्य सेवा प्रणालीबारे जानकारीबिनै त्यसलाई परिवर्तन गरियो भने सबैलाई हानी गर्छ।
 
मानिसहरू आफूले नजानेका वा अत्यन्तै थोरै जानेका विषयमा पनि निकै कठोर ढंगले आफ्नो मत प्रकट गर्ने गर्छन्। अझ सामाजिक सञ्जालमा त एकै विचारधाराका मानिस आपसमा जोडिन्छन् र आफ्नो धारणालाई अझ सशक्त बनाउन खोज्छन्। सामाजिक सञ्जालको प्रतिध्वनी कक्षमा अक्सर त्यस्ता विचार ‘अतिवाद’ तर्फ जान्छ।
 
आफ्नो आस्था र विश्वासलाई पर्याप्त सोचविचार नगरी कठोर ढंगले प्रस्तुत गर्ने वा राम्ररी विचारै नगरी आफू सही भएको भ्रम पाल्ने व्यक्तिसँग तर्क गर्न कठिन हुन्छ। उनीहरूका विचार कुनै समूह वा समुदायका मूल्य–मान्यतामा आधारित छन् भने त त्यसविरुद्ध जतिसुकै तथ्य र प्रमाण दिए पनि उनीहरूको विचार परिवर्तन हुँदैन। यसको कारण के भने, त्यस्ता मानिसले आफ्नो सूचना वा तर्कको आधार अरूलाई ‘आउटसोर्स’ गरेका हुन्छन्। अरू कसैको ज्ञान वा विचारमा उनीहरू निर्भर रहन्छन्। त्यसको धरातल कति बलियो वा कमजोर छ भन्ने चाल नै पाएका हुँदैनन्।
 
किताबमा लेखकहरूको विचार छ– आफ्नो ‘ज्ञानको भ्रम’ बारे मानिसलाई अवगत गराउन सकियो भने त्यसले उनीहरूको विचार परिवर्तन हुन सक्छ। तर, यसले नराम्रो नतिजा पनि दिन सक्छ। कोही पनि मानिसले आफूलाई सहजै मूर्ख भएको स्वीकार गर्दैन। ‘म कति मूर्ख रहेछु’ भन्ने प्रमाणित हुँदा तपाईंले कस्तो प्रतिक्रिया दिनु होला?
 
किताबमा स्लोम्यान र फर्नब्याकले ज्ञानका बारेमा मानव समुदायमा रहेको गहिरो समस्या उजागार गरेका छन्। लेखकद्वयसँग उक्त समस्या समाधान कसरी गर्ने भन्ने जुक्ति भने छैन।
 
‘ज्ञानको भ्रम’ व्याप्त छ र यसको जरो गहिरो छ भन्ने स्पष्ट छ। हाम्रो दिमागले कतिसम्म जान्न सक्छ भन्ने पनि सीमा छ। यो आश्चर्यको कुरा होइन। तर, हामी आफ्नो ज्ञानको सीमाबारे विरलै सोच्छौं। मेरो बुझाइमा कमी–कमजोरी होलान् वा म गलत हुन सक्छु भनेर हामी सोच्दै सोच्दैनौं।
 
यो किताबमा ‘ज्ञानको भ्रम’ ले अलि बढी महत्व पाएको छ। लेखकद्वयले त्यसलाई सामाजिक मनोविज्ञानको केन्द्रमा ल्याएका छन्। उनीहरूले सोधेको प्रश्न हो, ‘मानिसको दिमाग शक्तिशाली भएर पनि किन यति सतही हुन सकेको होला?’ त्यसको उत्तर ‘हाइभ माइन्ड’ वा मानिसले समूहबाट प्राप्त गर्ने ज्ञान हो।
 
वर्तमान समयमा यो पुस्तक अत्यन्त सान्दर्भिक छ। एकपक्षीय र झुठा समाचारको बोलबाला रहेको युगमा लेखकद्वयले ज्ञानवर्द्धक शिक्षा पाठकलाई पस्केका छन्। 
 
तपाईं पनि आफ्नो र आफूले पछ्याउने भिडको ज्ञानलाई शंका गर्नुस् है!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.