प्युठानमा सोमबार बिहान एउटा कुकुरका कारण नवजात शिशु हत्याको रहस्य खुलेको छ।
बिहान साढे ९ बजेतिर एउटा कुकुरले भुइँ खोस्रेर त्यसमुनि गाडिएको नवजात शिशुको शव निकालेको थियो र त्यसलाई मुखमा च्यापेर गाउँमा डुलाउँदै हिँडेको थियो।
स्थानीयले यस्तो दृश्य देखेपछि प्रहरीलाई खबर गरे।
प्रहरीले कुकुरको मुखबाट नवजात शिशुको शव खोसेर अनुसन्धान सुरू गर्यो। त्यस क्रममा एक २१ वर्षीया महिला पक्राउ परेको प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
'ती महिलाले परपुरूषसँगको सम्बन्धबाट तीन-चार दिनअघि छोरी जन्मिएपछि पोल खुल्ने डरले गहुँबारीमा फालेको बयान दिएकी छन्,' प्रहरी निरीक्षक भट्टराईले भने।
नवजात शिशुको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
पक्राउ परेकी महिलामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालतले सोमबार पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।