गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए। ७६ वर्षीया आमा गुनमायाले सोधिन्, ‘कता हिँड्न लागेको कान्छा?’
‘बिर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ,’ जबाफमा गोपालले भनेका थिए।
रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँडेका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उनी सोही दिन बिर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए।
बिर्तामोड गएपछि उनी सबैभन्दा पहिला बिएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए। दर्जनौं युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि उनी जेनजी प्रदर्शनमा गएका थिए।
गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन्।
दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उनको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो।
उनकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झैँ योग सिकाउन शिविरमा गएका थिए।
त्यही बिहान उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल गएका थिए। आमासँगै दही चिउरा खाएर उनी बिर्तामोड लागेका थिए।
‘आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो,’ आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाइन्, ‘अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो।’
अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पुर्याइएको थियो। थियो । गोलीले छाती छेडेका कारण उनको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए।
गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित थिए।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताए।
‘कोही कसैलाई रगतको अभाव भएको थाहा पाउनेबित्तिकै कि आफै रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भने, ‘एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ।’
उनी अविवाहित थिए। उनकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताइन्। जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उनी विक्षिप्त थिए।
‘अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो।’
गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी थिए । उनले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी लगाएका थिए।
खेतीपाती र पशुपालनमा उनको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उनी आफै गर्थे। बारीमा सुपारी र मरिचको बगान लगाएका थिए। उनको निधनले गाउँ नै शोकमा छ।