प्रधानमन्त्री सुशीला कार्कीले विपदको यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन्।
शनिबार साँझ देशवासीका नाममा एक भिडिओ सन्देश दिँदै उनले अत्यावश्यक नभई सडकमा ननिस्किन र सवारी नचलाउन पनि अनुरोध गरेकी छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई उनले अपिल गरेकी छन्।
'यो चुनौतीपूर्ण समय हो। प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद सबै सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा छन्,' उनले भनेकी छन, 'हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौं।'
अहिले राजमार्गहरू बन्द रहेको जानकारी दिँदै अवस्थाले साथ दिनबित्तिकै खुलाउन प्राथमिकता रहने उनले बताइन्।
'तपाईंहरू जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुस्। अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्,' उनले भनिन्।
प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको पनि उल्लेख गरिन्।