जेनजी आन्दोलनका क्रममा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ घर भई वीरगञ्ज बस्दै आएकी ४५ वर्षीया सुशीला हजराको मृत्यु भएको हो।
उनी व्यवसायी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाको वीरगञ्जस्थित घरमा काम गर्थिन्। उनले ३ वर्षदेखि रूंगटा परिवारलाई किचन र सरफाइको काममा सघाउँदै आएकी थिइन्।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको रूंगटाले जानकारी दिए।
‘अरू भागेर तल आउँदा उहाँ भागेर माथि जानुभएछ, आगोले आधा शरीर जलिसकेको थियो, उपचारको क्रममा उहाँको सोमबार निधन भएको छ,’ व्यवसायी रूंगटाले भने।
जेनजी प्रदर्शनको क्रममा २४ भदौमा वीरगञ्ज–१३ स्थित उनको घरमा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गरेका थिए।
घरभित्र मानिसहरू रहेकै अवस्थामा बाहिरबाट आगजनी गरिएको थियो।
छतमा रहेकी हजारा र रवी नाम गरेका भारतीय युवकलाई जलेर घाइते भएको अवस्थामा महानगरको वारुण यन्त्रको भर्याङ प्रयोग गरेर सुरक्षाकर्मीले उद्धार गरेका थिए।
गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। भोलिपल्ट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो।