कर्णाली राजमार्ग अन्तर्गत पाल्तडामा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षीय एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
एडमन ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय विपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।