सरकारले पहिलोपटक हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारी कार्ययोजनामा ल्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना तयार पारेको हो।
यसअघि प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने गरेको थियो। यसपटकदेखि हिमपात पूर्वतयारी र प्रतिकार्य योजना बनेको छ।
कार्ययोजनाअनुसार आगामी मंसिर १५ गतेभित्र हिमपातबाट प्रभावित हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरिने प्राधिकरणले जनाएको छ। उक्त समयावधिभित्र लक्षित वर्गको तथ्यांक अद्यावधिक एवम् लाभग्राहीको प्राथमिकता निर्धारण गरिने प्राधिकरणले बताएको छ।
लाभग्राहीहरूमा ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला लगायत संकटासन्न समूहको संवेदनशीलताका आधारमा प्राथमिकता निर्धारण गर्ने प्राधिकरणले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समितिले क्षेत्र विभाजन गरेर काम गर्ने प्राधिकरणको भनाइ छ।
हिमपात सुरू हुनुअगावै हिमपात जोखिमबारे नागरिकलाई सुसूचित गर्ने, त्यसका लागि बहुभाषामा सामग्री तयार पार्ने प्राधिकरणको योजना छ।
मंसिर महिनाभित्र दुर्घटना कम गर्न पदमार्गमा स्नो पोष्ट बनाउने, त्यसको नेटवर्क तयार पार्ने योजना छ।
मंसिर मसान्तभित्रै सडकमा हिउँ पन्छाउन आवश्यक मेसिन, औजारका साथै त्यससम्बन्धी जनशक्ति तयारी अवस्थामा राख्ने पनि प्राधिकरणको योजना छ।
हिमपात हुने सडकमा चल्ने सवारी साधनहरूको अवस्था नियमित जाँच गर्ने, क्षमता दुरूस्त राख्न नियमन गर्ने पनि प्राधिकरणको योजना छ।