फागुन २१ गते चुनाव हुँदैछ। चुनाव अगावै नेपाल प्रहरीले झन्डै दुई सय वटा गाडी किन्ने तयारी गरिरहेको छ।
गाडी किन्नका लागि नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले दुई वटा बोलपत्र आह्वान गरेको छ। त्यसमध्ये एक बोलपत्रको सम्झौता हुने चरणमा छ भने अर्को खरिद प्रक्रियाको सुरूआत भएको छ।
त्यसरी दुई वटा बोलपत्रमार्फत नेपाल प्रहरीले झन्डै दुई सय वटा गाडी किन्ने तयारी गरेको हो।
गत कात्तिक २१ गते नेपाल प्रहरीले एक सय वटा पिकअप (पाट्रोल) गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो। त्यस्तै ६ वटा प्रिजनर भ्यान समेत किन्ने भएको हो।
मंसिर ७ गतेभित्र बोलपत्रमा आवश्यक कागजात सहित निवेदन दिनुपर्नेछ।
यसअघि पनि नेपाल प्रहरीले खरिद प्रक्रियाका लागि बोलपत्र आह्वान गरेको थियो।
उक्त आह्वान भएको बोलपत्रको सम्झौता अन्तिम चरणमा पुगेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।
‘यसअघि भएको खरिद प्रक्रिया अन्तिम चरणमा छ। सम्झौता भएपछि गाडीहरू पनि चाँडै नै आउलान्,’ स्रोतले भन्यो।
प्रधान कार्यालयले यसअघि असोज ३० गते बोलपत्र आह्वान गरेको थियो। ७५ वटा पिकअप गाडी र १० वटा इभी पिकअप गाडीका लागि आह्वान गरेको थियो।
७५ वटा गाडी खरिदका लागि दुई वटा कम्पनीका आवेदन परेका थिए। जसमध्ये अग्नी इनकोअपरेटेड प्रालिले ठेक्का पाएको छ।
उक्त कम्पनीले महिन्द्राको पिकअप गाडी ल्याउन लागेको हो। सम्झौता भएको केही समयमा गाडी ल्याइने स्रोतले बताएको छ।
‘खरिद प्रक्रिया विशेष अवस्थामा भएकाले फास्ट ट्र्याकमा अघि बढेको हो। नभए बिडिङका लागि आवेदन दिने समय ३० दिनको हुन्थ्यो। अहिले यो अवस्थामा १५ दिनको मात्रै हुने हो,’ स्रोतले भन्यो, ‘त्यसअनुसार १२० दिनभित्र खरिद पूरा गर्नुपर्ने भएकाले गाडी पनि चाँडै नै आउँछ।’
उनका अनुसार उक्त गाडी ‘युरो ६’ मापदण्डका गाडी आउन लागेको हो।
यो गाडीका लागि अर्को सिप्रदी ट्रेडिङले पनि आवेदन दिएको थियो। यद्यपि अग्नीले ठेक्का पाएको हो।
नयाँ बोलपत्र आह्वान भएको गाडीको प्रकृति पनि सोही अनुसारको हुने प्रधान कार्यालय स्रोतले बताएको छ।
त्यस्तै अर्को १० वटा इभी गाडीको बोलपत्र सिजी मोटर्स प्रालिले पाएको छ। यो गाडी सम्झौता भएको केही सातामै आउने भएको हो।
नेपाल प्रहरीले गाडीसँगै चुनाव लक्षित अरू सामान पनि खरिद गरिरहेको छ।
पछिल्लो समय प्रहरीले ६०० वटा हेल्मेट प्राप्त गरेको छ।
त्यसैगरी चार हजार वटा भीड नियन्त्रण गर्ने गियर पनि खरिद गरिसकेको छ। उक्त गियर आउने क्रममा छ। केही समयमै प्राप्त गर्ने प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।
अश्रुग्यासका २४ हजार सेल पनि खरिद प्रक्रिया अघि बढेको छ। चुनाव अघि ६ हजार सेल आउने र त्यसपछि बाँकी सेलहरू आउने भएको छ।