नेपाल पत्रकार महासंघले नेकपा (एमाले) नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएको घटनाको भर्त्सना गरेको छ।
समाचारको विषयमा नेप्लिज टाइम्स डटकमका सम्पादक टेकमान शाक्यलाई एमाले नेता बस्नेत स्वयम् र उनका सहयोगीले धम्की दिएको भन्दै महासंघले शुक्रबार विज्ञप्ती जारी गरेर घटनाको भर्त्सना गरेको हो।
'पत्रकार टेकमान शाक्यलाई नेकपा (एमाले)का नेता महेश बस्नेत स्वयम् र उहाँका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,' महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
महासंघले प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्ने व्यवस्था रहेकोबारे स्मरण पनि गराएको छ।
'पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ,' विज्ञप्तीमा भनिएको छ।
पत्रकार शाक्यले महेश बस्नेत र उनका शुभचिन्तक भन्दै फोन गरेर धम्की दिएको अडिओ पनि सार्वजनिक गरेका थिए।
