इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको असर भारतसम्म आइपुगेको छ। यो बिस्तारै सर्दै हिमाली क्षेत्रमा पनि आइपुग्न सक्ने मौसमविदहरूले बताएका छन्।
स्थानीय सञ्चार माध्यमका अनुसार हायली गुब्बी ज्वालामुखी विस्फोटपछि वरपरका गाउँमा बाक्लो धुलोको तह जमेको छ।
स्मिथसोनियन इन्टिच्युटका अनुसार यो ज्वालामुखी लगभग १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हो। स्याटलाइट तस्बिरहरूमा धुवाँको ठूला बादल 'रेड सी' माथि तैरिरहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार इथियोपियाको उत्तर–पूर्वी भागमा रहेको यो ज्वालामुखीबाट उठेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ।
यो धुवाँ यमन, ओमान हुँदै भारतसम्म आइपुगेको छ। भारतका मौसमसम्बन्धी सेवाहरूले दिएको जानकारी अनुसार ज्वालामुखी विस्फोटपछि बनेको धुवाँको ठूलो बादल उत्तर भारततर्फ तीव्र गतिमा सर्दै छ।
इन्डिया मेट स्काई वेदरले एक्समा लेखेको छ, 'हायली गुब्बी ज्वालामुखी क्षेत्रबाट उठेको धुवाँको बादल गुजराततर्फ बढिरहेको छ। विस्फोट रोकिएको छ तर बादल वायुमण्डलमा उठिसकेको छ र यो १००–१२० किमी प्रतिघन्टाको गतिमा उत्तर भारततर्फ अघि बढ्दैछ।'
बिबिसीका अनुसार बादलको उचाइ १५ हजारदेखि ४५ हजारफिट बीच छ। यसमा मुख्य रूपले खरानी, सल्फर डाइ–अक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्।
यसले आकाश सामान्यभन्दा गाढा र धुम्म देखिन सक्छ। साथै, हवाई यातायातमा अवरोध आउन सक्ने सम्भावना छ। सुरक्षाका लागि उडान ढिलो हुन सक्ने र मार्ग परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ।
इन्डिया मेट स्काई वेदरका अनुसार, यो बादल गुजरातको पश्चिमी भाग हुँदै राजस्थान, महाराष्ट्रको उत्तर–पश्चिम, दिल्ली, हरियाणा र पंजाबतिर फैलिँदै छ। पछि हिमाली क्षेत्र पनि प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार, बादल मध्यपूर्व हुँदै भारततिर फैलिन थालेपछि एयरलाइन्सहरूले उडानहरू रद्द गर्न थालेका छन्।
इन्डिगोले छ वटा उडान रद्द गर्यो, जसमा एउटा मुम्बईबाट आएको उडान थियो भने बाँकी दक्षिण भारतबाट आएका उडान थिए।
मुम्बई विमानस्थलका अधिकारीले बताएअनुसार, धुवाँको बादलका कारण विमानहरूले पाकिस्तानको हवाई क्षेत्रबाट मार्ग परिवर्तन गर्नुपर्ने भएको छ। तर भारतीय एयरलाइन्सका लागि पाकिस्तानको आकाशमार्ग बन्द भएकाले असर पर्ने सम्भावना अझै बढेको छ।