धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सोमबार राति खसेको पहिरो पन्छाउने तत्काल कुनै सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ।
त्यहाँ निरन्तर पहिरो झरिरहेको धादिङ प्रहरीले जानकारी दिएको छ। सोमबार मध्यराति सानो पहिरो खसेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्ड पूर्णरूपमा अवरूद्ध गरेको थियो। मंगलबार बिहान पुनः ठूलो पहिरो झरेको धादिङ प्रहरीले जानकारी दिएको छ।
‘बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरोध रहेको छ। पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई काम गर्न नसकिने देखिएको हुनाले सम्पूर्ण यात्रु र आम समुदायलाई आफूलाई पायक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिनुहुन र वैकल्पिक बाटो प्रयोग गरिदिनुहुन पनि अनुरोध गर्दछौं,’ धादिङ प्रहरीले जानकारी दिएको छ।
सडक अवरूद्ध हुँदा यात्रुहरू पृथ्वी राजमार्गको लामो सवारी जाममा फसेका छन्।
शुक्रबार साँझ मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल छेउमा पनि सुख्खा पहिरो झरेर ४० घन्टो यातायात अवरूद्ध बनेको थियो। उक्त स्थानमा मंगलबार पनि सुख्खा पहिरो झरिरहेको छ।
लामो सवारी जाम र चालकहरूले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकरण लैजान समेत सकस भइरहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। तथापि त्यहाँ ठूलो अवरोध नरहेको सडक डिभिजनले बताएको छ।