शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जभित्र बाटो बिराई हराएका तीन जनालाई नेपाली सेना सहितको संयुक्त उद्धार टोलीले मध्यरातमा उद्धार गरेको छ।
मंसिर २५ गते पानीमुहान क्षेत्रबाट शिवपुरी हाइटतर्फ जाँदै गर्दा बाटो छुटेपछि दुई महिला र एक पुरूष गरी तीन जनाको समूह सम्पर्कविहीन बनेको थियो।
उनीहरूको खोज तलासमा नेपाली सेनाको चन्दननाथ गण, निकुञ्ज प्रशासन र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेको थियो।
खोजी गर्दै जाँदा टोलीले ती तीनै जनालाई शिवपुरी पिक क्षेत्रतिर फेला पारेको र स्वास्थ्य अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उद्धारपछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सकुशल नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाइएको छ।