वीरगञ्ज रक्सौल नाकामा संयुक्त सुरक्षा बिट राख्ने तयारी थालिएको छ। त्यसका लागि बिट निर्माणको काम सुरू भएको छ।
मिलेरी पुल नजिक वीरगञ्ज महानगरपालिका वडा नं १६ मा बिहीबार संयुक्त सीमा सुरक्षा बिटको शिलान्यास गरिएको हो।
शौचालय सहितको दुई कोठे बिट निर्माण सम्पन्न भएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाकर्मी बस्नेछन्।
बिट निर्माण खर्च महानगरपालिकाले बेहोर्नेछ। बिटमा सर्वसाधारणको आवागमन निगरानीका लागि सिसिटिभी क्यामेरा समेत जडान गर्ने योजना छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको निगरानीका लागि बिट निर्माण गर्न लागिएको जानकारी दिए।
‘भारततर्फबाट नेपाल प्रवेश गर्ने नाका हुँदै गैरकानूनी रूपमा मानिसहरू आएका छन्, छैनन्। बिट बनेपछि सुरक्षाकर्मीहरूले नेपाल प्रवेश गर्ने मानिसहरूको रेकर्ड राख्ने र उनीहरूको निगरानी गर्नेछन्,’ प्रजिअ दहालले भने।
सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटर पर्सा प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले सीमा सुरक्षामा प्रभावकारिता बढाउन बिट स्थापना गर्न लागिएको बताए।
‘वीरगञ्ज नाका एकदमै भिडभाड हुने नाका हो, जताततैबाट मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन्। को आयो को गयो? केही थाहा हुँदैन,’ उनले भने, ‘मानिसहरूको आवागमनलाई च्यानलाइज गर्न, मान्छे र सवारी साधनको निगरानीका लागि बिट स्थापना गर्न लागेका छौं।’
बिटमा कम्तीमा ५ जना सुरक्षाकर्मीको टोली खटिने उनको भनाइ छ।
वीरगञ्ज नाकालाई व्यवस्थित गर्ने क्रममा वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा शंकराचार्य गेटदेखि मितेरीपुलसम्म सडकको दायाँबायाँ सौन्दर्यीकरणको काम भइरहेको छ।
सीमाबासीसँग सशस्त्र प्रहरी अभियान अन्तर्गत सीमा क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले सीमा नाकामा १९ दिनदेखि सौन्दर्यीकरण अभियान चलिरहेको जानकारी दिए।
‘महानगरपालिका, सशस्त्र र नेपाल प्रहरीसँगको समन्वयमा काम भइरहेको छ, एक महिनाभित्र परिवर्तन देखिन्छ,’ उनले भने।
नाका क्षेत्रमा यसअघि लगाइएका बिरूवा पनि हुर्कँदै गएको उनको भनाइ छ।
महानगरपालिकाले मितेरी पुलमा स्ट्रिट लाइट जडान गर्ने, १५/२० फिटका बिरूवा कलकत्ताबाट मगाएर लगाउने, पुरानो वीरगञ्ज भन्सारको पर्खालमा मौलिकता झल्कने पेन्टिङ गर्ने योजना बनाएको छ।