राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
बाराको सिमरामा बुधबारदेखि जेनजी युवाहरुको प्रदर्शन र झडपका कारण स्थिति तनावपूर्ण छ। बुधबारको घटनाका दोषीलाई कारबाहीको माग राखेर प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु र प्रहरीबीच झडप भएपछि प्रशासनले बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पुर्याउने सबैलाई आग्रह गरेको छ।
‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ अयाोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ,’आयोगका प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
मानव अधिकार आयोगले नेकपा एमालेका कार्यकर्ता र जेन्जी समूहका बिच भएको घटनाबारे ध्यानाकर्षण भएको र त्यसबाट उत्पन्न परिस्थितिको अनुगमन गरिरहेको विज्ञप्तीमा जानकारी गराइएको छ।
आयोगका अनुसार बुधबार स्थानीय जेनजी समूहका संयोजकले मंसिर २ र ३ गते फेसबुकमार्फत गरेको आव्हानपछि सोही समयमा भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरुले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउने भन्दै बिहान करिब १०.३० बजे जेन्जी युवाहरू सिमरा चोकमा जम्मा भएका थिए। त्यस स्थानमा नेकपा एमालेका कार्यकर्ता पुगेपछि दुई पक्ष बिच विवाद भई असामान्य परिस्थिति सिर्जना हुँदा पाँच जना युवा घाइते भएको देखिएको छ।
त्यसपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको पाइएको छ। घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ।
उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको पाइएको छ।
बुधबारको झडपमा पाँच जना घाइते भएको, घाइतेहरूको नगर अस्पतालमा उपचार भएको आयोगले जनाएको छ। घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको समेत जनाईएको छ।
देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन आयोगले ध्यानाकर्षण गराएको छ।
आयोगले भनेको छ, ‘यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरूबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ, अतः शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ।’
एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले मंसिर ३ गते बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय पूर्व निर्धारित कार्यक्रममा भाग लिन बुधबार केन्द्रीय नेताहरू सिमरा आउने कार्यक्रम थियो। जेनजीसँगको झडपपछि उत्पन्न परिस्थितिका कारण विमानस्थल बन्द भएपछि उनीहरु सिमरा आउन पाएनन्।