दाङ प्रहरीले भन्सार छली ल्याएको साढे तीन लाख बढीको चिनी र कपडा बरामद गरेको छ।
सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाँउपालिका–१ भालुवाङ पुल्चोकबाट चेकजाँचका क्रममा झन्डै डेढ लाख मूल्य बराबरको चिनी बरामद गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाँउपालिका–१ भालुवाङ पुल्चोकमा चेकजाँचका क्रममा भारतबाट भन्सार छली ल्याएको २८ बोरा चिनी बरामद गरेको हो।
ट्रक र सामान नियन्त्रणपछि आवश्यक कारबाहीको लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, कात्तिक २१ गते लमही नगरपालिका–९ अमिलियामा चेकजाँच गर्दा दुई लाख बढी मूल्यका कुर्ता सुरूवाल बरामद गरेको थियो।
बाँकेबाट दाङतर्फ आउँदै गरेको यात्रुबहाक सवारी साधन चेकजाँच गर्ने क्रममा ८५ सेट कुर्ता सुरूवाल बरामद गरेको हो।
दुई लाख १२ हजार बढीको कुर्ता सुरूवाल यात्रुबहाक गाडीको छत तथा डिक्कीमा लुकाइछिपाइ ल्याएको कपडा बरामद भएको प्रवक्ता शाहले बताए।
बरामद कपडा थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाके पठाइएको प्रहरीले जनाएको छ।