गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाल्पाको तिनाउमा लागेको सत्यवती मेलामा झन्डै ४० लाख भेटी संकलन भएको छ।
तिनाउ गाउँपालिका वडा नं. ४ कोल डाँडास्थित सत्यवती तालको छेवैमा रहेको सत्यवती बजैको मन्दिर चिच्च्याएर वर माग्ने मन्दिर र देवीको रूपमा प्रख्यात छ।
अन्य मन्दिरभन्दा अलग्गै पहिचान बोकेको सत्यवती मन्दिरमा मूर्ति राखिएकी सत्यवती बजैले कान कम सुन्ने भएकोले त्यहाँ पुग्ने दर्शनार्थीहरूले चिच्च्याएर मागेको वर पूरा हुने विश्वास गरिन्छ।
सोही कारण हरेक वर्ष कात्तिक पूर्णिमाका दिन त्यहाँ विशेष मेला लाग्ने गर्दछ। यस वर्ष कात्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई महाजोक मानिने भएकोले कात्तिक १५ देखि २० गतेसम्म सत्यवती मन्दिरमा ठूलो मेला लागेको थियो।
सोही मेलामा गएका दर्शनार्थीहरूले सत्यवती मन्दिरमा रहेका मन्दिरमा चढाएको भेटी गणना गर्दा ३९ लाख ७७ हजार रुपैयाँ संकलन भएको हो। कात्तिक २० गतेदेखि सुरू गरिएको भेटी गणना गर्ने काम ३० गते मात्र सकिएको हो।
सत्यवती मन्दिर ताल संरक्षण समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार मेलामा संकलन भएको भेटी तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको रोहबरमा गणना गरिएको थियो।
जसमध्ये मेलामा गएका दर्शनार्थीले श्रद्धापूर्वक मन्दिरमा चढाएको २२ लाख ७७ हजार ८ सय ४५ रुपैयाँ, नगदी रसिदबाट संकलन भएको १२ लाख १२ हजार र मेला स्थलको स्टल तथा बोका र परेवा बिक्रीबाट ४ लाख ८७ हजार गरी ३९ लाख ७७ हजार भेटी संकलन भएको समितिका अध्यक्ष गाहाले बताए।
यस वर्ष संकलन भएको भेटी गत वर्ष भन्दा झन्डै सात लाखले बढी हो। गत वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ भेटी संकलन भएको थियो।
अध्यक्ष गाहाका अनुसार मन्दिरको दर्शनको लागि गएका दर्शनार्थी हरूले चाँदी र सुनका गरगहनासमेत सत्यवती बज्यैलाई चढाएका छन्। खुट्टामा लगाउने चाँदीका पाउजु, हातमा लगाउने ब्रासलेट, सुनको जन्तर र घाँटीमा लगाउने सिक्री समेत चढाएको अध्यक्ष गाहाले बताए।
सत्यवती मन्दिरमा संकलन भएको भेटीबाट मन्दिरको विकाससँगै सत्यवती तालसम्म पुग्ने सडक, शौचालय, खानेपानी, विश्राम स्थल लगायतको निर्माणमा खर्च गरिने समितिका अध्यक्ष गाहाले बताए।
चार दिन लागेको धार्मिक मेलामा २ लाख बढी दर्शनार्थीले सत्यवती बज्यै मन्दिरको दर्शन गरेको समितिले जनाएको छ। वरिपरि घना जङ्गलले घेरिएको सत्यवती ताल क्षेत्रमा बाजे र बजैका दुई वटा मन्दिर छन्। मन्दिर बाजे बजै दुबैका रहे पनि पूजा गर्ने र वर माग्ने काम भने बजैको मन्दिरमा मात्र गरिन्छ।
परापूर्व कालमा सत्यवती बजैले जङ्गलको बिचमा तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्ती छ। सत्यवती बजैले कान कम सुन्ने भएकोले चिच्च्याएर मागेको वर पूरा हुने जनविश्वास छ। सोही विश्वासले पहिले वर माग्न गएकाहरू मागेको वर पूरा भएपछि पुनः जाने गर्छन्।
वर माग्न र सत्यवती बजैको दर्शन गर्न जानेहरूले बाँस र पातीको लिङ्गो सँगै लिएर जाने गर्छन्। सोही लिङ्गोलाई राती तालको छेउमा गाडेर पूजा गर्ने र बिहान आफूले गाडेको लिङ्गोलाई चिनेपछि चिच्च्याएर मागेको वर पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ।