बच्चालाई अटिजम हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलालाई सिटामोल प्रयोग नगर्न आग्रह गरेका छन्।
दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको स्मृति सभामा शनिबार बोल्दै उनले सिटामोलकै कारण अटिजम हुने दाबी गरे।
'मलाई लाग्छ हामीले अटिजमको जबाफ पायौं, यो नित्तान्त आवश्यक नभएसम्म नखानुहोस्। यसलाई नखानका लागि भरसक प्रयास गर्नुहोस्,' उनले गर्भवती महिलालाई आग्रह गरे।
उनको सो दाबीपछि सोमबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले सिटामोलको लेबलमा अटिजमको बढ्दो जोखिमको बारेमा चेतावनी थप्ने भनेर अमेरिकी मिडियाले जनाएका छन्।
सिटामोलमा हुने एसिटोमिनोफिन तत्व भएको सबैभन्दा चल्तीको अमेरिकी औषधि ब्रान्ड टाइलानोल हो। त्यसैले अमेरिकामा सिटामोललाई टाइलानोल भनेर चिनिन्छ।
अमेरिका, बेलायत लगायत प्राय: सबै पश्चिमा देशमा गर्भवती महिलालाई ज्वरो आएमा वा दुखाइ भएमा सिटामोल खान चिकित्सकले सल्लाह दिन्छन्।
नेपालमा पनि सामान्य मान्छेलाई जस्तै गर्भवती महिलालाई समेत ज्वरो आएको बेला सिटामोल खान चिकित्सकले सिफारिस गर्छन्।
तर ट्रम्पले भने कुनै वैज्ञानिक आधार बिनै गर्भवती महिलाले सिटामोल प्रयोग गरेमा बच्चालाई अटिजम हुन्छ भनेर दाबी गरेका छन्।
गर्भवती महिलाले ज्वरो वा दुखाइ कम गर्न औषधि प्रयोग नगरे बच्चाको विकासमा असर पर्ने अनि मुटु, मस्तिष्क र मेरूदण्ड राम्ररी नबनेर बच्चालाई विभिन्न समस्या हुने खतरा बढ्छ भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
उपचार नगरिएको दुखाइ र ज्वरोका कारण समय नपुग्दै बच्चा जन्मने, कम तौलको जन्मने र गर्भपात हुन सक्ने खतरा पनि बढ्ने मानिन्छ।
विकास भइरहेको भ्रुणमा सिटामोलले असर गर्छ कि गर्दैन भन्नेबारे धेरै अध्ययन भएका छैनन् भनेर द गार्डियनले जनाएको छ।
स्विडेनमा लगभग २५ लाख बालबालिकामा गरिएको सन् २०२४ को एक अध्ययनले भ्रुण अवस्थामा सिटामोलको सम्पर्क र अटिजम लगायत अरू न्यूरोडेभलपमेन्टल समस्याको कुनै सम्बन्ध नभएको देखाएको थियो।
त्यस्तै, पहिल्यै गरिएका ४६ वटा अध्ययनहरूको २०२५ मा भएको समीक्षाले गर्भावस्थामा सिटमोलसँग सम्पर्क र ती समस्याको बढ्दो जोखिमका बीच सम्बन्ध हुन सक्ने सुझाव दिएको थियो। तर माउन्ट सिनाईको आइकान स्कूल अफ मेडिसिन, हार्वर्ड विश्वविद्यालय लगायत संस्थाका अनुसन्धानकर्ताहरूले सो अध्ययनले औषधिको कारणले ती परिणामहरू आएको प्रमाणित नगर्ने बताएका छन्।
उनीहरूले गर्भवती महिलाहरूलाई आवश्यकता अनुसार, सम्भव भएसम्म कम मात्रामा र छोटो अवधिको लागि सिटामोलको प्रयोग जारी राख्न सल्लाह दिएका छन्।
त्यस्तै युरोप र जापानमा २०२५ मा गरिएका ठूला अध्ययनहरूले पनि गर्भावस्थामा सिटामोल प्रयोग र न्यूरोडेभलपमेन्टल समस्याहरूबीच देखिएको सानो सम्बन्ध वास्तवमा वातावरणीय अवस्था, आमाबाबुको स्वास्थ्य र आनुवंशिकी, आमाले लिइरहेका अन्य औषधिहरू, र रोगका कारणले हुन सक्ने संकेत गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)