हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ।
शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारी टेलिभिजन नेटवर्क अल जजिराका अनुसार हमासले जिवित र मृत्यु भइसकेकाहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको हो।
त्यसमा नेपालका विपिन जोशी पनि देखिएका छन्।
तस्बिरहरू सार्वजनिक गरिए पनि उनीहरुको अवस्था के छ भनेर नखुलाइएको अलजजिराले जनाएको छ।
पछिल्लो समय इसराइलले गजामा आकाश र जमिनबाट आक्रमण तीव्र पारेको छ। उसले गजाका ठुल्ठूला भवनहरू बम खसालेर ध्वस्त बनाएको छ।
गजामा इसराइली सैन्य कारबाही तीव्र भएपछि हमासले मृतक बन्धकहरूको शव र जिवितहरूको जीवनको ज्ञारेन्टी दिन नसक्ने भनेको थियो।
त्यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजालाई पूर्ण रूपमा हमासबिहीन नबनाइन्जेल आक्रमण गर्ने घोषणा गरिसकेका छन्।
उनीहरुले बाँकी रहेका बन्धकहरूलाई एकैपटकमा रिहा गर्न पनि चेतावनी दिएका थिए।
इसराइलले बाँकी बन्धकमध्ये कम्तिमा २० जना जिवितै रहेको भनेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले भने २० भन्दा कम संख्यामा बन्धकहरु जिवित हुनसक्ने भनेका थिए।
हमासले सार्वजनिक गरेको पोस्टरमा जिवित र मृत्यु भएकोबारे खुलाइएको छैन।
सबै तस्बिरको नाममा रोन अराद भनेर क्रमैसँग उल्लेख गरिएको छ।
अराद इसाइली वायुसेनाका क्याप्टेन थिए।
उनी सन् १९८६ मा लेबननमा बेपत्ता भएका थिए। उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो भनेर अल जजिराले लेखेको छ।
अरादको मृत्यु भएको विश्वास मात्रै गरिएको छ। त्यसको न प्रमाण भेटिएको छ न इसराइलले पुष्टि नै गरेको छ।
यसरी अरादको नाम दिएर पोस्टर सार्वजनिक गर्नूलाई इसराइलले आक्रमण नरोके बाँकी बन्धकहरूको अवस्था पनि त्यस्तै हुने भनेर हमासले सांकेतिक चेतावनी दिएको हुनसक्ने अल जजिराले लेखेको छ।
इसराइली समाचार संस्था टाइम्स अफ इसराइलले भने गजामा आक्रमण तीव्र पारेपछि हमासले बन्धकलाई ढाल बनाएर धम्की दिन खोजेको बताएको छ।
हमासले बन्धकहरुको तस्बिर समेटिएको पोस्टर सार्वजनिक गरेपछि इसराइलका मुख्य मुख्य सहरहरूमा दसौं हजार मानिसहरू सडकमा निस्किएका छन्।
शनिबार तेल अविभस्थित 'होस्टेज स्क्वायर' र जेरूसलेमस्थित प्रधानमन्त्री नेतन्याहूको निवासनजिकैको पेरिस स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरेका थिए।
अन्य सहरहरूमा पनि सानो तथा ठूलो भिड एकत्रित भई प्रदर्शन गरेको टाइम्स अफ इसराइलले जनाएको छ।
उनीहरूले गजामा आक्रमण बन्द गरेर हमाससँग संवादमार्फत बन्धकहरूलाई फिर्ता गर्न माग गरेका छन्।
आक्रमण तीव्र बनाउँदा जिवित रहेका बाँकी बन्धकहरूको जीवन खतरामा पर्ने भन्दै उनीहरूले तत्काल सैन्य कारबाही रोक्न माग गरेका छन्।