काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए।
'आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते हुनुभएको थियो। उहाँको आज उपचारका क्रममा मृत्यु भएको हो,' उनले भने।
यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए।