राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल आफूलाई मुद्दा लगाउने सरकार अपदस्त भई हेलकप्टरमा झुन्डिएर भाग्नुपरेको बताएका छन्।
शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सरकार अपदस्त भए पनि आफूमाथिको 'झुटो' मुद्दाको सिलसिला बाँकी रहेको बताएका हुन्।
'मलाई धेरै कुरा भन्नुछ। धेरै कुरा भन्नु पनि छैन। किनकी लामो समय कारागारमा बसेँ। ममाथिको मुद्दाहरूको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे। तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु। तर मलाई केही पनि फरक पर्दैन,' उनले भने।
लामिछानेले आफूलाई व्यक्तिगत रूपमा केही नचाहिएको पनि बताए।
'यो देशको परिवर्तनको लागि कसै न कसैले लड्नै पर्छ हामी लड्छौं,' उनले भने।
अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने दाबी पनि उनले गरे।
‘अघिल्ला सरकारबाट मप्रति प्रतिशोध साँधियो। ढुक्क हुनु म बाट प्रतिशोधपूर्ण राजनीति हुँदैन। जेन–जीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिग बन्यो भने अहिलेको सरकारलाई हामी सघाउनेछौं। रास्वपा सतिसाल बनेर खडा हुनेछ। म काठमाडौं गएर प्रधानमन्त्रीज्यूलाई पनि भेट्नेछु।’
लामिछानेले भदौ २३ गतेका दिन मान्छे मार्नेका विरूद्ध जनता सडकमा निस्किएको बताए। तर त्यतिखेर सरकारमा रहनेहरूले २३ गतेको कुरा नगरी २४ गतेको मात्रै कुरा गरिरहेको उनले बताए।
हामीले ०८४ कुरेका थियौं, जेन–जीले ०८२ मै बजाइदियो
उनले जेन–जी पुस्ता र परिवर्तन चाहने नयाँ शक्तिहरू मिलेर अघि बढ्ने उद्घोष पनि गरेका छन्।
सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्न चाहने शक्तिहरू एक भएर जाने सवालमा त्याग गर्नसमेत तयार रहेको उनले बताए।
‘म जेन–जी पुस्तालाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चुनाव सुनाव कुर्नुभएन। बजाइदिनुभयो। अस्ति २१ आयो, अर्को चुनावबाट थपौंला नि त भनेर सोझो भएर, संसदमा पनि हल्लाखल्ला नगरिकन, कुर्सी–सुर्सी पनि नभाँचिकन उठेर विरोध गर्यौं। जेन–जीले त बजाइदियो,’ उनले भने, ‘बजाउन त हामी पनि बजाउने हो। अल्ली कुरेर, संसदको माध्यमबाट भनेको हो, जेनजीले कहाँको ०८४ कुथ्र्यो ०८२ मै बजाइदियो।’
लामिछानेले एउटा चुनावको लागिमात्रै नभई एउटा पुस्ताको लागि कुर्नेगरी मिल्नुपर्ने सर्त राखेका छन्।
‘मिल्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन। एउटा चुनावका लागि मिल्ने होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन। पुस्ताका लागि राजनीतिमा आएको हो। सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं, नभए नमिलौं,’ उनले भने, ‘मैले कारागारमा हुँदा पनि भनेकै हो। म यहाँ छु, मेरो पार्टी मनाउनुस्। पार्टीले जे भन्छ त्यो मान्छु। मलाई केही चाहिएको छैन। कसैलाई चुनाव चिह्न चाहिए लैजानुस्, झण्डा, पार्टी के चाहिन्छ लैजानुस्। सभापति, उपसभापति के चाहिन्छ लैजानुस् देश बन्नुपर्यो, व्यक्ति बन्नु कुनै ठूलोकुरा होइन। त्याग गर्ने नामको पहिलो नम्बरमा मेरो नाम चढाएको छु।’
लामिछानेले पार्टीका नेताहरू संवादमा रहेकोले मिल्नुपर्नेहरू मिलेरै छोड्ने बताए। आफूलाई अब देशले निकास पाउने विश्वास लागेको पनि बताए।
‘जेन–जीको आन्दोलन भयो। देशका संरचना पनि जलेको छ, हामीलाई दुःख छ। तर त्यो भन्दा बढी त हाम्रा सपनाहरू जलेका छन्। त्यसलाई खरानी हुन दिन भएन। सिंहदरबार, संसद भवन न्यायालय बनाउँला तर वर्षौंदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछ?,’ उनले भने, ‘सबै जेन–जीको साथ बोकेर हामी बनाउँछौं। जेनजी भाइ हो रवि दाइ पनि साथमा छ, किन चिन्ता गर्छौं।’