'गरिखान देऊ' अभियानका संयोजक मिराज ढुंगानाले आफ्नो कार्यालयमा आक्रमण गर्न आएको भनी आरोप लगाएका तीन जनामध्ये एक जना डा. जगत विक हुन्।
उनले सेतोपाटीसँग कुरा गर्दै डा. विकसहित तीन जना आक्रमण गर्न आएको बताएका थिए।
ढुंगानाले पोलेका जगत विक भदौ २३ र २४ को जेनजी आन्दोलनका घाइतेहरूका संयोजक हुन्। हामीले ढुंगानाले लगाएको आरोपबारे डा. विकसँग कुरा गरेका छौं र ढुंगानाको कार्यालयमा बुधबार साँझ के भएको थियो भनेर सोधेका छौं।
डा. विकले मिराजको सचिवालयबाट प्रकाश शर्माले फोन गरेपछि छलफल गर्न गएको बताएका छन्।
'हामी पनि आन्दोलनको तयारी गरिरहेका छौं, आउनुहोस् गफ गरौं भनेर उहाँहरूको सचिवालयले फोन गरेर भेट्न बोलाएपछि हामी बुधबार साँझ ६ बजेतिर भेट्न गएका थियौं,' डा. विकले सेतोपाटीसँग भने।
आफूसहित वेद थापा, हरि अधिकारी लगायत चार जना गएको उनले बताए। अधिकारी जेनजी आन्दोलनका घाइते हुन् भने थापा घाइतेका आफन्त हुन्।
'हामी पुग्दा मिराज ढुंगाना कार्यालयमै थिए। हरिले मिराजलाई भेट्नासाथ सयौं पटक फोन गर्दा पनि किन नउठाएको भनेर गुनासो पोखे,' विकले भने, 'हरिको गुनासो सुनेर मिराज रिसाए र असभ्य शैलीमा जबाफ फर्काउन थाले। उनको जबाफ सुनेर वेद थापाले सम्झाउने कोसिस गरेका हुन्।'
'हामीले तपाईंलाई जेनजीका नेता मानेका छौं। तपाईंले यस्तो भन्नु हुँदैन, राम्रो व्यवहार गर्नुपर्छ,' वेदको भनाइ उद्धृत गर्दै विकले भने, 'त्यसपछि विवाद बढ्दै गयो।'
उनका अनुसार वेद मास्क लगाएर गएका थिए।
मिराजले पनि हामीसँगको कुराकानीमा आक्रमण गर्न आएकामध्ये एक जनाले मास्क लगाएको बताएका थिए।
'मिराजले मास्क खोल्न भन्दै विवादलाई अर्कैतर्फ मोडे। हामीले आन्दोलनका घाइतेहरूका तर्फबाट छलफल गर्न आएको भन्दा पनि उनले हामीलाई नचिनेझैं गरे र कुरा गर्न चाहेनन्,' डा. जगत विकले भने, 'त्यहाँको माहोल अशान्त हुँदै गएपछि कसैले प्रहरीलाई खबर गरिदिए।'
जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेपछि 'एक पटकलाई सामान्य विवाद भइहाल्यो' भन्दै सम्झाइबुझाइ गरेर आफूहरूलाई फिर्ता पठाइदिएको उनको भनाइ छ।
मिराजले भनेझैं आफूहरूले त्यहाँ गएर कसैमाथि पनि कुटपिट नगरेको जगतको दाबी छ। अझ महिला साथीहरूलाई धकेलेर हिँडेको भन्ने भ्रम छरिएको उनले बताए।
'मिराजले आरोप लगाएजस्तो केही भएको छैन। कसैमाथि पनि कुटपिट र दुर्व्यवहार भएको छैन,' उनले भने, 'महिलाहरूलाई धकेल्ने वा कुटपिट गरेको भए प्रहरीले हामीलाई यसै पठाउँदैन थियो।'
उनले अगाडि भने, 'हामीले केही गरेका छैनौं। प्रश्न मात्र गरेका हौं। मिराजले भ्रम छरिरहेका छन्।'
'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाले यसअघि हामीसँगको कुराकानीमा तीन जना व्यक्ति काठमाडौंको नक्सालस्थित आफ्नो कार्यालय आएर विवाद र हातपात गरेको बताएका थिए।
'उनीहरू कोही पनि जेनजी होइनन्,' ढुंगानाले सेतोपाटीसँग भने, 'मास्क लगाएका व्यक्तिले कार्यालय आएर हामीलाई थर्काए। मैले मास्क खोलेर कुराकानी गरौं न भन्दा पनि मान्दै मानेनन्।'
आक्रोशित हुँदै आएका ती तीन जनालाई आफ्नो टिमले नियन्त्रणमा लिन खोजेको उनले बताए।
ढुंगानाका अनुसार नियन्त्रणमा लिन खोज्दा सुरूमा पुरूष सदस्यमाथि दुर्व्यवहार गरिएको थियो। त्यसपछि महिला सदस्यलाई पनि धकेलेको उनले बताए।
यसरी आक्रमण गर्न थालेपछि आफूहरूले नै प्रहरी बोलाएको ढुंगानाको भनाइ छ।
'प्रहरी आएपछि राम्ररी को-अपरेट भयो। उनीहरू भागे। तोडफोड गर्न खोजेका थिए, तर पाएनन्,' ढुंगानाले भने। 'उनीहरू आएर मैले भनेको किन मान्नुभएन, मैले भनेका कुरा सुन्नुपर्यो, फोन उठाउनुपर्यो लगायत कुरा गर्नुभयो। मैले तीन करोड मान्छेको फोन कसरी उठाउनू भनेर जबाफ दिएँ। मुख पनि देखाइरहेका थिएनन्।'
हामीले यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईलाई सोध्दा विवाद हुन थालेपछि ढुंगानाकै टिमका एक जनाले प्रहरीलाई खबर गरेको बताए।
'हिजो मलाई ६ बजेतिर फोन आएको थियो। उहाँहरूको टिमकै एक जना सदस्यले विवाद हुन लाग्यो भनेर फोन गर्नुभएको थियो,' उनले भने।
यसरी फोन आएपछि प्रहरीको टोली पाँच मिनेटमै मिराजको कार्यालय पठाएको उनले बताए।
'फेरि मैले त्यही व्यक्तिलाई फोन गरेर के छ तपाईंहरूको भनेर सोधेँ। प्रहरीले हस्तक्षेप गर्नुपर्ने विषयवस्तु हो कि होइन भनेर। उहाँले सामान्य विवाद भएको हो भन्नुभयो,' एसपी भट्टराईले भने, 'उहाँहरूबीच संवाद, छलफलको बीचमा भनाभन भएको रहेछ। मैले रिकन्फर्म गर्न प्रहरी पुगिसकेर पनि फोन गरेको हुँ।'
***
यो पनि:
मिराज ढुंगाना भन्छन्– तीन जना आक्रमण गर्न आएका थिए, एक जनालाई मात्र चिनेँ