गजामा शान्ति स्थापना गर्न इन्डोनेसिया, अजरबैजान र पाकिस्तानले सेना पठाउने सम्भावना देखिएको छ।
गजाबाट इसराइलको सेना फिर्ता भएपछि सुरक्षाको जिम्मेवारी लिन प्यालेस्टिनी सेना तयर नहुन्जेलसम्म स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेना राख्नेबारे अहिले वार्ता चलिरहेका छ।
सेना पठाउन हालसम्म कुनै पनि देशले पक्का प्रतिबद्धता जनाएका छैनन्। तर इन्डोनेसिया, अजरबैजान र पाकिस्तान मुख्य दाबेदर भएको भनेर त्यसबारे गोप्य तथा संवेदनशील छलफलमा सहभागी एक हालका र एक पूर्व-अमेरिकी रक्षा अधिकारीको हवाला दिँदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।
ती अधिकारीहरूका अनुसार अहिलेसम्म यी तीन देशले सेना पठाउन सबभन्दा बढी चासो देखाएका छन्।
गजामा शान्तिका लागि ट्रम्पले अघि सारेको २०-बुँदे योजना पनि एक अस्थायी स्थायित्व बल तैनाथ गर्न अरब र अन्य साझेदारहरूसँग अमेरिकाले काम गर्नेछ भनेको छ। सो बलले प्यालेस्टिनी प्रहरीबाट आतंककारी नभएको पक्का गरेर छानिएका सुरक्षाकर्मीलाई तालिम दिने र शान्ति सुरक्षा कायम गर्न तिनलाई सहायता गर्नेछ। त्यसका लागि गजासँग सिमाना जोडिएका इजिप्ट र जोर्डनसँग पनि परामर्श गरिनेछ।
अमेरिकाले गजामा आफ्नो सेना नपठाउने भनेर स्पष्ट पारेको छ।
यस्तो अन्तर्राष्ट्रिय बलले हमास र इसराइलबीचको युद्ध अन्त्य गर्ने र गजाको पूर्ण गैरसैनिकीकरण र पुनर्निर्माणको बाटो खोल्ने ट्रम्पको अपेक्षा छ।
शान्ति योजनाका लागि इजिप्ट, कतार र संयुक्त अरब इमिरेट्सका केही सैनिक पनि परिचालन हुने अपेक्षा छ। तर शान्ति सुव्यवस्था कायम गर्न ठूलो संख्यामा सैनिक चाहिने भएकाले इन्डोनेसिया, अजरबैजान र पाकिस्तानका सेना पठाइने सम्भावना बढेको हो। यी तीन वटै देश मुस्लिम बहुल भएकाले यी देशका सेनालाई स्थानीयले स्वीकार गर्ने सम्भावना पनि बढी हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)