अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सचिवालय प्रमुख (चिफ अफ स्टाफ) सुजी वाइल्सले ट्रम्पलाई रक्सीको कुलत लागेको व्यक्ति जस्तो भनेकी छन्।
भ्यानिटी फेयर म्यागेजिनमा मंगलबार प्रकाशित अन्तर्वार्तामा उनले रक्सी नखाने ट्रम्पको व्यक्तित्व जँड्याहाको जस्तो भएको टिप्पणी गरेकी छन्।
रक्सीको कुलत लागेको व्यक्तिकी छोरी भएकाले आफूलाई ठूला व्यक्तित्व ठान्नेहरूका बारेमा जानकार भएको उनले बताएकी छन्।
'मैले गर्न नसक्ने केही छैन भन्ने सोचका साथ ट्रम्पले काम गर्छन्,' भन्दै वाइल्सले ट्रम्पको जँड्याहाको जस्तो व्यक्तित्वलाई सकारात्मक रङ दिन खोजिन्।
ट्रम्पको चुनावी अभियानको प्रमुख समेत रहेकी शक्तिशाली वाइल्सले ट्रम्पबारे सकारात्मक कुरा भने पनि उपराष्ट्रपति जेडी भान्सबारे भने नराम्रो टिप्पणी गरेकी छन्।
भान्सलाई उनले षड्यन्त्रको हल्लामा विश्वास गर्ने ‘कन्स्पिरेसी थियोरिस्ट’ भन्दै पहिलो कार्यकालको बेला ट्रम्पको विरोध गर्ने भान्स राजनीतिक फाइदाका लागि मात्रै ट्रम्पसँग नजिक भएको बताएकी छन्।
त्यस्तै, ट्रम्पको चुनावी अभियानमा करोडौं डलर खर्च गरेका अर्बपति इलन मस्कको अनौठो स्वभावतर्फ इशारा गर्दै वाइल्सले ‘अनौठो, अनौठो हाँस’ भनेकी छन्। 'असाधारण प्रतिभा भएका मानिसहरू त्यस्तै हुन्छन् जस्तो लाग्छ' पनि उनले भनेकी छन्।
वाइल्सले त्यस्तो खुलेर टिप्पणी गरेपछि अहिले अमेरिकामा सो अन्तर्वार्ता चर्चामा छ। तर ट्रम्पले भने वाइल्सको समर्थन गरेका छन्। ट्रम्पले द न्यू योर्क पोस्टसँग सो विषयमा कुरा गर्दै उनले उत्कृष्ट काम गरेकी र उनको टिप्पणीबाट आफू नरिसाएको बताएका छन्।
'होइन, उनको भनाइको अर्थ तपाईंलाई थाहै छ, म रक्सी पिउँदिनँ। त्यो कुरा सबैलाई थाहा छ,' उनले पोस्टलाई भने, 'तर मैले धेरै पटक भन्ने गरेको छु कि यदि मैले पिएको भए, म जँड्याहा हुने धेरै सम्भावना हुन्थ्यो। मैले आफ्नो बारेमा धेरै पटक यस्तो भनेको छु। यो कुनै कुरामा निकै लिप्त हुने खालको व्यक्तित्व हो,' भन्दै ट्रम्पले आफ्नो व्यक्तित्वको वर्णन गरे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)