मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरुबीचको विवादले रोकिएको धरान उपमहानगरको बजेट शनिबार आएको छ।
धरानको १७ औं नगरसभामा पेश भएकै दिन पारित गरेर धरान नगरसभाले बजेट कार्यान्वयनको बाटोसमेत खोलिदिएको छ।
कानुन अनुसार असार १० भित्र प्रस्तुत गरिसक्नुपर्ने र असारभित्रै पारित गरेर साउन १ देखि कार्यान्वयनमा लैजानु पर्ने बजेट धरानमा झण्डै दुई महिना ढिला गरी आएको हो।
धरान उपमहानगर नयाँ आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ दुई महिना बित्दासम्म बजेट होलिडेमै थियो। शनिबार नीति कार्यक्रम तथा बजेट पारित भएपछि बल्ल धरानमा खर्च गर्ने बाटो खुला भएको छ।
धरानको नगरसभाले चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट पारित गरेको हो।
कुल बजेटमध्ये चालु खर्चबाहेक पूँजीगततर्फको बजेटमा १० प्रतिशत घटाएर मात्र कार्यान्वयन गर्ने सैद्धान्तिक सहमतिको निर्णय यसअघि नै कार्यपालिकामा भइसकेको थियो। त्यसैले सीमा निर्धारण समितिले तयार पारेभन्दा सानो आकारमा बजेट आएको हो।
भदौ २६ मै नगरसभाको मिति तोकिए पनि जेनजी आन्दोलनको कारण हुनसकेको थिएन। त्यही अवधिमा मेयर साम्पाङ मन्त्री बन्न काठमाडौं दौडाहामा रहेका कारण पनि बजेट आउन ढिलाइ भएको हो।
नगरसभामा उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक अइन्द्रबिक्रम बेघाले बजेट प्रस्तुत गर्दै पुर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए।
उनले क्षेत्रगत बजेट विनियोजन प्रस्तुत गर्दै वडागत बजेटतर्फ २० वटै वडाहरुको लागि कुल २१ करोड, शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ कुल ६६ करोड ९४ लाख विनियोजन गरेका छन्।
शिक्षा युवा तथा खेलकुदतर्फ कुल ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकासतर्फ १ करोड २९ लाख बजेट विनियोजन गरिएको छ।
वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ कुल २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख, सार्वज्निक जग्गा संरक्षणतर्फ आन्तरिक स्रोतबाट १५ लाख, राजश्व परिचालनतर्फ आन्तरिक स्रोतबाट ४३ लाख, नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख बजेट विनियोजन गरिएको छ।
बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ८० करोड ५३ लाख ६५ हजार स्रोत अनुमान गरिएको छ।
गत आर्थिक बर्ष २०८१/८२ मा आन्तरिक स्रोतबाट ४९ करोड ७० लाख आयको अनुमान गरिएको थियो। तर, उक्त आर्थिक बर्षको असार मसान्तसम्म आन्तरिक स्रोततर्फ २९ करोड ९५ लाख २५ हजार ७ सय ९अनुमानको ६९.८१० प्रतिशत मात्र आय भएको छ। यो तथ्यांक अनुसार आर्थिक बर्ष २०८२र८३ को बजेटमा करिब ५० करोड घाटा बजेट अनुमान गरिएको छ।
यस्तै, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजश्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्ड नेपालबाट २ करोड र गत बर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरेका छन्।