कहिल्यै घाम नलागेको डोम  र हलखोर बस्तीमा निर्वाचनको उत्साह छैन


महोत्तरीको सदरमुकाम जलेश्वरलगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका बजारमा भीडभाड बढ्दो छ। टोलटोलमा विभिन्न पार्टीका कार्यक्रम चलिरहेका छन्। स्थानीयले घरघरमा पार्टीका झन्डा फहराएका छन्। तर महोत्तरीको जलेश्वर, गौशाला र बर्दिवास नगरपालिका लगायत १२ गाउँपालिकाका डोम बस्ती र हलखोरमा भने चुनावको उत्साह देखिँदैन।

तराई मधेशका एकान्त र ऐलानी जमिनमा बस्दै आएका तथा बिहान–बेलुकाको छाक टार्न धौधौ पर्ने डोम र हलखोर समुदायलाई चुनावबारे जानकारी छैन। न कुनै पार्टीका नेता आएर बुझाएका छन् न निर्वाचन आयोगले मतदाता शिक्षा नै सञ्चालन गरेको छ।

सुँगुरपालन गर्ने तथा बाँसका छिटी नाङ्लो ढकियालगायत विभिन्न प्रकारका सामग्री बनाई दिउँसो तिनलाई  बजारमा लगेर  विक्रीवितरण गर्छन् र त्यसैको आम्दानीबाट आफ्नो परिवार चलाउने गर्छन्। बजारमा विभिन्न पार्टीको कार्यक्रम देख्दा मात्र भोट हाल्ने बेला आएछ भनेर थाहा पाएको मटिहानी गाउँपालिका ५ का ५५ वर्षीय महेन्द्र डोमले बताए। ‘खोइ हाम्रो समुदायबाट पनि उठ्न पाइन्छ भन्ने सुनेको छु अहिलेसम्म कोही हाम्रो टोलमा भन्न आएका छैनन्,’ उनले भने। आफ्नो समुदायबाट यसभन्दा अगाडिका निर्वाचनमा नेतृत्व तहमा कोही पनि नहुँदा समुदायभित्रका विकास निर्माणलगायतका विभिन्न समस्यामा कसैले चासो नदेखाएपछि यस पटकको निर्वाचनमा डोम समुदायकै व्यक्तिले नेतृत्व गर्ने सोचका साथ चुनावी माहोलको वातावरण बनाउन लागेको महेन्द्र डोमले बताए।

उनले डोम समुदायका मागको सम्बोधन होला भनेर पहिलाको निर्वाचनमा धेरै आशा गरियो, काम केही भएन यस पटकको निर्वाचनमा समुदायको हितका लागि आफूले नेतृत्व गर्ने सोचमा प्रचारात्मक कार्यमा जुटेको बताए।

डोम समुदायबाट पनि यस पटकको निर्वाचनमा नगर तथा वडाको पदमा प्रतिनिधित्व गराउने सोचमा रहेको सम्बद्ध राजनीतिक दलको भनाइ छ।

जलेश्वर लगायत मटिहानी, बलवा, मनरा, गौशाला, समसी, पडौल, बर्दिवास, गौशाला, एकडारामा बसोवास गरेका डोम र हलखोर समुदायको अवस्था अत्यन्तै दयनीय छ। यिनीहरुको परिवारमा साँझ बिहानको हातमुख जोर्न निकै धौधौ छ।

‘हाम्रो बजेट अरूले लगेर खाइदिन्छ,’ मटिहानी गाउँपालिका ४ का किरण मेस्तरले भने, ‘आफूहरूको प्रतिनिधित्व गर्ने कोही छैन कसलाई गुहार्ने?’

यी समस्या सम्बन्धित निकायमा वकालत गर्ने नेतृत्वकर्ता नहुँदा पनि डोम समुदाय नै सधैँ पछाडि परिरहेको जोगिन्दर डोमले बताए।

यही समस्याको समाधान गरेर डोम समुदायलाई अगाडि बढाउने उद्देश्यका साथ नगर वा वडाको कुनै एक पदमा प्रतिनिधित्व गर्ने तयारीमा उनी जुटेका छन्।

अघिल्लो चुनावमा गाउँमा बाटो बनाइदिने, बालबालिकालाई विद्यालयमा पठाउन सहयोग गर्ने, धारा जडान गरिदिने आश्वासन पाएका उनीहरूले टोलका अगुवाले भनेकै व्यक्तिलाई भोट हाले। तर चुनावपछि कोही फर्केर गएनन्। अहिलेचाहिँ पहिले काम गरिदिनेलाई मात्र भोट हाल्ने सोचमा छन् उनीहरू।

चुनावमा मात्र आउने, त्यसपछि मुख नदेखाउने नेतालाई भोट नहाल्ने भन्दै डोम समुदायले भोट माग्न आउनेका अघि राख्न माग सूचीसमेत तयार पारिसकेका छन्। उनीहरू चुनावका बेला नेताले देखाउने ठूल्ठूला सपनाभन्दा दुई दशकदेखि थाँती आधारभूत विकास, अधिकार प्राप्ति र सामाजिक न्यायको मुद्दामा केन्द्रित छन्।

पिछडिएको समुदायका लागि आउने बजेट गाउँका ठूला नेता एवम् पहुँचवालाले आफ्नो हितमा प्रयोग गर्दै आएको उनीहरुको गुनासो छ। ‘हाम्रो बजेट अरूले लगेर खाइदिन्छ,’ मटिहानी गाउँपालिका ४ का किरण मेस्तरले भने, ‘आफूहरूको प्रतिनिधित्व गर्ने कोही छैन कसलाई गुहार्ने?’

डोम समुदायका बालबालिकाका लागि विद्यालय एवं स्थानीय निकायमा कलम, कापी र पैसा आए पनि नपाउने गरेको ३० वर्षीया सगरिया देवी मल्लिक दुखेसो पोखिन्। उनका छोरी र छोरा स्थानीय सरकारी विद्यालयमा प्राथमिक तहमा पढ्छन्। उनले प्रश्न गरिन् स्थानीय निर्वाचनमा उनी जनताको समस्या बुझ्ने व्यक्तिलाई भोट दिने बताउँछिन्। यसका लागि दलहरूले असल उम्मेदवार छान्न आवश्यक देख्छिन्।

जलेश्वरका डोम बस्तीमा शौचालय र सडक नभएको स्थानीयको गुनासो छ । २० घर डोम जातिका रहेको यस टोलका ५ घरमा मात्र शौचालय छ। यहाँ शौचालय बनाउनलाई कसैले पहल नगरेको दिलिप मेस्तरले बताए।

प्रजातन्त्र पुनःस्थापना भएको २७ वर्ष वित्न लाग्दा पनि देशको राजनीतिक डोमभन्दा बाहिरको विषय बनेको छ। राजनीतिमा डोमले नेता शब्द मात्र सुनेका छन्। देशमा आज के भइरहेको छ । त्यसबारे उनीहरुलाई मतलब छैन। नेपाल भन्यो भने उनीहरु नेपाल अधिराज्यलाई नबुझी काठमाडौंलाई मात्र ठान्ने गर्छन् र उनीहरु आफू बसेको क्षेत्रलाई सरहद भन्छन्। सरहदलाई नै जन्मथलो मान्छन् र उनीहरुको मुलुक पनि जन्मेको हुर्केकै एवंम् आफूले जाने बुझेको ठाउँसम्म हो।

एउटालाई भोट हाले अर्को मालिक रिसाउने र आफूलाई काम नदिने डरले उनीहरू निर्वाचनमा उपस्थिति नै हुँदैनन्। उनीहरुको जातिबाट कोही स्थानीय निकायदेखि संसदसम्मको उम्मेद्‌वार बनेको डोमहरूलाई थाहा छैन। होस पनि कसरी उनीहरु राजनीतिमा चासो नै दिँदैनन्। फलतः यो समुदायबाट कोही चुनाव लडेका पनि छैनन्। विकासका सम्पूर्ण पूर्वाधारहरुबाट डोम जाति पूर्णरूपमा बञ्चित छन्। डोमहरुलाई यहाँको सडक सिँचाइ खानेपानी विद्यालयलगायतका विकासका पूर्वाधारहरुको आवश्यकता नै बोध नभएजस्तो छ ।

नेपालको सबैभन्दा सानो जातको कथित उपमा पाएका यी जाति छुवाछुतकै कारणले पनि माथि उठ्न नसकेका हो। मुलुकभरि छरिएर रहेका १३ हजार २ सय ६८ डोममध्ये १हजार ७ सय २४ जना महोत्तरीमा रहेका छन्। जसमध्ये १हजार ४ पुरूष र ७ सय २० महिला छन्। हलखोरको संख्या २ सय ५१ छ। जसमा महिला १ सय २९ र पुरूष १ सय २२ रहेको छ। डोमहरूमा शिक्षाको विकास हुन सकेको छैन। डोमहरुमा साक्षर संख्या एक प्रतिशत पनि छैन। डोमका छोराछोरीहरु विद्यालय जान पाउँदैनन्।

डोम समुदायमा धनी र गरिबको वर्गीकरण गाउँ टोल र बजार क्षेत्रको वर्गीकरणको आधारमा गरिन्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.