मानव शरीरमा हुने प्यांक्रियाज नामको ग्रन्थीबाट इन्सुलिन हर्मोन निस्किन्छ। यो हर्मोन बालदेखि वृद्धसम्म सबैमा निरन्तर उत्पादन हुन्छ। खाली पेटमा अलि कम र खान खाएपछि अलि बढी उत्पादन हुन्छ।
इन्सुलिनले रगतमा सुगर (चिनी) सन्तुलन गर्ने काम गर्छ। आवश्यक मात्रामा इन्सुलिन उत्पादन नभएर सुगर सन्तुलन बिग्रिएपछि मधुमेह/डाइबेटिज/सुगर रोग उत्पन्न हुन्छ।
प्यांक्रियाजबाट आवश्यक मात्रामा इन्सुलिन उत्पादन भएन भने मधुमेह नियन्त्रण गर्न बाहिरबाट इन्सुलिन दिनुपर्ने हुन्छ। यसरी इन्सुलिन दिने कुरा भयो भने मधुमेही व्यक्तिमा डर उत्पन्न हुन्छ। इन्सुलिन लगाउनुपर्ने भयो भन्ने थाहा पाउँदा सुगरले सिध्याइसकेछ, अन्तिम उपाय मात्र बाँकी रहेछ भन्ने पर्न जान्छ।
थाहा पाउनुपर्ने कुरा के हो भने सबैलाई अन्तिम अवस्थामा मात्र इन्सुलिन दिइने होइन। बाहिरबाट इन्सुलिन दिँदा कसैकसैलाई बिस्तारै मधुमेह रोग हराएर जान सक्छ। केही शोधपत्रमा यस्तो निष्कर्ष लेखिएको छ।
कस्तो अवस्थामा इन्सुलिन दिने त भन्ने जिज्ञासा धेरैमा आउनु स्वाभाविक हो। रगतमा सुगरको मात्रा एकदमै धेरै भएको अवस्थामा इन्सुलिन दिनुपर्ने हुन्छ। खाली पेटमा दुई सयभन्दा धेरै र खाएपछि तीन सय धेरै हुने र तीन महिनाको 'एचबी ए वान सी' १० भन्दा माथि भयो भने सुगर धेरै भएको मानिन्छ।
यस्तो रिपोर्टले इन्सुलिनको मात्रा कम छ भन्ने देखाउँछ। यस अवस्थामा छोटो समयका लागि बाहिरबाट इन्सुलिन दिँदा प्यांक्रियाजलाई आराम मिल्छ, इन्सुलिन उत्पादन गर्न दबाब पर्दैन।
बिरामीलाई एक दुई महिना इन्सुलिन दिइयो भने उसको प्यांक्रियाजले इन्सुलिन बनाउन सुरू गर्छ। केही मधुमेहीमा एक–दुई वर्ष सुगर लाग्छ र हराएर पनि जान्छ।
सुगरको मात्रा विचार गरेर चिकित्सकले इन्सुलिन लगाउनुपर्छ भन्यो भने मधुमेही डराउनुपर्दैन। एक–दुई महिनापछि इन्सुलिन दिन बन्द गरिन्छ। बाँचुन्जेलसम्म इन्सुलिन लगाउनुपर्छ भन्ने होइन।
सुगरको मात्रा माथि भनिएभन्दा केही कम छ तर शरीर एकदमै पातलो छ भने पनि इन्सुलिन चलाउनुपर्छ। कसैलाई राती चार–पाँच पटक पिसाब लाग्छ र धेरै तिर्खा लाग्छ भने पनि इन्सुलिन दिनुपर्छ।
इन्सुलिन दिएपछि तौल बढ्दै जान्छ, तिर्खा कम हुन्छ र धेरै पटक पिसाब गर्नु पर्ने हुँदैन। यस्तो अवस्था भएपछि इन्सुलिन रोकेर ट्याब्लेट (चक्की) खुवाउन सकिन्छ।
कहिलेकाहीँ सुगरका कारण मिर्गौलामा असर गरेको छ भने इन्सुलिन प्रयोग गरेर असर कम गर्न सकिन्छ।
सुगर देखिएको १०–१५ वर्ष भइसक्यो अनि चिकित्सकले भने अनुसार ट्याब्लेट खाँदा पनि कम भएको छैन भने इन्सुलिन दिइन्छ। थाहा पाउनुपर्ने अर्को कुरा के छ भने शरीरमा थोरथोरै इन्सुलिन उत्पादन हुँदासम्म मात्र ट्याब्लेटले काम गर्छ, इन्सुलिन उत्पादन नहुँदा काम गर्दैन।
तीस वर्षको उमेरभन्दा पहिले नै सुगर देखिएको छ भने सुरूमै इन्सुलिन चलाउने गरिन्छ। यस्तै उमेरमा औषधि खान सुरू गरेको छ र प्यांक्रियाजले इन्सुलिन उत्पादन गर्न छाडेको छ भने जीवनभर बाहिरबाट इन्सुलिन दिनुपर्ने हुन्छ। यस्तो अवस्था निकै कम हुन्छ।
महिलामा गर्भवती भएको २४ देखि २८ हप्तामा सुगर देखिन सक्छ। त्यस्तो बेला इन्सुलिन दिँदा गर्भस्थ शिशुलाई राम्रो हुन्छ। बच्चा जन्मेपछि इन्सुलिन रोक्न सकिन्छ।
बाहिरबाट इन्सुलिन दिँदा कसैकसैलाई सामान्य एलर्जी हुनेबाहेक धेरै नकारात्मक असर हुँदैन। इन्सुलिन दिएपछि खाना कम खाइयो र बान्ता भयो भने सुगर धेरै घट्न सक्छ। त्यस्तो बेला भने अलि ख्याल गर्नुपर्छ।
चिकित्सकले जुन समयमा इन्सुलिन लगाउन भनेको छ, त्यसै अनुसार लगाउनुपर्छ। कुनै इन्सुलिन खाना खानुभन्दा १५ मिनेट पहिले त कुनै पाँच मिनेट पहिले लगाउनुपर्ने हुन्छ।
कुनै इन्सुलिनका लागि बिहान ८ बजे र राति ८ बजे तोकिएको हुन्छ। कुनै चाहिँ बेलुका ८ देखि ९ बजेको बीचमा लगाउन भनिएको हुन्छ। यसमा फरक पर्नु हुँदैन।
चिकित्सकले तोकेको समय अलिक धेरै फरक पर्यो भने इन्सुलिनले काम नगर्न सक्छ। कहिलेकाहीँ इन्सुलिन लगाएपछि सुगर कम हुने भएकाले चिकित्सकले भनेको समय पालन गर्नु अनिवार्य हुन्छ।
एक पटक सुगर देखिनसाथ सधैं औषधि खाइरहनुपर्छ भन्ने होइन। कसैको वंशानुगत समस्या छ र कुनै नकारात्मक असर नभई डाइबेटिज देखिएको छ भने जीवनभर औषधि खानुपर्ने हुन सक्छ।
धेरै मोटो व्यक्तिले आफ्नो तौल घटाएर पनि मधुमेह नियन्त्रण गर्न र औषधि रोक्न सक्छ। सामान्यतया कसैले ६ महिनामा १० प्रतिशत तौल घटाउन सक्यो भने मधुमेह पनि निकै कम हुन्छ।
मानौं, कसैको तौल ९० केजी छ। उसले ९ केजी घटायो भने मधुमेह पनि केही मात्रामा कम हुन्छ। तौल घटाउने कुरा सुन्दा सामान्य जस्तो देखिन्छ तर साँच्चै घटाउन निकै गाह्रो हुन्छ।
मेरा एक जना बिरामीले तौल घटाएर मधुमेह नियन्त्रण गरेका थिए। जंक फुड र गुलियो खाद्यवस्तु धेरै खाएर मधुमेह भएको हो भने यस्तो खानामा नियन्त्रण गर्दा सुगर पनि नियन्त्रण हुन सक्छ।
(मधुमेह तथा मेटाबोलिक डिसअर्डर सम्बन्धी विज्ञ डा. रोशन भण्डारी पुरानो मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुरमा कार्यरत छन्।)