भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका ७ वटा मानव कंकालको सनाखत नभएपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
आगजनीमा परेको काठमाडौंको चुच्चेपाटी भाटभटेनीमा भेटिएका ७ वटा शवको पहिचान खुल्न नसकेपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
शव पूर्ण रूपमा जलेकाले डिएनए परिक्षणसमेत हुन नसकेको केन्द्रीय प्रहरी कार्यालयको प्रवक्ता डिआइजी बिनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार डिएनए परिक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले जलेका शवबाट केही टुक्रा निकालेर पठाएको थियो। तर जीवित सेल नभेटिएकाले परिक्षण हुन सकेन।
'डिएनए परिक्षणका लागि जीवित सेलको आवश्यकता पर्छ। शरिरमा कुनैप नि कोष जीवित नभएकाले डिएनए ट्रेष्ट हुन सकेन,' डिआइजी घिमिरेले भने, 'पहिचान खुल्न नसकेकाले बेवारिसे मानिनेछ।'
सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले डिएनए परिक्षण हुन नसकेको जानकारी दिइसकेको छ।
उनीहरूको पहिचान खुल्ने एउटै मात्र आशा डिएनए परिक्षण थियो। त्यो पनि हुन नसकेपछि ती कंकाललाई बेवारिसे मानेर व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए।
'कंकाल टिचिङ अस्पतालमै छ। बेवारिसे मानेर प्रक्रिया पूरा गरेर अन्त्येष्टि गरिन्छ,' उनले भने।
डिएनए परिक्षण हुन सकेन भनेर प्रहरी प्रयोगशालाबाट आधिकारिक पत्र आएपछि कंकाललाई बेवारिसे मानेर व्यवस्थापनको प्रक्रियामा अगाडि बढ्ने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले बताए।
उनका अनुसार प्राय: बेवारिसे शव पहिचान गर्न सामाजिक सञ्जालमा फोटोहरू राखेर जानकारी गराइन्थ्यो तर उक्त शवको हकमा त्यो सम्भव छैन।
'शरीर पूर्ण जलेकाले केही हड्डीहरू मात्र बाँकी छ। त्यसलाई छुँदा मासिन सक्छ,' चौधरीले भने, 'कंकाल मात्र भएकाले फोटो खिचेर राखेर पहिचान खुल्दैन। त्यसैले अब अन्त्येष्टिको प्रक्रियामा जान्छ।'
बेवारिसे शव व्यवस्थापन गर्न अस्पतालले प्रहरीलाई पत्र पठाउँछ। त्यसपछि प्रहरीले शव व्यवस्थापन गर्ने विभिन्न निकायहरूसँग समन्वयन गरेर पशुपतिमा लगेर जलाउने चौधरीले जानकारी दिए।
आन्दोलनको क्रममा जलेर मृत्यु भएकाले उनीहरूको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा प्रहरीले निर्धारण गर्नसक्ने उनको भनाइ छ।
मान्छे हराएको भन्दै मानिसहरू आए पनि शव पहिचान हुन सक्ने कुनै पनि प्रमाण छैन। ‘त्यसैले कसैलाई जिम्मा लगाउन सकिँदैन,’ उनले भने।
भाटभटेनीले आफ्नो कर्मचारीहरू आगजनीमा नपरेको बताउँदै आएको छ।