सिमसारमा धमाधम प्लटिङ


पोखरा, चैत ३०

सानो फाँट, पूर्वपट्टि केही पर नीलो पोखरी जस्तो देखिन्छ। मन्द हावा, कताकति चराको आवाज। वरपर छिपछिपे हिलो। केही मान्छे त्यहाँ उभिएका थिए। तर उनीहरूको जुत्ता, चप्पलमा कत्ति हिलो लागेको थिएन। हुन त उनीहरू सिमसार क्षेत्रमै डुलिरहेका थिए।

फाँटको सतहबाट करिब २ मिटर अग्लो ठाउँमा उभिएर उनीहरू कुरा गर्दै थिए। ‘यस्तो गरेपछि फेवाताल सकिन कति बेर लाग्ला र ?’ उनीहरूको चिन्ता जायज थियो। फेवातालको आयु जोडिएको पामेको सिमसार क्षेत्रमा नै प्लटिङ गरेको दृष्यले सबैको मन पोल्नु स्वभाविकै हो। तर कमैको मात्र यसको विरोधमा आवाज उठ्ने गर्छ।

फेवाताल मुहानको सिमसार नै पुरेर प्लटिङ गरिएको छ। त्यतिमात्र होइन, प्लटिङसम्म जाने मोटरबाटो पनि निर्माण भइसकेको छ। करिब ६ रोपनी जग्गामा प्लटिङ गरिएको स्थानीय शेरबहादुर खड्काले बताए। ‘मेरो दाइको जग्गा हो,’ उनले भने, ‘१ वर्षअघि बेच्नुभयो।’ नरबहादुर खड्काले किशोर दाहाल, लक्ष्मी सुवेदी लगायतकालाई बेचेको उनले सुनाए। स्थानीय भएका हुनाले खड्कालाई त्यहाँ घर बनाउन पाइँदैन भन्ने थाहै थियो। ‘त्यही भएर खड्काले दलाललाई बेचेका हुन्’ स्रोतले भन्यो, ‘दलालहरूले त अनेक जानेका हुन्छन्, नगरपालिकादेखि फेवा संरक्षणमा लागेका संस्थालाई कसरी हो, कसरी आफ्नो पक्षमा पारिहाल्छन्।’

त्यहाँमात्र नभएर खपैदीनिर पनि घडेरी बनाउने सोचले सिमसार क्षेत्र पुर्न लागिएको छ। ‘मोटरबाटोबाट तालतिर पर्खाल लगाएर ट्रिपरमा माटो ल्याउँदै हाल्ने काम भएको छ,’ स्रोतले भन्यो, ‘झट्ट हेर्दा सामान्य काम गर्न लागेको जस्तो देखिए पनि त्यो दलालले घडेरी बनाएको हो।’ सिमसार क्षेत्रवरपर प्लटिङ गर्ने, डोजर लगाउने, घडेरी बनाउने काम गर्न नपाइने भएपछि धमाधम काम हुँदासमेत ताल संरक्षण समिति चुप लागेर बसेको गुनासो स्थानीयको छ।

हुन त साविक पोखरा उपमहानगरपालिकाले फेवातालको किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा बनेका संरचना हटाउने र नयाँ संरचना बन्न नदिने निर्णय गरेको थियो तर पालना भने हुन सकेको छैन।  फेवाताल नै संकटमा पर्ने डरले उपमहानगरपालिकाले कार्यालय नै स्थापना गरी फेवाताल संरक्षण आयोजनाको प्रमुखमा इन्जिनियर महेन्द्रबहादुर गोदारलाई प्रमुख तोकेको थियो। नेपालकै दोस्रो ठूलो ताल फेवाताल बर्सेनि खुम्चँदै गएपछि यसको संरक्षणमा सक्रिय भएर लाग्ने उद्देश्यले स्थापना भएको यो आयोजना पनि मुकदर्शक छ।

फेवातालको विसं २०५४ मा गरिएको सिमांकनको पाना पल्टाएर हेर्ने हो भने जलीय क्षेत्रफल ९ हजार ९ सय ५६ रोपनी अर्थात् ५ सय ५ हेक्टर छ। फेवातालको जम्मा क्षेत्रफल १२ हजार ७ सय ९ रोपनी रहेकोमा २ हजार १ सय १ रोपनी जग्गा अतिक्रमण भइसकेको तथ्यांकले देखाउँछ।

फेवाताल जोगाउन विगतमा अनेक संस्था र योजना तयार भए पनि सिमसार क्षेत्रको सुरक्षा गर्न अझै नसकिएको स्थानीय लेखनाथ पराजुलीले बताए। ‘मैले कति पटक नगरपालिकामा गएर उजुरी दिएको छु,’ उनले भने, ‘केही दिन काम बन्द गर्छन् अनि फेरि उही ताल।’ ताल संरक्षण गर्ने जस्तो संवेदनशील विषयमा सम्बन्धित निकाय मौन रहेको उनले बताए। ‘संरक्षणका लागि केही संस्थाले बोलेमात्र, केही राम्रो प्रतिवेदन पेश गर्दा समेत कुनै काम हुन  सकेन,’ उनले भने, ‘फेवाताल संरक्षणका लागि ४, ५ वर्षअघि बनेको एउटा समितिले नगरपालिकालाई राम्रो प्रस्ताव पेश गरेको थियो तर नगरपालिकाले लागू गरेन।’

२०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा  फेवाताल संरक्षण, प्रवद्र्धन तथा विकासका लागि छानबिन समिति गठन थियो।समितिले ताल संरक्षणका लागि फेवातालको ६५ मिटरवरपर कुनै पनि भौतिक संरचना बन्न नदिन सिफारिस गरेको थियो। फेवातालको सिमसार क्षेत्र संरक्षण गर्न आयोजनाबाट पहल भइरहेको फेवाताल संरक्षण आयोजनाका प्रमुख गोदारले बताए। ‘हामीले त्यस क्षेत्रमा भएको प्लटिङको बारेमा साविक पोखरा उपमहानगरपालिकालाई निवेदन दिएका छौं,’ उनले भने, ‘सायद कारवाही प्रक्रिया अघि बढेको छ।’ बेला बेलामा त्यस क्षेत्रमा अनुगमन पनि गरिएको गोदारले बताए। ‘पामेमा गरिएको प्लटिङ र खपैदीमा बाटो तल पर्खाल लगाएर निर्माण गर्ने कामको विवरणसमेत नगरपालिकामा बुझाइएको छ,’ उनले भने, ‘हाम्रो निवेदनबाहेक ती कार्यविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ।’

यस्तै भए ताल नजोगिने हो कि भन्ने चिन्ता व्यक्त गर्छिन् स्थानीय ८० वर्षीया रतनमाया जलारी। ‘ताल मासिने भो बाबु,’ जलकुम्भी पन्छाउँदै गरेकी जालारीले भनिन्, ‘हामीले यसो नगर, उसो नगर भनेर कसले सुन्छ र ?’ विगतमा ढुंगा चढेर जाने ठाउँमा अहिले सजिलै हिड्न सकिने उनले बताइन्। ‘यहाँसम्म थियो ताल पहिला,’ उनले तालबाट करिब सय मिटरयता देखाउँदै भनिन्, ‘प्लटिङ गरेको देख्दा मन दुख्छ, यसो नगर भन्दा लालपूर्जा छ भन्छन्, अर्कोको गल्ला के भन्न मिल्यो र !’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.