'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाले बुधबार साँझ तीन जना आफ्नो कार्यालयमा आक्रमण गर्न आएको बताएका छन्।
प्रहरी नै जानुपर्ने गरी कार्यालयमा के भएको थियो भनेर हामीले प्रश्न गर्दा ढुंगानाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार बुधबार साँझ ६ बजेतिर तीन जना व्यक्ति काठमाडौंको नक्सालस्थित उनको कार्यालय गएर विवाद र हातपात गरेका थिए। तीमध्ये एक जनाले मास्क लगाएको र एक जनालाई मात्र चिनेको उनले बताए।
'उनीहरू कोही पनि जेनजी होइनन्,' ढुंगानाले सेतोपाटीसँग भने, 'मास्क लगाएका व्यक्तिले कार्यालय आएर हामीलाई थर्काए। मैले मास्क खोलेर कुराकानी गरौं न भन्दा पनि मान्दै मानेनन्।'
आक्रोशित हुँदै आएका ती तीन जनालाई आफ्नो टिमले नियन्त्रणमा लिन खोजेको उनले बताए।
ढुंगानाका अनुसार नियन्त्रणमा लिन खोज्दा सुरूमा पुरूष सदस्यमाथि दुर्व्यवहार गरिएको थियो। त्यसपछि महिला सदस्यलाई पनि धकेलेको उनले बताए।
यसरी आक्रमण गर्न थालेपछि आफूहरूले नै प्रहरी बोलाएको ढुंगानाको भनाइ छ।
हामीले उनलाई आक्रमण गर्न आएकामध्ये परिचित व्यक्ति को हुन् भनेर सोधेका थियौं।
जबाफमा उनले डा. जगत बिकलाई मात्र आफूले चिनेको बताए।
'थापा थरका एक जना व्यक्ति र अर्को डा. जगत बिक हुन्,' उनले भने, 'मास्क लगाएका व्यक्तिलाई मैले चिनिनँ।'
ढुंगानाले आफूमाथि आक्रमण गर्न आएको भनी पोलेका डा. जगत बिक भदौ २३ र २४ को जेनजी आन्दोलनका घाइतेहरूका संयोजक हुन्।
ढुंगानाले आफूमाथि आक्रमण गर्न आउनुको कारण प्रस्टसँग थाहा नभएको र उनीहरू जेनजी प्रतिनिधिसमेत नभएको बताए।
ढुंगानाका अनुसार आक्रमण गर्न गएका व्यक्तिले आफ्नो एजेन्डा अनुसार काम नगरेको, फोन नउठाएको लगायत गुनासा गरेका थिए।
'प्रहरी आएपछि राम्ररी को-अपरेट भयो। उनीहरू भागे। तोडफोड गर्न खोजेका थिए, तर पाएनन्,' ढुंगानाले भने, ‘उनीहरू आएर मैले भनेको किन मान्नुभएन, मैले भनेका कुरा सुन्नुपर्यो, फोन उठाउनुपर्यो लगायत कुरा गर्नुभयो। मैले तीन करोड मान्छेको फोन कसरी उठाउनू भनेर जबाफ दिएँ। मुख पनि देखाइरहेका थिएनन्।'
विवाद हुन थालेपछि ढुंगानाकै टिमका एक जनाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईलाई सम्पर्क गरेका थिए।
'हिजो मलाई ६ बजेतिर फोन आएको थियो। उहाँहरूको टिमकै एक जना सदस्यले विवाद हुन लाग्यो भनेर फोन गर्नुभएको थियो,' उनले भने।
यसरी फोन आएपछि प्रहरीको टोली पाँच मिनेटमै मिराजको कार्यालय पठाएको उनले बताए।
'फेरि मैले त्यही व्यक्तिलाई फोन गरेर के छ तपाईंहरूको भनेर सोधेँ। प्रहरीले हस्तक्षेप गर्नुपर्ने विषयवस्तु हो कि होइन भनेर। उहाँले सामान्य विवाद भएको हो भन्नुभयो,' एसपी भट्टराईले भने, 'उहाँहरूबीच नै संवाद, छलफलको बीचमा भनाभन भएको रहेछ। मैले रिकन्फर्म गर्न प्रहरी पुगिसकेर पनि फोन गरेको हुँ।'