वैदेशिक रोजगार सम्बन्धी सेवाका लागि विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रकारले प्रलोभन तथा हैरानी दिएर ठगी गर्दै आएका १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका पीडितहरू न्यायका लागि विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने, श्रम स्वीकृतिका लागि विभाग पुगेका सेवाग्राहीलाई अनावश्यक हैरानी दिई बिचौलियामार्फत् काम गर्न बाध्य बनाउने काम गर्थे।
यस्तै उनीहरूले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिदिने, पुर्जी जारी गरिदिने जस्ता झुटा आश्वासन दिँदै रकम असुल्ने काम गर्थे।
पक्राउ परेका १३ जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।