गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार पक्राउ पर्नेहरूमा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट हत्कडी चोरी गर्ने तथा ड्रिमल्याण्ड होटलमा आगजनी, तोडफोड र चोरीमा संलग्न रहेकाहरू हुन्।
प्रहरी उपरीक्षक रानाका अनुसार प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेहरूमा तिलोत्तमा नगरपालिका वडा नं. ९ का ३२ वर्षको मुर आलम मुसलमान, ३६ वर्षको सुरज भण्डारी, २७ वर्षको कुमार उप्रेती र तिलोत्तमा ७ को १९ वर्षको विनोद सुनुवार रहेका छन्।
त्यस्तै, प्रहरी कार्यालयबाट हत्कडी चोरी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. ११ का २९ वर्षीय विवेक शाहीलाई पनि प्रहरी पक्राउ गरेको हो।
शाहीले प्रहरी कार्यालयबाट हत्कडी चोरी गरी आफ्नै कोठामा लगेर राखेको र हत्कडी सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले बताए।
त्यस्तै, ड्रिमल्याण्ड होटलमा आगजनी, तोडफोड र चोरीमा संलग्न बुटवल उपमहानगरपालिका वडा नं. ४ को ३८ वर्षीय अनिल थापा पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई चोरी र आपराधिक उपद्रवमा मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए।