प्रहरीले वीरगञ्जबाट चोरीका सुनचाँदीका गरगहनासहित चार जनालाई पक्राउ गरेको छ।
झण्डै ३७ लाख रुपैयाँ मूल्य बराबरको गहना सहित चार जनालाई पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा तीन भारतीय र एक नेपाली छन्।
भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थाना सरकिला गाउँका ३३ वर्षीय विजय राय, ६० वर्षीय शेख बुनाद, बिहारको बेतिया जिल्ला आरापिपरा बस्ने ३१ वर्षीय विनोद राउत र पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढाका २० वर्षीय विद्याकुमार नटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार कात्तिक ३० गते वीरगञ्ज वडा नम्बर ३२ मा शंका लागेर लु.९६ प ३७३३ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरिएको थियो। त्यसमा सवार शेख बुनादको शरीर खानतलासी गर्दा पाइन्टको दाहिने खल्तीबाट सेतो रंगको रूमालमा बेरिएको सेतो रंगको कागजभित्र बिलबिजक नरहेको सुनका केही गहना फेला परेको थियो। प्रहरीले त्यति नै बेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो।
शेखले दिएको बयानका आधारमा प्रहरीले टेढाका विद्याकुमारको घरमा खानतलासी गर्दा घरभित्र लुकाएर राखिएका ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरू भेटिएको थियो।
उनको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान, सुनको नथिया ३ थान, सुनको पोते सहितको माला २ थान, सुनको लकेट १ थान, सुनको औंठी १ थान, सुनको मांगटीका २ थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का २ थान, सुनको बिछिया ८ थान, चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान बरामद भएको एसपी पाठकले जानकारी दिए।
३ लाख ७९ हजार नेपाली रुपैयाँ र ९ हजार २ सय भारतीय रुपैयाँ समेत गरिएको उनको भनाइ छ।
बरामद गरिएका सुनचाँदीका गरगहनाहरू पर्सा र बाराका विभिन्न स्थानमा लागेका मेला, उत्सव र चाडवाडको भीडभाडबाट चोरी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
‘गहनाको धनी को हो थाहा छैन, बिलबिजक सहित गहनाधनीहरू सम्पर्कमा आए छानबिन गरेर फिर्ता दिन्छौं,’ उनले भने, ‘छिटोभन्दा छिटो गहना सनाखत गर्न आइदिनू।’
पक्राउ परेका चारै जना विरूद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।