जोर्नीमा सबैभन्दा धेरै देखिने समस्या चोटपटक, संक्रमण, बाथ रोग लगयातले हो। त्यसबाहेक खिइने रोगहरू हुन्छन् अनि उमेर बढ्दै गएपछि शरीरका विभिन्न अंगहरू खिइने समस्या देखिन्छ। त्यस्तै ट्युमर हुन्छ, त्यसले पनि जोर्नीलाई असर गर्छ। हरेक जोर्नीमा आ-आफ्ना समस्या हुन्छन्। तर यो समय अनुसार, उमेर अनुसार, काम गराइ अनुसार फरक हुन्छ।
सबैभन्दा धेरै प्रयोग हुने घुँडाको जोर्नी हो। त्यसैले घुँडाको जोर्नीमा धेरै चोटपटक देखिन्छ। खासगरी एसियन मुलुकहरूमा यस्ता समस्या देखिन्छन्। तर घुँडामा जति देखिन्छ त्यो अरू अंगमा कमै देखिन्छ।
जोर्नीमा देखिने समस्याको उपचार पनि रोग अनुसार फरक/फरक हुन्छ। जस्तो, बच्चामा कसैलाई समस्या देखियो भने त्यही अनुसारको उपचार गर्नुपर्छ। आमाको गर्भमा रहँदैमा राम्रो विकास नभएर कोखाको जोर्नी फुस्किएको हुन्छ। त्यस्तो अवस्थामा अपरेसन गर्ने विधिहरू अलग अलग हुन्छन्। त्यसबाहेक दुर्गम गाउँघरमा कुपोषणको कारणले संक्रमण देखिएको हुन्छ। दुर्गम ठाउँबाट आउने बिरामीहरूमा हिपको, मेरूदण्डको टिबी लगायतको समस्या देखिन्छन्।
केटाकेटी खेल्ने उफ्रिने अनि काम गर्ने उमेरमा जोर्नीमा चोटपटक लाग्छ। त्यस्तै यातायात दुर्घटना र खेलकुदको कारणले पनि जोर्नीमा चोटपटक लाग्न सक्छ।
अन्यत्र नसर्ने खालका ट्युमरहरू घुँडाको वरिपरि देखिन सक्छ। जसको उपचार गर्न सजिलो हुन्छ।
बढ्ने उमेरका व्यक्तिहरूलाई घुँडाको तल्लो भागमा क्यान्सर जस्तै रोगहरू समेत देखिन सक्छ। तर यो निकै कम बच्चाहरूमा देखिने रोग हो।
जोर्नीको समस्या पनि उमेर लिङ्ग अनुसार फरक पर्न सक्छ। आमाको पेटदेखि गाह्रो परेका बच्चाहरूमा एक खालको समस्या देखिन्छ भने खेलकुदमा व्यस्त हुने उमेर समूहका बच्चाहरूमा घुँडाहरू सुन्निने हुन्छ। पोषणको कारणले रोग प्रतिरोधी क्षमता कम भएर संक्रमण हुने डर पनि देखिन्छ।
त्यो बाहेक १० देखि २० वर्षको उमेरमा अलिकति घुँडा दुख्यो अथवा बिना कारण दुख्यो भन्यो भने ट्युमरको शंका गर्नुपर्ने ठाउ देखिन्छ। संक्रमण भएको हो कि भनेर ख्याल समेत गर्नुपर्छ। त्यस्तै काम गर्ने उमेर आइसकेपछि कामको लोडले जोर्नीमा चोटपटक लाग्ने, अन्य समस्या देखिने हुन्छ। जस्तो, किसानले काम गर्दा जोर्नीमा चोट लाग्न सक्छ भने बाइकमा हिँड्नेहरू भारी उठाउनेहरूलाई पनि हुन सक्छ।
संक्रमणका कारणले जोर्नी सम्बन्धी कुनै पनि रोगको सुरूआतमै थाहा पाइयो भने औषधिले निको हुन सक्छ। तर चोटपटकको कारणले हड्डी सर्न सक्ने भएकाले अपरेसन गर्नुपर्ने हुन सक्छ। बच्चाहरूको हड्डी भाँचिएको छ भने प्लाष्टर गरेर निको पार्न सकिन्छ। चोटपटकले गर्दा हड्डी धेरै टुक्रा समेत भयो भने सर्जरी गर्नुपर्ने हुन सक्छ।
जोर्नीको समस्या औषधिले निको नभएर अपरेसन गर्नुपर्यो भने हामीकहाँ सबै खालका प्रविधि आइसकेका छन्। घुँडा र हिपको जोर्नी प्रत्यारोपण समेत सुरू भइसकेको छ।
(वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.अर्जुन श्रेष्ठ नारायणी सामुदायिक अस्पतालमा कार्यरत छन्)