भदौ २४ गते प्रदर्शनको क्रममा कैदीबन्दीहरू १४ हजार भन्दा बढी भाग्दा १५ हजार भन्दा बढी कैदीबन्दी भने कारागारमै रहेका थिए।
कारागार व्यवस्था विभागका अनुसार १५ हजार ५२५ जना कैदीबन्दीहरू भागेनन्। त्यसमध्ये पनि १५ हजार १६२ जना कारागारका र सुधार गृहका ३६३ जना छन्।
भदौ २३ गते जेनजीको प्रदर्शनको क्रममा भएको आन्दोलन भड्किएपछि भोलिपल्ट कारागारहरूमा समेत तोडफोड र आगजनी भएको थियो।
यसो त कारागारमा आगजनीसमेत हुँदा डिल्लीबजार कारागारमा रहेका पूर्वसांसद दीपक मनाङे भन्ने राजीब गुरूङले भने भाग्न अस्वीकार गरेका थिए।
कारागार व्यवस्था विभागका अनुसार देशभरिका २८ वटा कारागार र ९ वटा बाल गृहबाट कैदीबन्दी भागेका छन्। देशभरिका सुधार गृहसहित ३० हजार ६३९ कैदीबन्दी छन्। भदौ २४ गतेको घटनापछि कारागारबाट १३ हजार ५९२ र सुधार गृहबाट ९६४ गरी जम्मा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए।
देशभरिका कारागार कार्यालयबाट भागेका आधा कैदीबन्दीहरू फर्किएका छन्।
मंगलबारसम्मको तथ्यांकअनुसार ६ हजार ६४३ जना कैदीबन्दी फर्किएका छन्। सुधार गृहका ३४१ जना गरी कुल ६ हजार ९८४ जना फर्किसकेका छन्।
सेनाले कैदीबन्दीलाई भाग्न नदिन र स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरी परिचालन भएको थियो। कैदीबन्दीलाई भाग्न नदिन गोली चलाउँदा १० जनाको ज्यान समेत गुमेको थियो।
रामेछापमा तीन जना, धादिङमा २ जना र नौबस्ता बाल सुधारमा पाँच जनाको मृत्यु भएको थियो।
कैदीबन्दीहरू त्यसदिन भागे पनि कतिपय आफै फर्किएका छन्। कतिपय भने सम्पर्कविहीन भएका छन्।
कारागार विभाग, प्रहरी र सशस्त्र प्रहरीले कैदीबन्दीहरूलाई फर्किन अनुरोध गरिरहेका छन्। त्यसअनुसार कतिपय कैदीबन्दीहरू स्वत:स्फूर्त रूपमा फर्किएका छन्।
यद्यपि कतिपय कैदीबन्दी अपराधमा संलग्न भएर पनि फर्किएको घटना बाहिर आएको छ। जसले कैदीबन्दीहरू फरार हुँदाको अवस्थालाई समेत बुझाएको छ।
भदौ २४ गते नख्खुबाट भागेका सन्तबहादुर तामाङले पनौतीस्थित घर पुगेर आफ्नी श्रीमतीको हत्या गरेको खुलेको हो।
उनले असोज २ गते श्रीमती मनिया घ्यावा तामाङको हत्या गरी नजिकैको बारीमा खाल्डोमा पुरेका थिए। त्यसको भोलिपल्टै उनी नख्खु कारागार फर्किएका थिए।
यसलाई मध्यनजरमा राखेर कारागार व्यवस्थापन विभागले कैदीबन्दी पक्राउ गर्न प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतलाई अनुरोध गरेको छ।
‘विभाग तथा मातहत कार्यालयबाट सूचना निकालिएको छ। कैदीबन्दीहरू आफै फर्किऊन् भनेर भनेका छौं। सञ्चार माध्यमबाट पनि हामीले कैदीबन्दीहरू फर्किन अनुरोध गरिरहेका छौं,’ विभागका निर्देशक चोमेन्द्र न्यौपानेले भने, ‘यसबाहेक प्रहरी र सशस्त्र प्रहरीसँग पनि समन्वय गरिरहेका छौं।’
कारागार व्यवस्था विभागले प्रहरीलाई फरार कैदीबन्दीको सूची तयार गरी बुझाएको छ। त्यही सूची अनुसार खोजी गर्ने सुरू गरिरहेको पनि उनले बताए।
कैदीबन्दीहरू नेपालबाट भाग्नसक्ने सम्भावना हुनसक्ने भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा बढाएको छ।
त्यस्तै, अध्यागमन विभागलाई पनि कारागार व्यवस्था विभागले पत्राचार गरेको छ। यसरी विदेश नै भाग्न खोजे पनि नियन्त्रणमा लिनेछ।
‘फरार भएका व्यक्तिहरूको नाम, ठेगाना, नम्बर, नागरिकता र पासपोर्ट मागेका छौं। यसले पक्राउ गर्न सहज हुन्छ। यस्ता कैदीबन्दीहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं,’ उनले भने।
नफर्किने कैदीबन्दीहरूलाई कारबाही गर्ने जिम्मा कारागार प्रशासक (जेलर) लाई छ। जेलरले घटनाको छानबिन गरी प्रतिवेदन तयार पार्ने र मुद्दा चलाउन अनुसन्धान तथा सिफारिस गर्न सकिने उनले बताए।
‘सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाउँदा कैदीबन्दीलाई १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसैले कैदीबन्दीहरूलाई फर्काउन सबैको समन्वय आवश्यक छ।’
कैदीबन्दीहरू पक्राउ गर्न प्रहरीले पनि रणनीति बनाएको छ।
केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार प्रहरीले कैदीबन्दी पक्राउ गरिरहेको छ। यसबाहेक अन्य कैदीबन्दीको पनि खोजी गरिरहेको छ।
कतिपय कैदीबन्दीले भने कारागार कार्यालयलाई सम्पर्क गरी केही समयमा फर्किने समेत जानकारी दिएको उनले बताए।
‘कतिपय कैदीबन्दीहरू सम्पर्क गरेर पनि बसेका छन्। यहाँ छौं भनेर जानकारी दिएको घटनाहरू छन्। काठमाडौंबाट भागेर रामेछापमा बसेका घटनाहरू पनि छन्,’ उनले भने।
सम्पर्कमै नआएका र कुख्यात अपराधीको भने प्रहरीले सूची तयार गरेको छ।
‘सूची बनाएर सम्बन्धित जिल्ला, प्रदेश सबै तहका प्रहरीहरूलाई पत्राचार गरेका छौं। नियन्त्रणमा लिनका लागि हामीले योजना र रणनीति पनि बनाएका छौं। यसबारे सबै सार्वजनिक गर्न मिल्दैन,’ उनले भने।
प्रहरीले पनि सबै कैदीबन्दीहरूलाई फर्कन अनुरोध गरेको छ।
त्यस्तै स्थानीयहरूलाई पनि सतर्क हुन र कैदीबन्दी फर्काउनमा सहयोग गर्न उनले अनुरोध गरे।
‘पीडितहरूमाथि हमला हुनसक्ने डर भएको छ। त्यसकारण अहिले पीडित र आफन्तहरू सतर्क हुन जरूरी छ। गाउँमा प्रवेश गरेको थाहा पाए तुरून्तै प्रहरीलाई सम्पर्क गर्ने, र रातको समयमा गाउँले-स्थानीयसँगै मिलेर गस्ती गर्ने रणनीति पनि अपनाइरहेका छौं, ’ उनले भने।