बर्दियामा गर्मी छल्न भनेर नुहाउन गएका दुई किशोरी बगेर बेपत्ता भएका छन्।
गुलरिया नगरपालिका–२ संगमबस्तीका १२ वर्षीया निशानी थापा र १२ वर्षकै दुर्गा शाही सोमबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
उनीहरूको खोजी कार्य जारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खोजी कार्यमा जुटेका छन्। मंगलबार पनि बिहानैदेखि रबरबोट सहित खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी देबेन्द्र मल्लले बताए।
मल्लका अनुसार ६ जना साथीहरू मिलेर गर्मी छल्न भन्दै बबई नदीमा दिउँसो नुहाउन पुगेका थिए।
सोही क्रममा सुरूमा निशानी थापा डुबेकी थिइन्।
साथी डुब्दै गरेको देखेपछि शाही जोगाउन भनेर पसेकी थिइन्। तर, उनीहरू दुबै जना नदीको गहिरो भागमा पुगेको हुँदा दुबै जना बेपत्ता बनेको अन्य साथीहरूले बयान गरेको डिएसपी मल्लले बताए।